काठमाडौं, जेठ १६ । प्रधानन्यायाधीशको संसदीय सुनुवाईदेखि भारतले नेपालको भूमि समेटेर राखेका नक्सा अनि राष्ट्रपति प्रधानमन्त्रीको पुत्लादहनसम्मका घटनाहरु आज भएका छन । आज दिनभरका मुख्य समाचारहरु यसप्रकार छन ।
१. काठमाडौंमा आजदेखि रोजगार मेला शुरु
नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा काठमाडौंमा आजदेखि रोजगार मेला शुरु भएको छ । मंगलवारदेखि टेकुस्थित महासंघको कार्यालयमा जेठ १६ र १७ गते मेला हुने भएको हो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र अन्तर्राष्ट्रिय श्रम संगठनको सहयोगमा रोजगार मेला शुरु भएको हो ।
मेलाको उद्घाटन कार्यक्रममा बोल्दै महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले रोजगार मेलाले जनशक्ति चाहिने कम्पनी र रोजगारी आवश्यक हुनेहरु बीचमा पुलको काम गर्ने बताउनु भयो । उहाँले महासंघले वीरगञ्ज र बुटवलमा रोजगार मेला सम्पन्न गरेको र राम्रो प्रतिक्रिया पाएको बताउनु भयो । उहाँले यस्ता मेलाले नेपालमा भएका जनशक्ति उद्योग व्यवसायमा उपलब्ध गराउनु सहयोग पुर्याउने बताउनु भयो ।
उहाँले पछिल्लो समय वैदेशिक रोजगारीमा जाने युवाहरुलाई रोजगार मेलाले रोक्नसक्ने बताउनु भयो । अध्यक्ष ढकालले आगामी आर्थिक वर्षको बजेटमा समेत निजी क्षेत्रको मनोवल उच्च राख्न हेरक क्षेत्रबाट सरकार सहयोग गर्ने उल्लेख गरेको बताउनु भयो। उहाँले सरकारले ल्याएको बजेटले निजी क्षेत्रको सहकार्य आवश्यकता आंैल्याएको बताउनु भयो । अध्यक्ष ढकालले बजेटले स्टार्टप र सीप विकासका विषयमा बजेटमा समेटेका विषय निजी क्षेत्रले उठाएको बताउनु भयो।
त्यस्तै,मेलामा आफूले खोजेको जस्तो रोजगार पाइने आशामा मेलामा आउनुभएकी प्रतिज्ञा घिमिरेले रोजगार मेलाले पछिल्लो समय बढ्दै गएको बरोजगारीको समस्या थोरै भएपनि कम हुने बताउनु भयो । उहाँले आफूलाई आवश्यक परेको जस्तो रोजगार पाउन सकिने आशाले मेलामा आएको बताउनु भयो।
उहाँले मुलुकभित्र नै रोजगारी नपाएर विदेश जाने युवाहरु बढेको भन्दै मेलामा आएर कुन कम्पनीमा कस्तो जनशक्ति आवश्यक रहेको भन्ने बुझ्न सकिने भएकाले मेलामा आएको बताउनु भयो। त्यस्तै, हिरामाया श्रेष्ठले अनलाइनहरुमा फेक रोजगारी प्रचार हुने भएकाले मेलामा प्रत्यक्ष रुपमा बुझ्न पाउने भएकाले मेलामा आएको बताउनु भयो । उहाँले किसानदेखि भान्सासम्म शब्जी ल्याण्डमा रोजगारी पाएको बताउनु भयो । उहाँले विदेश जानुभन्दा पनि नेपालमा नै रोजगारी खोजेर बस्नसके मुलुक राम्रो हुने बताउनु भयो ।
मेलामा काठमाडौं र ललितपुर महानगरपालिका, भक्तपुर नगरपालिका, महासंघका सदस्य भक्तपुर र ललितपुर उद्योग वाणिज्य संघको सहकार्य रहेको छ । कामको खोजीमा रहेका युवाहरुलाई प्रमुख कम्पनीहरुमार्फत कामको अवसर जुटाइदिन पहल गर्ने, नयां अवसरहरुको खोजि गर्न सघाउने, आवश्यक सीप पहिचानसहित युवा जनशक्तिलाई स्वदेशमै काम गर्ने वातावरण बनाउने उद्देश्यले रोजगार मेला शुरु भएको छ ।
रोजगार मेलामा १०० भन्दा बढी कम्पनीहरुको सहभागिता रहेका छन् । महासंघले मेलामा कामको खोजिमा रहेका ५ हजार भन्दी बढी युवाहरुलाई अवलोकन गराउने लक्ष्य राखिएको छ । मेलामा रोजगारी, सीप एवं जनशक्ति विकास लगायतका विषयमा विभिन्न परामर्श शेसनहरु समेत हुनेछ ।
२. अर्थमन्त्रीको पत्रकार सम्मेलन : सांसद विकास कोषलाई व्यक्तिगत रुपमा पैसा दिएको जस्तो विश्लेषण गर्न मिल्दैन
अर्थमन्त्री डा.प्रकाशशरण महतले सांसद विकास कोष ब्युँताएर सांसदहरुलाई व्यक्तिगत रुपमा पैसा दिएको जस्तो विश्लेषण गर्न नमिल्ने बताउनुभएको छ । मंगलवार अर्थ मन्त्रालयमा आयोजित आर्थिक वर्षको २०८०/०८१ को बजेटका सम्बन्धमा आयोजना गरेको पत्रकार मम्मेलनमा सञ्चारकर्मीहरुले सोधेको प्रश्नको जवाफ दिँदै अर्थमन्त्री महतले यस्तो बताउनुभएको हो ।
मन्त्री महतले सरकारले अहिले जसरी व्यक्तिगत रुपमा सांसदहरुलाई पैसा बाँड्नेको जस्तो प्रचार भइरहेको जस्तो नभएको बताउनु भयो। उहाँले सांसद विकास कोषको ५ करोड बजेट सांसदहरुले नभएर सम्बन्धित निकायले कार्यान्वयन गर्ने बताउनु भयो। उहाँले विगतको जस्तो उपभोक्ता समिति बनाएर आयोजना बनाउने नभई ठेक्का प्रक्रियामार्फत आयोजनाको काम हुने बताउनु भयो। उहाँले उक्त कोषमा सांसदहरुमो भुमिका पैसा खर्च गर्ने नभई आफ्नो निर्वाचन क्षेत्रको आयोजनाहरुको सिफारिस र आयोजना कार्यान्वयन भए/नभएको अनुगमनमा हुने बताउनु भयो।
उहाँले सरकारले जनताको चाहना र आवश्यकता अनुसारका १ करोड भन्दा माथिका आयोजनामा खर्च गर्नेगरी सांसद विकास कार्यक्रमलाई अगाडि बढाएको बताउनु भयो। उहाँले सरकारले बजेट विनियोजन गर्दा छुट्याएका बजेट निश्चित क्षेत्रमा खर्च हुने भन्दै १६५ क्षेत्रमा आवश्यकता अनुसार विकास निर्माणको काम गर्नको लागि सांसद विकास कार्यक्रम ल्याएको बताउनु भयो। अर्थमन्त्री महतले सरकारले १६५ निर्वाचन क्षेत्रमा नै समानुपातिक रुपमा योजना जाओस भन्ने लक्ष्यका साथ संसदीय विकास कार्यक्रम राखिएको स्पष्ट पार्नुभयो ।
उहाँले भन्नुभयो,‘देशभर १६५ निर्वाचन क्षेत्रहरु छन् । सरकारले बजेट छुट्याउँदा विदेशी सहयोगको निश्चित ठाउँमा खर्च हुन्छ । अरु खर्च पनि निश्चित क्षेत्रमा नै खर्च गर्नुपर्छ । कतिपय ठाउँहरु छुटिराखेका हुन्छन् । १६५ निर्वाचन क्षेत्रमा नै केही न केही योजना जाओस भन्ने लक्ष्यका साथ संसदीय विकास कार्यक्रम राखिएको हो । यो संसदीय विकास कोषमा संसदहरुको भुमिका सिफारिस मात्रै हुन्छ । जनताबाट निर्वाचित भएर आएका सांसदहरुले सिफारिस पनि गर्नुहुँदैन । सिफारिस गर्नु पनि अपराध जस्तो हो भनेर हेर्नु भएन । सांसदहरु जनताबाट निर्वाचित भएर आएका हुन् । हामीले ५ करोड बजेटमा एक करोड भन्दा कम्तिको आयोजना हुन हुँदैन । यस्ता आयोजनाहरु स्वत ठेक्का लाग्छ । ठेक्का प्रक्रियाबाट जान्छ । ठेक्का सम्बन्धित मन्त्रालयले लगाउँछ । पहिलाको जस्तो आफैँ उपभोक्ता समिति बनाएर बजेट बाँड्ने होइन । जसलाई सांसद विकास कोषको विषयमा शंका छ । के गर्न खोज्या भन्ने लागेको छ भने स्पष्ट पार्न चाहन्छु । सांसदहरुको भुमिका आयोजना सिफारिस मात्रै हो । आफ्नो निर्वाचन क्षेत्रको आवश्यकता बारेमा जनप्रतिनिधिलाई नै बढी थाहा छ । त्यसको काम भए÷नभएको अनुगमन गर्न सक्नुहुन्छ । यसलाई व्यक्तिगत रुपमा पैसा दिएको जस्तो विश्वलेषण नगर्न अनुरोध गर्दछु ।’
अर्थमन्त्री महतले विद्युतीय सवारीलाई सरकारले निरुत्साहित गर्न खोज्यो भन्नु गलत भएको बताउनु भयो । उहाँले सरकारले विद्युतीय सवारी साधनलाई प्रोत्साहन गर्ने पक्षमा रहेको भन्दै त्यही अनुसार सरकारले बजेट ल्याएको बताउनु भयो। उहाँले विद्युतीय सवारी साधनमा आयातकर्ताले ठूलो मार्जिन राखेर कारोबार गरेको कारण उपभोक्ताले महँगो मूल्य तिर्नुपरेको बताउनु भयो । अर्थमन्त्री महतले बजेटले विद्युतीय सवारीमा कर नबढाएको, तर केही लुपहोलहरुलाई मिलान मात्र गरेको बताउनु भयो। उहाँले सरकारले विद्युतीय सवारीमा दिएको कर छुटको लाभ उपभोक्ताले नपारेको बताउने भयो।
उहाँले सरकारले पेट्रोलियम पदार्थमा आधारित सवारी साधनमा ३ सयसम्मको करको दर रहेको बताउनु भयो। उहाँले अब कुनै पनि हालतमा विद्युतीय सवारी साधन बिस्थापित हुने र फेरि पेट्रोलियम पदार्थमा र्फकिन नदिने बताउनु भयो। उहाँले अब मुलुकमा विद्युतीय सवारी साधन प्रयोग बढ्ने र सरकारले प्रोत्साहन गर्दै जाने बताउनु भयो। उहाँले सरकारले नेपालमा नै एसेम्बोस गर्ने उद्योगहरुलाई प्रोत्साहन गर्ने नीति लिएको बताउनु भयो।
उहाँले भन्नुभयो,‘ विद्युतीय सवारीलाई सरकारले प्रोत्साहन गर्ने उद्देश्य छ । तपाईहरुले हामीलाई भनिरहनुभएको छ विद्युतीय सवारी साधनमा एकदमै कर बढाइयो। सरकारले निरुत्साहित गराइयो भन्ने कुरा झुटो हो । त्यसमा कुनै सत्यता छैन । यसलाई राष्ट्रियकरण गरिएको छ । सरकारले पेट्रोलियम पदार्थमा आधारित ट्रान्सर्पोटेशनमा ३ सयसम्मको दर छ । त्यसको तुलनामा नगन्य छ । अहिले त्यहाँ केही लुपहोल्सहरु थिए । त्यसलाई र्यासनलाइज मात्रै गरेको हो । विद्युतीय सवारी साधनलाई निरुत्साहित गर्न खोज्याकी भन्ने कुरामा सत्यता छैन । उत्पादन लागतलाई आधार मान्दा पनि विद्युतीय सवारी सस्तो छ । कुनै पनि हालतमा विद्युतीय सवारी साधन बिस्थापित हुने फेरि पेट्रोलियम पदार्थमा फर्किन लाग्यो भन्ने कुरा होईन । बढ्दै जाने हो र सरकारले प्रोत्साहन पनि गर्दै जाने हो । त्यसमा कुनै दुई मत छैन । नेपालमा नै एसेम्बल हुने जति पनि गाडीहरु छन् । त्यसलाई पनि प्रोत्साहन गर्ने भनेर एक स्याल्प नै फरक राखेका छौं । त्यो स्पेश छ । प्रोत्साहित हुने ठाउँ छ । ५० सिसिसम्म पुरानै कायम छ ।’
त्यस्तै अर्थमन्त्री महतले सरकारले राजस्वको लक्ष्य पूरा गर्ने बताउनु भयो। उहाँले चालु आर्थिक वर्षको राजश्व संकलन लक्ष्य अनुसार नपुग्ने देखिएपनि असार मसान्तसम्म लक्ष्य पूरा गर्नेगरी सरकारले काम गर्ने बताउनु भयो। उहाँले सरकारले राजश्वमा नीतिगत लुपहोल्सहरुलाई हटाएको बताउनु भयो। उहाँले राजश्व नीतिमा भएका लुपहोल्सहरु हटाउएकाले त्यसले उल्लेख्यय मात्रामा राजश्व बढ्न मद्दत पुग्ने बताउनु भयो। उहाँले सरकारले राजश्व नीतिमा नीतिगत लुपहोल्स प्रयोग गरेर कसैले फाइदा लिइरहेका भएपनि अब फाइदा लिन नसक्ने बताउनु भयो। उहाँले सरकारले कसैलाई व्यक्तिगत रुपमा नीतिगत रुपमा कानूनी छिद्र राखेर फाइदा पु¥याउने गरी काम नगरेको बताउनु भयो। उहाँले पुँजीगत खर्चको कार्यान्वयनका विषयमा सरकारले बुँदागत तयारी गरेको बताउनु भयो। उहाँले बजेट कार्यान्वयनमा समग्र राज्य संरचनाको प्रतिवद्धता आवश्यक रहेको बताउनु भयो। उहाँले निर्माण व्यवसायीहरुले सरकारले भुक्तानी नदेलाकी भन्ने शंका नदिन आग्रह गर्नुभयो। उहाँले विकास निर्माणको भुक्तानी दिने सरकारको दायित्व भएको बताउनु भयो।
उहाँले भन्नुभयो,‘ पुँजीगत खर्चको कार्यान्वयनका विषयमा सरकारले गर्ने मात्रै नभएर बुदागत रुपमा यसरी गर्छौं भनेका छौं । समग्र राज्य संरचनाको प्रतिवद्धता यसमा चाहिन्छ । त्यो प्रतिवद्धता मात्रै होइन हामी कार्यान्वयन गरेर देखाउनुपर्छ । हामीले बुदागत रुपमा जसरी गछौं भनेका छौं । त्यो अनुसार कार्यान्वयनमा लैजान्छौँ र पुँजीगत खर्चको प्रभावकारीतालाई बढाउँछौं । निर्माण व्यवसायीहरुले सरकारले भुक्तानी नदेलाकी भन्ने शंका लिनुपर्दैन । काम भएका विकास निर्माणको भुक्तानी दिने सरकारको दायित्व हो । ठेक्का लागेको तर काम नभएको आयोजनाहरुलाई मात्रै अगाडि नबढाउने भनिएको हो । काम सम्पन्न भएकाहरुलाई भुक्तानी नदिने भन्ने कुरा आउँदैन । चालु आर्थिक वर्षको राजश्व संकलन हेर्दा लक्ष्य अनुसार उठ्न सक्दैन । राजश्वमा नीतिगत लुपहोल्सहरुलाई हटाएका छौं । त्यसले उल्लेख्य मात्रामा राजश्व बढ्छ । अर्थतन्त्र चलायमान भएर त्यसले योगदान गर्ने राजश्व थप भएर सहयोग हुन्छ । त्यसले गर्दा राजश्व लक्ष्य हासिल गर्नसक्छौं । अहिले हेर्दा कहाँबाट गर्छ असारसम्म कहाँ उठ्छ र हामी उठाउने प्रयास गर्छौं । असारसम्म लक्ष्य अनुसार उठेन भने पनि आउँदो वर्ष उठाउँछौं । उठाउने गरी हामी काम गर्छौं । सरकारले राजश्व नीतिमा नीतिगत लुपहोल्स प्रयोग गरेर कसैले फाइदा लिइरहेको थियो । अहिले फाइदा लिन पाएन । त्यस अर्थमा उनीहरुको बिरोध आउनसक्छ । सरकारले कसैलाई व्यक्तिगत रुपमा नीतिगत रुपमा लुपहोल्स दिएर फाइदा पु¥याउने समग्र व्यापार बिग्रने नदिने किसिमले काम गरेका छौं ।’
अर्थमन्त्री महतले शेयर बजारप्रति सकारात्मक रहेको बताउनु भयो। उहाँले शेयर बजारप्रति सकारात्मक रहेको भन्दै बजार बिगार्ने कुनै नियत नभएको बताउनु भयो।
३. केपी ओली, अनेमसंघको कार्यक्रममा
प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भारतको संसद भवनमा नेपालको भूमि समावेश गरिएको नक्शा (मुरल) राख्नु उचित नभएको बताउनु भएको छ ।
भारतको नयाँ संसद भवनमा काठमा कुँदिएको भारतको नक्शामा नेपालको लुम्बिनी र कुपिलबस्तु पनि रहेको भन्ने कुरा सुनिएको उल्लेख गर्दै यदि त्यो सत्य हो भने उचित नहुने ओलीको प्रतिक्रिया थियो । अखिल नेपाल महिला संघले मंगलबार च्यासलस्थित पार्टी केन्द्रिय कार्यालयमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले भारतजस्तो एउटा पुरानो, सुदृढ र नमूना लोकतन्त्र भनिएको देशले त्यस्तो व्यवहार गर्न नमिल्ने स्पष्ट पार्नु भयो ।
उहाँले प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो भारत भ्रमणको क्रममा सो नक्शा संसद भवनबाट हटाउने कुरा भारत सरकारसँग गर्नुपर्ने बताउनु भयो । भारतसँग सो गल्ती सच्याउने बारेमा कुरा नगर्ने हो भने प्रधानमन्त्री दाहाल भारत भ्रमणमा जानुको कुनै अर्थ नहुने ओलीले बताउनु भयो । उहाँले भन्नु भयो, ‘अहिले आईराख्या छ नि । लुम्विनी, कपिलवस्तु भारतको नक्शामा पारेर संसद भवनमा काठमा कुँदेर संसदले राख्यो भने पछि यो भन्दा सानो छिमेकीलाई मैले देखेको छैन । सुनेको छु । भारत सरकारले होइन, हटायो भने, होइन भनेर खण्डन गर्यो भने अथवा त्यो हटायो भने वा गल्ती महशुस गर्यो भने त्यो आफ्नो ठाउँमा छ । तर नेपालको भूमि आफ्नो नक्शा भित्र हालेर संसद जस्तो ठाउँमा भारतजस्तो एउटा पुरानो, सुदृढ, नमूना लोकतन्त्र भनिएको देशले त्यो व्यवहार गर्छ भने त्यसलाई उचित भन्न सकिदैन । प्रधानमन्त्रीजी भोली भारत भ्रमणमा जाँदै हुनुहुन्छ । उहाँले त्यो नक्शा हटाउनुस् । त्यो गल्ती सच्याउनुस भनेर भारत सरकारसँग कुरा गर्नु पर्छ । यतिकुरा गर्न सक्नु हुन्न भने अनि भारत भ्रमणमा किन जाने ?’
अध्यक्ष ओलीले शक्ति राष्ट्रहरुले बलमिच्याई गरिरहेकाले कमजोर मुलुकहरुले न्यायको खोजी गरिरहनु परेको पनि पटकपटक दोहो¥याउनु भयो ।
४. प्रधानमन्त्रीले भारतीय पक्षसँग इपीजी प्रतिवेदन ग्रहण गरी कार्यान्वयनमा लैजान विशेष जोड दिनुपर्छः शंकर पोखरेल
नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो भारत भ्रमणमा प्रवुद्ध व्यक्ति समूह (इपीजी) प्रतिवेदन ग्रहण गरी त्यसको कार्यान्वयनमा विशेष जोड दिनुपर्ने बताउनुभएको छ ।
पार्टीको केन्द्रिय सम्पर्क समन्वय कमिटीले मंगलवार च्यासलस्थित पार्टी केन्द्रिय कार्यालयमा आयोजना गरेको ‘प्रधानमन्त्रीको भारत भ्रमण र नेपालको राष्ट्रिय सरोकार’ विषयक छलफल कार्यक्रममा बोल्दै महासचिव पोखरेलले सो कुरा बताउनुभएको हो । इपीजी प्रतिवेदन नेपाल–भारत सम्बन्धको नयाँ आधार–पत्र भएको उल्लेख गर्दै उहाँले सो प्रतिवेदनलाई बुझ्ने र कार्यान्वयनमा लैजाने कुरालाई प्रधानमन्त्री दाहालले भारतसँग विशेष जोड दिएर छलफल गर्नुपर्ने बताउनु भयो ।
महासचिव पोखरेलले भारतले सो प्रतिवेदन नबुझेकै कारण दुई मुलुकबीचको समस्या कायमै रहेको तर्क समेत गर्नुभयो । उहाँले भारतलाई नै सो प्रतिवेदन बुझ्न लगाउनु नेपालको राष्ट्रिय हीतमा हुनेतर्फ पनि प्रधानमन्त्री दाहालको ध्यानाकर्षण गराउनु भयो ।
महासचिव पोखरेलले भन्नुभयो, ‘सन् १९५० को असमान सन्धि पुनरावलोकन गर्नुपर्नेलगायतका विषयमा मनमोहन अधिकारी प्रधानमन्त्री भएको बेला कुरा उठाइयो । हाम्रो पार्टी अध्यक्ष केपी शर्मा ओली रहेका बखत संयुक्त कार्यदल नै बन्यो । र, त्यसले नेपाल–भारत सम्बन्धमा बारेमा अध्ययन गरिकन रिपोर्ट बनाउने काम भएको छ । त्यो इपिजीको रिपोर्ट चाँही स्वभाविक रुपमा तयार भइसकेपछि त्यो हाम्रो सम्बन्धको नयाँ एउटा आधार पत्र हो भन्ने मलाई लाग्दछ । त्यो चिज ग्रहण गर्न जति विलम्व गर्छौं, सम्बन्धमा समस्या रहिरहन्छ । त्यसअर्थमा इपिजीको प्रतिवेदन बुझने र त्यसलाई कार्यान्वयन गर्ने प्रक्रियामा नेपालको तर्फबाट चाहीँ विशेष जोड हुनुपर्दछ भन्ने मलाई लाग्दछ । नेपालको हीतको सर्वाधिक महत्वको विषय चाहीँ इपिजीको प्रतिवेदनलाई औपचारिकता दिने र त्यसको आधारमा नयाँ सम्बन्ध निर्माण गर्नका लागि त्यसले पहिचान गरेका के–के विषयहरुमा फेरी नयाँ चरणको छलफलको आवश्यक्ता पनि होला दुई राष्ट्रको बीचमा । त्यो प्रक्रियातर्फ प्रवेश गर्नका लागि प्रतिवेदन नबुझेका कारण समस्या भएको छ । नेपालले बुझेर त्यसलाई सार्वजनिक गर्नुपर्छ भन्ने कुरा मोरल बुष्टअप गर्ने विषय बन्छ । तर पनि हाम्रो पहिलो जोड चाहीँ भारतले बुझोस् भन्ने रहँदै आएको छ । त्यसलाई अन्तिम प्रयास गर्ने अर्थमा गर्ने र त्यसको रिपोर्टलाई सार्वजनिक गर्ने विषयद्वारा दबाब सृजना गर्ने विषय दोस्रो चरणको विषय होला भन्ने मलाई लाग्छ । पहिलो कुरा भारतीय पक्षलाई नै रिपोर्ट बुझ्नका लागि दबाब सृजना गर्ने कुरा नै नेपालको हीतको पक्षमा रहन्छ भन्ने मलाई लाग्छ ।’
महासचिव पोखरेलले चुरे क्षेत्रबाट निर्माण सामग्री भारत निर्यात गर्ने काम नगर्न तथा भूकम्पपछि भारतसँग सम्झौता गरिएका पुनर्निर्माणका कामहरु सम्पन्न गराउने विषयमा पनि भारतसँग प्रधानमन्त्री दाहालले छलफल गर्नुपर्ने बताउनु भयो । कार्यक्रममा बोल्दै सीमाविद् बुद्धिनारायण श्रेष्ठले प्रधानमन्त्री दाहालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग नेपालको भूमि डुबान हुने, ठूलो धनजनको क्षति हुने भएकाले सीमा क्षेत्रमा बाँध नबाँध्नका लागि आग्रह गर्नुपर्ने बताउनु भयो ।
भारतले बाँध बाँधेकै कारण नेपालमा ठूलो जनधनको क्षति हुने, डुबान हुने भएकाले त्यसलाई रोक्नका लागि प्रधानमन्त्री दाहालले भारतीय समकक्षी मोदीसँग अनौपचारिक भएपनि कुरा राख्नुपर्ने उहाँको भनाई थियो । सीमाविद् श्रेष्ठले नेपालको सीमा समस्याका बारेमा भारतीय प्रधानमन्त्री मोदीसँग प्रधानमन्त्री दाहालले कुरा गर्छन् भनेर आफूले विश्वास नगरेको पनि बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘अनौपचारिक रुपमा भएपनि सिमा क्षेत्रमा भारतले बनाएको बाँधले नेपाली भूभाग डुबानमा परेको छ । मान्छे मरेका छन् । अब बाँधहरु निर्माण नगर्न भनेर नेपाली जनताको सन्देशको रुपमा प्रधानमन्त्री पुष्पकमल दाहालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग कुरा गर्न सक्नुपर्दछ ।’
सीमाविद् श्रेष्ठले भारतको हेपाहा प्रवृत्ति अझै पनि पुरानै शैलीको रहेको र त्यसमा परिवर्तन ल्याउनका लागि नेपालले राष्ट्रिय सहमतिका साथ अघि बढ्नुपर्ने पनि बताउनु भयो ।
५. माओवादी केन्द्रद्वारा सगरमाथा आरोही बुढामगरलाई सम्मान
नेकपा (माओवादी केन्द्र) ले दुवै खुट्टा (घुँडा भन्दा तल) गुमाएर पनि सगरमाथाको कीर्तिमानी आरोहण गर्न सफल हरि बुढामगरलाई सम्मान गरेको छ ।
मंगलवार पेरिसडाँडास्थित पार्टी केन्द्रिय कार्यालयमा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले उहाँलाई सम्मानपत्रसहित खादा ओढाएर सम्मान गर्नुभएको हो । त्यस अवसरमा महराले अपांगता भएका व्यक्तिहरुको टिम नै बनाएर विश्वव्यापी रुपमा शान्तिको अभियान छेड्ने बुढामगरको अभियान रहेको र त्यसमा आफू र आफ्नो पार्टीले सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले कीर्तिमानी बुढामगरको आफ्नो जीवनलाई थप शाहसका साथ अघि बढाउने मिशनको सफलताको पनि कामना गर्नु भयो । पार्टीको सम्मान कार्यक्रममा सहभागी भएकोमा पनि महराले बुढामगरप्रति आभार व्यक्त गर्नुभएको थियो ।
उहाँले भन्नुभयो, ‘उहाँहरु एउटा ठूलो शान्तिको मिसनमा हुनुहुन्छ । अपांग भएका व्यक्तिहरु खोजेर एउटा टिम बनाएर विश्वव्यापी रुपमा शान्तिको अभियान छेड्न चाहनुहुन्छ । त्यसको निमित्त हाम्रो तर्फबाट, हाम्रो पार्टीको तर्फबाट म आफैं पनि माओवादी जनयुद्धबाट शान्ति प्रक्रियाको मिसनमा लागेका व्यक्तिको हैसियतले म पनि सहयोग गर्न तयार छु । म यो प्रतिवद्धता पनि यहाँहरुलाई भन्न चाहन्छु । यसमा धेरै भन्नु छैन । उहाँको जीवन, उहाँले खुट्टा गुमाउनु भएपनि उहाँले साहस गुमाउनु भएको छैन । र, केही लक्ष्य पूरा गर्ने, केही समय उहाँ अलि रुमलिनु भयो । तर बाँकी जीवन थप शाहसपूर्वक अगाडि बढ्ने र मिसन पूरा गर्ने उहाँको लक्ष्य छ । त्यो पूरा होस् । हाम्रो शुभकामना कार्यक्रमलाई स्वीकार गरिदिनु भएकोमा उहाँलाई धन्यवाद ।’
कार्यक्रममा बोल्दै बुढामगरले अपांगताको क्षेत्रमा जागरण ल्याउन आफूले सगरमाथाको आरोहण गरेको बताउनु भयो । उहाँले यस क्षेत्रमा सरकारलाई पनि केही गर्न आफ्नो अभियानले सचेत गराएको पनि बताउनु भयो । बुढामगरले अपांगता भएका व्यक्तिहरुलाई दया र माया भन्दा पनि अवसर र मौका दिन आग्रह गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘सगरमाथामार्फत् मैले यो अपांगताको क्षेत्रमा जागरण गर्ने, सचेतना दिने कोशिस गरेको छु । पहिले सरकारले मलाई दुई वटा हात, दुई वटा खुट्टा र दुई वटै आँखा नभएकालाई सगरमाथा जान ब्याण्ड गरेको थियो । त्यो ब्याण्ड गरेपछि हामीले सर्वोच्च अदालतमा गएर मुद्दा लडेका थियौं । र, त्यो मुद्दा जितेर सगरमाथा चढेको र अहिले मैले सरकारलाई पनि यस क्षेत्रमा केही काम गर्न सचेत गराएको महशुस गरेको छु ।’
बेलायती सेनामा कार्यरत रहँदा दुवै खुट्टा गुमाउनुभएका बुढामगरले गत जेठ ५ गते सगरमाथाको सफल आरोहण गर्नुभएको थियो ।
६. नेपाली काँग्रेसको विशेष महाधिवेशन बोलाउने चेतावनी
नेपाली काँग्रेसका केन्द्रिय सदस्य मधु आचार्यले पार्टीको केन्द्रिय कार्यसमितिको बैठक नबोलाए विशेष महाधिवेशन बोलाउन बाध्य हुने चेतावनी दिनुभएको छ ।
मंगलवार काठमाडौंमा आयोजित नेपाली काँग्रेस रुपान्तरण अभियानको वागमती प्रदेश विशेष कार्यक्रममा बोल्दै केन्द्रिय सदस्य आचार्यले पार्टीको केन्द्रिय कार्यसमितिको बैठक बोलाउन माग गर्नुभयो । उहाँले पार्टीको विधान अनुरुप हरेक २ महिनामा कम्तिमा एक पटक केन्द्रिय कार्यसमिति बैठक बस्नुपर्ने भएपनि १० महिनासम्म बैठक बस्न नसकेको बताउनु भयो । उहाँले पार्टीका उपसभापति र महामन्त्रीहरुले समेत पदाधिकारी बैठकमा केन्द्रिय कार्यसमितिको बैठक बोलाउन माग गरिएपनि नेतृत्वले नसुनेको बताउनु भयो । उहाँले पार्टीको औपचारिक समितिका बैठकहरु नबोलाएमा विधानले दिएको अधिकार प्रयोग गरी विशेष महाधिवेशन बोलाइने बताउनु भयो ।
उहाँले भन्नुभयो – ‘नेताहरुलाई विनम्रतापूर्वक भन्छौँ, पार्टीका औपचारिक प्लेटफर्महरु यदी सञ्चालनमा ल्याइँदैन । बेलैमा मिटिङहरु बसाइँदैन । केन्द्रिय समितिको बैठक बस्दैन । वर्षमा एकपटक बोलाउनुपर्ने महासमितिको बैठक बस्दैन । पार्टीको केन्द्रिय समितिको बैठकले निर्णय गरेको ६ महिनाभित्रमा नीति अधिवेशन गर्ने भनेको कुराको यदी नीति अधिवेशन पनि बोलाइँदैन भने फेरि विधानले दिएको अधिकारहरु प्रयोग गरेर हामी भोलि विशेष महाधिवेशन समेत बोलाउन बाध्य हुनेछौँ ।’
उहाँले पार्टीले भ्रष्टाचारका कुराहरुलाई ढाकछोप गर्दै हिँडे आगामी दिनमा कठिनाइ हुने बताउनु भयो । काँग्रेस बिग्रिन र सिद्धिन लागेकोले भन्दै उहाँले पार्टीलाई सो अवस्थाबाट जोगाउन रुपान्तरण अभियान चलाएको उल्लेख गर्नुभयो । आफूहरुको अभियान काँग्रेसको चिन्ता गर्नेहरुको अभियान भएको स्पष्ट पार्नुभयो ।
उहाँले भन्नुभयो – ‘एउटा निस्कर्षमा, समाधानमा जानका लागि पार्टीलाई जबरजस्त आवश्यकता भइसक्यो । अब यही गतिविधिबाट, यही हिँडाइबाट, यही ढाँचाबाट या भ्रष्टाचारका कुराहरुमा पनि हामी ढाकछोप गर्दै हिँड्ने, पार्टीले एउटा प्रष्ट अभिव्यक्ति नदिने, यही ढंगले हिँड्यौँ भने जनताका बीचमा बस्नुपर्ने पार्टी र जनताको नजरमा दिनहुँ व्यवहार गर्नुपर्ने पार्टी साथीहरुलाई कठिनाइ हुनेछ । गाह्रो हुनेछ । यसले पार्टी दिनदिनै कमजोर बनाउदछ छ । त्यसकारण वास्तवमा यो कुनै गुटको मिटिङ होइन । कुनै गुटको अभियान होइन । काँग्रेस बिग्रिन लाग्यो । काँग्रेस सिद्धिन लाग्यो । काँग्रेस कमजोर गर्न थालियो । काँग्रेसलाई जनताले माया गर्न छोड्न थाले । र पार्टी सदस्यहरु पनि दिग्भ्रमित हुन थाले । अब यो अवस्थाबाट काँग्रेस जोगाउनुपर्छ । भोलिको भविष्य यही काँग्रेसबाट खोज्नुपर्छ । साथीहरुलाई यही भित्र आश्वस्त गर्नुपर्छ । जे–जे परिवर्तन गर्नुपर्छ, जे–जे सुधार गर्नुपर्छ । हाम्रै बीचबाट हामी नै गरौँ । हाम्रै काँग्रेसलाई राम्रो बनाउँ । यसैलाई बलियो बनाऔँ । यहीँभित्र देश र जनताको भविष्य सुनिश्चित गरौँ भन्नका लागि यो अभियान अगाडी बढेको हो । त्यसकारण काँग्रेसको बारेमा चिन्ता गर्ने अभियान व्यक्तिको अभियान या गुटको अभियान हुँदैन । काँग्रेसको चिन्ता गर्ने अभियान नेपाली काँग्रेसको अभियान हो । त्यसकारण यो सिंगो कांग्रेसको आवश्यकता हो । सिंगो काँग्रेसको आन्दोलन अभियान हो ।’
आचार्यले आफूहरुले चलाएको अभियान कुनै एक व्यक्ति वा गुटको अभियान नभएको बताउनु भयो ।
७. संसदीय सुनुवाई समितिको बैठकमा सभामुख र राष्ट्रिय सभा अध्यक्ष
सभामुख देवराज घिमिरेले प्रधानन्यायाधीश नियुक्तिको प्रक्रियालाई अगाडी बढाउन संसदीय सुनुवाई समितिलाई आग्रह गर्नुभएको छ ।
मंगलवार बसेको समितिको बैठकमा बोल्दै सभामुख घिमिरेले प्रधानन्यायाधीश नियुक्तिको सन्दर्भमा समितिमा पत्र समेत आएर बसेको उल्लेख गर्दै नियुक्ति प्रक्रिया अगाडी बढाउन आग्रह गर्नुभएको हो । उहाँले समितिले गर्ने कार्यसम्पादनहरु छिटोभन्दा छिटो गरी जिम्मेवारीका साथ भुमिका निर्वाह गर्न समिति सदस्यहरुलाई आग्रह गर्नुभयो ।
उहाँले भन्नुभयो – ‘यसले आफ्नो जिम्मेवारीलाई निश्चयपनि राम्ररी पूरा गर्नेछ । विभिन्न कारणले गर्दाखेरी यो गठन हुनलाई ढिलाइ भयो । अब अहिले गएर यसले पूर्णता पाएको छ । सभापति विधिवत रुपबाट छान्न बाँकी छ । हाम्रो अगाडी लामो समयदेखि सुनुवाइ हुन नसकेर बाँकी रहेको, खासगरी प्रधानन्यायाधीशको सवाल हामीसँग २७ गतेदेखि नै चिठी आएर रोकिएर बसेको छ । अरु पनि यस्ता कुराहरु छन् । त्यसैले यि कुराहरुलाई छिटोभन्दा छिटो सम्पादन गरेर त्यसमा गर्नुपर्ने काममा यसले जिम्मेवारीका साथ भुमिका निर्वाह गर्न सकोस् । यहाँहरुको व्यवहारबाट, यहाँहरुको दृष्टिकोण, निर्णयहरुबाट धेरै कुराहरु सिकेर केही गर्न सकियोस् भन्ने मेरो चाहना छ ।’
त्यसैगरी, समिति बैठकमा बोल्दै राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कुनै नियुक्तिमा संवैधानिक परिषद्ले समेत त्रुटी गर्नसक्ने भन्दै सो त्रुटीलाई संसदीय सुनुवाई समितिले सच्याउनुपर्ने बताउनु भयो । उहाँले नियुक्ति प्रक्रियामा भएका कमी, कमजोरीहरुमा समितिले आँखा चिम्लिनु नहुने बताउनु भयो ।
उहाँले भन्नुभयो – ‘सिफारिस गर्नेहरु र सुनुवाई गर्नेहरु अत्यन्त गम्भिर हुनुपर्छ । किनकी यति धेरै प्रक्रियाबाट गएर पनि ठूला कमजोरीहरु देखिए भने त कहीँ न कहीँ खोट छ नि । यस्तो कुराहरु भविष्यमा नहोस् भन्नका लागि पहिलो त हामी सिफारिस गर्नेहरु आफैँले धेरै ध्यान दिनुप¥यो । हामी जोड, कोणमा कहीँ कमी भएछ भने त्यहाँबाट फुत्किएपनि यहाँबाट नफुत्कियोस् भन्नका लागि हो नि । नत्र यसको के आवश्यक छ र ? कहिलेकाहीँ हामिले नियुक्ती गरेर पठायौँ तर अख्तियार जसले सम्पूर्ण हिसाबले भ्रष्टाचारका सबै केशहरुको बारेमा अनुसन्धान गर्ने, निरुपण गर्ने ठाउँ हो त्यसैमा नियुक्ती गरिएका व्यक्तिहरु नै पक्रिनुपर्ने, जेल जाने स्थिति पनि बन्यो । यसकारण यस्तो कुराहरु पनि हुँदारहेछन् भन्ने कुरालाई हेरेर कमसेकम इररहरु कम हुन्, त्यसलाई आँखा नचिम्लिउँ र भोलिका दिनहरुमा हाम्रा अनुभवले नियुक्ति प्रक्रियाहरुलाई जहाँ संवैधानिक हिसावले, कानूनी हिसावले संशोधन गर्नुपर्ने हुन्छ भविष्यमा त्यो कुरालाई पनि ध्यान दिनेगरी आउनुपर्छ । संख्या पुग्छ गरिहालौँ भनेर हामीले त्यो गरिहाल्यौँ भनेपनि हामीले पुग्छ भनेर हुँदोरहेनछ, त्यहाँ त उहाँले रोकिदिनु हुन्छ भन्ने भयो भने हामीलाई पनि अलि धेरै सोच्दा भोलिका दिनमा संवैधानिक परिषद्मा रहनेहरुले पनि धेरै विचार गर्नुपर्ने हुन्छ ।’
उहाँले संसदीय सुनुवाई समितिले संवैधानिक परिषद्ले गरेको नियुक्तिलाई समेत रोक्ने हैसियत बनाउनुपर्ने बताउनु भयो ।
८. आर्मीलाई हराउँदै जावलाखेल दोस्रो स्थानमा उक्लियो
विभागीय टोली त्रिभुवन आर्मीलाई पराजित गर्दै जावलाखेल युथ क्लव राजधानीमा जारी शहीद स्मार ए डिभिजन लिग तालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जावलाखेलले आर्मीलाई २–० गोल अन्तरले पराजित गर्दै स्पष्ट तीन अंक जोड्न सफल भएको हो । बलियो आर्मीबिरुद्ध सुखद नतिजा निकाल्ने क्रममा जावलाखेलका लागि दुवै गोल एनकोटो मासोबीले दोस्रो हाफमा गरे । प्रतिष्पर्धात्मक बनेको पहिलो हाफमा दुवै टोलीले केही राम्रा अवसर पाएपनि सदुपयोग गर्न चुकेका थिए । दोस्रो हाफमा भने जावलाखेलले सुधारिएको प्रदर्शन गर्दै आर्मीलाई दबाबमा राख्यो । सो क्रममा जावालखेलले ५६ औं मिनेटमा एनकोटोको गोलमार्फत अग्रता निकाल्न सफल भयो । समिराज थोकरको पासमा मासोबीको फितलो प्रहारलाई आर्मीका गोलकिपर विकेश कुथुले बचाउन नसक्दा गोल भएको थियो । त्यसपछि मनोबल बढाउँदै आक्रामक खेललाई निरन्तरता दिएको जावलाखेलले ७९ औं मिनेटमा दोस्रो गोल गर्न सफल भयो । मासेबीले फोफनाको क्रसलाई हेडरमार्फत टोलीका लागि तथा व्यक्तिगत दोस्रो गोल गर्न सफल भएका थिए ।
यस अघि ६६ औं मिनेटमा आर्मीका पदमकुमार तामाङको प्रहारले पोस्टको दिशा लिन सकेन । दुई मिनेटपछि आर्मीले बराबरीको अर्को अवसर गुमायो । दीपक गुरुङको क्रसमा जिलेस्पीजंग कार्की को हेडर पनि बाहिरिन पुग्यो । हिसुब थपलियाको क्रसमा आर्मीका गोलकिपर विकेशले पन्च गर्दा प्राप्त रिबाउण्डलाई फोडे फोफनाले राम्रोसँग प्रहार गर्न सकेनन् । ७४औं मिनेटमा नवयुग श्रेष्ठको शक्तिशाली प्रहार जावलाखेलका गोलकिपर ईश्वर गुरुङले बचाए । बाँकी समयमा आर्मीले थप प्रयास गरेपनि गोल हुन सकेन र आर्मीले अंक सुम्पिन बाध्य बन्यो । जितसँगै जावलाखेलले २३ खेलमा ३७ अकं जोड्न सफल भयो । जावलाखेल दोस्रो स्थानमा उक्लिएको छ ।
पराजय व्यहोरेको आर्मी समान खेलबाट ३० अंकका साथ पाँचौं स्थानमा छ । यस्तै जावलाखेलले लिगमा आर्मीबिरुद्ध पहिलो भेटमा ब्यहोरेको हारको बदला लिएको छ । पहिलो भेटमा आर्मीले जावलाखेलले ३–१ को सहज जित निकालेको थियो । लिगमा बुधवार पनि दुई खेल हुनेछन् । दिनको पहिलो खेल एन्फा कम्प्लेक्समा सातदोबाटो युथ क्लव र मच्छिन्द्र फुटबल क्लव तथा दोस्रो खेल थ्री स्टार र संकटा क्लवबीच च्यासल मैदानमा भेट हुनेछ ।
९. दरबार हत्याकाण्ड र गौर हत्याकाण्डाको अनुसन्धान गर्ने प्रधानमन्त्रीको प्रतिवद्धता
प्रधानमन्त्री पुष्पकमल दाहालले दरबार हत्याकाण्डको अनुसन्धान गरी निस्कर्षमा पुर्यउने बताउनुभएको छ । मंगलवार नेकपा (माओवादी केन्द्र) को पार्टी कार्यालय पेरिस डाँडामा भएको माओवादी सल्लाहकार समिति र ज्येष्ठ कम्युनिष्ट मञ्चको संयुक्त बैठकलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
उहाँले ठूला हत्याकाण्डका नामले परिचित दरबार हत्याकाण्ड, गौर हत्याकाण्ड लगायतका हत्याकाण्डहरुको अुनसन्धान गरी निचोडमा पुग्ने बताउनु भयो । उहाँले २०४६ सालको जनआन्दोलन पछिका सबै उच्च पदस्थ अधिकारीका सम्पती विवरणहको बारेमा खोजिनीति गर्ने पनि प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले भ्रष्टाचारका काण्ड र ठूला हत्याकाण्डका बारेमा अनुसन्धान गरी निस्कर्षमा पु¥याउनुपर्ने र नागरिकलाई यसबारेका शंकाहरुको छिनोफानो गर्नुपर्ने आवश्यकता रहेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘मैले सदनमा पनि भनेको छु अब भ्रष्टाचारका सबै फाइलहरु खोलिनेछन् । क्रमशः खुल्छन् । खुलाइन्छन् । मैले भनेको छु, २०४६ सालको ऐतिहासिक जनआन्दोलन पछिका सबै उच्च पदस्थ अधिकारीका सम्पती विवरणहको बारेमा खोजिनीति गरिन्छ । ठूलाठूला भ्रष्टाचारका काण्ड भनेर जो स्थापित छन्, तिनको खोजिनीति गरिन्छ । ठूलाठूला भयानक हत्याकाण्डहरु छन्, ती हत्याकाण्डहरुको खोजिनीति गर्नुछ । चाहे त्यो गौर हत्याकाण्ड होस् चाहे दरबार हत्याकाण्ड । त्यसको छिनोफानो भएको छैन । नेपाली जनताको मनमा धेरै ठूलाठूला शंकाहरु छन् । के भएको हो भन्नेकुराको सत्यतथ्य आएको छैन । यी सबैकुराहरु पनि हामीले क्रमशः लगेर नयाँ विश्वास जनतामा जगाउनु छ । अब केही हुन्छ र हुनसक्छ भनेर ।’
प्रधानमन्त्री दाहालले आफ्नो बुधवारबाट हुने भारत भ्रमणका क्रममा विद्युतको बजार क्षमताको ग्यारेन्टी हुनेगरी छलफल गर्ने प्रतिवद्धता जनाउनु भयो । उहाँले भारत भ्रमणमा सीमानाका विवादको समाधान गर्ने उपाय खोज्ने र विश्वासको वातावरण बनाउन पहल गर्ने बताउनु भयो । उहाँले आफू अहिले युवा अवस्थाको भन्दा बढी खटिरहेको बताउनु भयो ।
१०. परराष्ट्रमन्त्रीको पत्रकार सम्मेलन : भारत भ्रमणमा रक्सौल—वीरगञ्ज—सिमरा नाकाको वैकल्पिक सम्भाव्यताबारे छलफल हुन्छ
सरकारले नेपाल—भारत जोड्ने रक्सौल—वीरगञ्ज—सिमरा नाकाको वैकल्पिक सम्भाव्यताका लागि भारत सरकारसँग छलफल गर्ने भएको छ । मंगलवार सिंहदरबारमा पत्रकार सम्मेलन आयोजना गर्दै परराष्ट्रमन्त्री नारायणप्रसाद साउदले रक्सौल—वीरगञ्ज—सिमरा नाका धेरै ब्यस्त हुने भएकाले यस मार्गको विकल्पमा अर्को मार्गसहितको नयाँ नाकाका बारेमा भारत सरकारसँग सम्भाव्य स्थानहरुको बारेमा छलफल गर्ने बताउनुभएको हो ।
उहाँले नेपालगञ्ज(रुपैसडया), भैरहवा (सुनौली) र विराटनगर (जोगवनी) लगायतका अन्य नाकाहरु पनि चलायमान बनाउने बारेमा छलफल भइरहेको बताउनु भयो । उहाँले भ्रमणबाट सकारात्मक उपलब्धि हाँसिल हुने विश्वास रहेको बताउनु भयो । उहाँले नेपालको सुदूरपश्चिम र उत्तराखण्ड जोड्नका लागि पक्की पुल निर्माणको कामका बारेमा पनि प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणमा छलफल हुने बताउनु भयो । उहाँले प्रधानमन्त्रीको भ्रमणपछि दुवै देशको सम्बन्ध थप बलियो हुने विश्वास व्यक्त गर्नुभयो । परराष्ट्रमन्त्री साउदले विद्युत आयोजनामा भारतीय लगानी आकर्षित गर्ने, नेपालका ट्रान्समिसन लाइन निर्माण गरी विद्युत व्यापारको वातावरण बनाउने, भारतसँगै बंगलादेशसँगको विद्युत व्यापार गर्ने कुरामा पनि सरकारको जोड रहने बताउनु भयो । उहाँले भ्रमणमा नेपालमा विद्युत बिक्री हुने बजारलाई मध्यनजर गरेर भारतसँग लङ टर्म पावर डिल गर्ने प्रयास हुनेपनि बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘कनेक्टीभिटीको क्षेत्रमा सिमरा नाका धेरै ब्यस्त छ । त्यसकारण हामीलाई नाकाको आवश्यक्ता छ । त्यो नाकाका लागि सम्भाव्य ठाउँहरुको बारेमा भारत सरकारसँग छलफल गरिरहेका छौँ । हाम्रो आवश्यक्ता पनि भनिरहेका छौँ । नेपालगञ्ज, भैरहवा र विराटनगर लगायतका नाकाको बारेमा कुरा गरेका छौँ । यो भ्रमणबाट सकारात्मक उपलब्धिसम्म पुग्ने सकिने छ भन्ने विश्वास छ । महाकालीभित्र नेपालको सुदूरपश्चिम र उत्तराखण्ड जोड्नका लागि पक्की पुल निर्माणको काम छ, यसको सम्झौता भइसकेको छ, अब कार्यान्वयनको चरणमा जानेकुरामा हामी जानेछौँ । हाम्रो बीचको सम्बन्ध जनस्तरमा छ । खुला सीमाबाट आवतजावत छ, सुमधुर सम्बन्ध छ, यो प्रधानमन्त्रीको भ्रमणपछि दुवै देशको सम्बन्ध थप बलियो हुनेछ । हामीले केही महत्वपूर्ण क्षेत्रलाई समेट्न कोशिस गरिरहेका छौँ । विद्युत आयोजनामा भारतीय लगानी आकर्षित गर्ने, नेपालका ट्रान्समिसन लाइन निर्माण गरी विद्युत व्यापारको वातावरण बनाउने, भारतसँगै बंगलादेशसँगको विद्युत व्यापार गर्नेकुरा हामीले यो भ्रमणमा गरिरहेका छौँ । हामीले नेपालमा विद्युत बिक्री हुने बजारलाई मध्यनजर गरेर भारतसँग लङ टर्म पावर डिल गर्ने प्रयास गरिरहेका छौँ । भारतसँग ट्रान्जिटिटी गर्ने बारेमा पनि यो भ्रमणमा महत्वपूर्ण कदम चालिनेछन् । नेपाल र भारतको बीचमा कृषि उत्पादन सामग्री भारतीय बजारसम्म पुग्न सहयोगका लागि आग्रह हुनेछ ।’
नेपाल र भारत सरकारबीच विभिन्न कालखण्डदेखि थाँती रहेका सीमादेखि अन्य मुद्दाहरुमा छलफल हुने बताउनु भयो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा बुधवारबाट तीन दिने भ्रमणमा भारत जान लाग्नुभएका प्रधानमन्त्री दाहालले भारतीय समकक्षी मोदीसँग दिव्पक्षिय वार्ता गर्नुहुनेछ । प्रधानमन्त्री दाहालले भारत भ्रमणका क्रममा भारतीय राष्ट्रपति द्रौपदी मुर्मू, उपराष्ट्रपति जगदीप धनखडसँग पनि शिष्टाचार भेट गर्ने कार्यक्रम छ । प्रधानमन्त्री दाहालको भारत भ्रमणमा परराष्ट्रमन्त्री नारायणप्रसाद साउद, अर्थमन्त्री डा.प्रकाशशरण महत, उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेत,भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाल सहभागी बन्नुहुने भएको छ ।
११. पूर्वप्रहरी संगठनद्वारा राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन
पूर्व प्रहरी कर्मचारी संगठन सुनसरीले इनरुवामा राष्ट्रपति र प्रधानमन्त्रीको पुत्दा दहन गरेको छ । जन्मकैद सजाय भोगिरहेका रेशम चौधरीलाई गणतन्त्र दिवसको अवसर पारेर सरकारले आम माफी दिएको भन्दै इनरुवा बस चोकमा उनीहरुले राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन गरेका हुन् ।
प्रहरी उच्च अधिकारी सहितको हत्यामा जन्मकैद भोगिरहेका व्यक्तिलाई माफी दिनुले प्रहरी कर्मचारी र परिवारको मान सम्मानमा चोट पुगेको पूर्वप्रहरी कर्मचारी पहल बहादुर कटवालले बताउनु भयो । पुत्ला दहन कार्यक्रममा प्रदर्शनकारीले नेपाल सरकारको सिफारिसमा रेशम चौधरीलाई राष्ट्रपतिले आम माफी दिनु मुलुकको कानूनी राज्य प्रतिको उपहास भएको बताए । उनीहरुले सरकारप्रति जनताको विश्वास गुम्दै गएको समेत समेत बताए । पूर्वप्रहरी कर्मचारी संगठनको अगुवाईमा आयोजित पुत्ला दहन कार्यक्रममा स्थानीयहरुले समेत सहभागिता जनाएका थिए ।
१२. प्रधानन्यायाधीश नियुक्तिका लागि हरिकृष्ण कार्कीबिरुद्ध १० दिनभित्र उजुरी आह्वान
संवैधानिक परिषद्बाट सर्वोच्च अदालतका लागि प्रधानन्यायाधीशमा सिफारिस हुनुभएका कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीबिरुद्ध १० दिनभित्र उजुरी आह्वान गरिएको छ ।
मंगलवार सिंहदरबारमा बसेको संसदीय सुनुवाई समितिले सार्वजनिक सूचना प्रकाशन गरी १० दिनभित्र कार्कीबिरुद्ध उजुरी आह्वान गरेको हो । साथै बैठकमा कार्कीको व्यक्तिगत विवरणसमेत समिति सदस्यहरुलाई प्रदान गरेको छ । सार्वजनिक सूचना सरकारी सञ्चारमाध्यमबाट प्रकाशन हुनेछ । कार्कीमाथि लिखित रूपमा पत्रमार्फत वा समितिले सार्वजनिक गर्ने इमेलमार्फत उजुरी दिन सकिने छ ।
उजुरीकर्ताको परिचय उनीहरूको अनुरोधमा समितिले गोप्य राख्नेछ भने नाम बिना आएका उजुरीलाई भने प्राथमिकता नदिनेबारे समितिमा छलफल भएको छ । समितिका ज्येष्ठ सदस्य पशुपति समशेर जबराको अध्यक्षतामा बसेको बैठकले सचिवालयबाट प्रश्ताव गरिएको संसदीय सुनुवाई समितिको कार्यविधि २०८० को मस्यौदालाई परिमार्जनसहित पारित गरेको छ । बैठकका निर्णय सुनाउँदै ज्येष्ठ सदस्य सभापति जबराले नेपालको प्रधानन्यायाधीश पदको लागि सर्वोच्च अदालतका न्यायाधीश हरिकृष्ण कार्कीको नाम प्रश्ताव गरी संसदीय सुनुवाईको लागि न्याय परिषद्बाट समिति समक्ष वैशाख २७ गते पत्र प्राप्त भएको र उक्त पत्र कार्कीको व्यक्तिगत विवरणको प्रतिलिपि समिति सदस्यहरुलाई वितरण गर्न सचिवालयलाई निर्देशन दिनुभयो ।
उहाँले संसदीय सुनुवाई समितिको कार्यविधि २०८० को दफा १२ बमोजिम प्रश्तावित व्यक्तिको बारेमा सर्वसाधारणलाई जानकारी दिने र प्रश्तावित व्यक्तिको सम्बन्धमा कुनै सूचना भए सूचना उजुरी दिने प्रयोजनका लागि सो सम्बन्धी सूचना सरकारी सञ्चारमाध्यमबाट सार्वजनिक गर्ने विषयलाई अनुमोदन गरेको घोषणा गर्नुभयो ।
सभापति जबराले सुनुवाईको लागि समितिमा प्राप्त नाम सर्वसाधारणलाई जानकारी गराउने र प्रश्तावित व्यक्तिका सम्बन्धमा कुनै सूचना तथा उजुरी भए त्यस्तो सूचना वा उजुरी समिति समक्ष दिने प्रयोजनका लागि सरकारी सञ्चारमाध्यम र इमेल जस्ता विद्युतीय माध्यममार्फत संसदीय सुनुवाई समितिको कार्यविधि २०८० को दफा १२ अनुसार सूचना प्रकाशन गर्न समिति सचिवलाई निर्देशन दिनुभयो ।
उहाँले भन्नुभयो, ‘सचिवालयबाट प्रश्ताव गरिएको संसदीय सुनुवाई समितिको कार्यविधि २०८० को मस्यौदालाई परिमार्जनसहित पारित भएको छ । नेपालको प्रधानन्यायाधीश पदको लागि सर्वोच्च अदालतका मान्य न्यायाधीश श्री हरिकृष्ण कार्कीको नाम प्रश्ताव गरी संसदीय सुनुवाईको लागि न्याय परिषद्बाट यस समिति समक्ष मिति २०८० वैशाख २७ गते पत्र प्राप्त भएको थियो । उक्त पत्र र उहाँको व्यक्तिगत विवरणको प्रतिलिपि मान्यसदस्यहरुलाई वितरण गरिदिनु हुन सचिवालयलाई निर्देशन दिन्छु । उपयुक्त अनुसारको पत्र प्राप्त भइसकेपछि उक्त पदमा सिफारिस गरिएको पदाधिकारीको संसदीय सुनुवाई प्रक्रिया प्रारम्भ गर्ने सन्दर्भमा आफ्ना भनाइ राख्न मान्य सदस्यहरुलाई अनुरोध गर्दछु । कार्यविधि २०८० को दफा १२ बमोजिम प्रश्तावित व्यक्तिको बारेमा सर्वसाधारणलाई जानकारी दिने र प्रश्तावित व्यक्तिको सम्बन्धमा कुनै सूचना भए सूचना उजुरी दिने प्रयोजनका लागि सो सम्बन्धी सूचना सरकारी सञ्चारमाध्यमबाट सार्वजनिक गर्ने विषयलाई अनुमोदन गर्न मान्य सदस्यहरुसँग अुनरोध गर्दछु । सुनुवाईको लागि समितिमा प्राप्त नाम सर्वसाधारणलाई जानकारी गराउने र प्रश्तावित व्यक्तिका सम्बन्धमा कुनै सूचना तथा उजुरी भए त्यस्तो सूचना वा उजुरी समिति समक्ष दिने प्रयोजनका लागि सरकारी सञ्चारमाध्यम र इमेल जस्ता विद्युतीय माध्यममार्फत संसदीय सुनुवाई समितिको कार्यविधि २०८० को दफा १२ अनुसार सूचना प्रकाशन गर्न समिति सचिवलाई निर्देशन दिन्छु ।’
गत वैशाख २५ गते संवैधानिक परिषद्ले कार्कीलाई सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको थियो । सार्वजनिक सुनुवाइका लागि वैशाख २७ गते सो को जानकारी संसद् सचिवालयलाई गराइएको थियो । कार्की झन्डै १५ महिनादेखि सर्वोच्चमा का.मु.प्रधान न्यायाधीशको रूपमा कार्यरत हुनुहुन्छ ।
१३. प्रधानमन्त्रीको भारत भ्रमणबारे परराष्ट्रमन्त्री साउद : भारत भ्रमणमा कार्यान्वयन हुने सम्झौता मात्र गरिनेछ
परराष्ट्रमन्त्री नारायणप्रसाद साउदले प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणमा कार्यान्वयन हुने सम्झौता मात्र गरिने दाबी गर्नुभएको छ ।
उहाँले प्रधानमन्त्रीको भारत भ्रमण यही जेठ १७ (भोलि) बाट जेठ २० गतेसम्म हुँदैछ ।
प्रधानमन्त्री दाहालको भारत भ्रमणलाई लिएर मंगलवार न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उहाँले भारत भ्रमणका क्रममा नेपाल र भारतबीचको मैत्रीपूर्ण सम्बन्धलाई थप प्रगाढ बनाउने बताउनु भयो । उहाँले भ्रमणका क्रममा ब्यापार तथा पारवहन, हवाइ तथा स्थल यातायात सम्बन्ध, भौतिक पूर्वाधार विकाश, आर्थिक सहयोग लगायतका मुद्दाहरुलाई अगाडि बढाउने प्रतिवद्धता जनाउनु भयो । उहाँले भ्रमणमा नेपालमा जलविद्युत उत्पादन बढाउने र उत्पादनमा भारतीय लगानी सुनिश्चित गर्नेकुरालाई मुख्य जोड दिइने बताउनु भयो । उहाँले भारतीय भूमी प्रयोग गरी बंगलादेशमा उर्जा व्यापार गर्नेकुरामा भारतको सहयोग लिने भ्रमणको मुख्य विषय रहेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘नेपाल र भारतबीचमा घनिष्ठ मैत्रीपूर्ण सम्बन्ध रही आएको छ । यो भ्रमणमा हामीले दुई देशबीचको सम्बन्धलाई ज्यादा प्रगाढ बनाउने कोशिस गर्नेछौँ र दुई देशबीचको समझदारीलाई पनि अझ बढाउँदै लैजाने हाम्रो प्रयत्न रहनेछ । हामीले यो भ्रमणमा ट्रेड, ट्रान्जिट,कनेक्टिभिटी, इन्फास्ट्रक्चर डेभलपमेण्ट, फाइनान्सियल कोप्रेशन, जस्ता मुद्दाहरुलाई अगाडि बढाउनेछौँ । यसको बारेमा दुई देशका बीचमा, दुई देशको सरकारका बीचमा वार्ताबाट केही ठोस निस्कर्षमा पुग्ने तयारी भइरहेको छ, यसमै दुई वटै देशका अधिकारीहरु क्रियाशील रही आएका छन् । हाम्रो भ्रमणको मुख्य कुरा नेपालमा पावर उत्पादन गर्नेकुरा जलविद्युत आयोजनामा भारतीय लगानी सुनिश्चित गर्नेकुरा, एलोसीबाट ट्रान्समिशन लाइनहरु बनाउने कुरा र नेपाल—भारतका बीचमा लामो समय पावर पर्चेज डिल गर्नेकुरा र भारतीय ग्रिट र ट्रान्समिशनलाई प्रयोग गरेर बंगलादेशमा विद्युत निर्यात गर्नुपर्ने जस्ता महत्वपूर्ण कुरा यसमा सामेल छन् । यसलाई हामी वार्ता, छलफलको माध्यमबाट सहमति र सम्झौतामा टुंगोमा पुग्ने प्रयत्नमा छौँ ।’
मन्त्री साउदले सरकारले भारतसँग गरेका सम्झौताहरुको पूर्ण कार्यान्वयन नहुने गरेको भन्दै यस भ्रमणमा भने सम्झौता गरेका कुराहरुको पूर्ण कार्यान्वयन हुने ग्यारेन्टी गर्नुभयो । उहाँले कार्यान्वयनको सुनिश्चित गर्न नसके भ्रमणमा भएका सम्झौताको कुनै अर्थ नरहने भन्दै भारतसँग बढाइएका एजेण्डाहरुको पूर्ण कार्यान्वयन हुने अपेक्षा रहेको बताउनु भयो । उहाँले भ्रमणका क्रममा पञ्चेश्वर परियोजना निर्माणदेखि पञ्चेश्वर बहुउद्देश्य आयोजनाको डिपिआरलाई पनि अघि बढाउन प्रश्ताव राख्ने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘कमिटमेण्ट आउने, कार्यान्वयनको पक्ष कमजोर हुने पक्ष कुनै न कुनै रुपमा दुवै पक्षबाट यस्तो भइरहेको छ भन्ने अनुभव छ । हामी छलफलको सन्दर्भमा, उच्चस्तरीय छलफलको सन्दर्भमा कुनै सहमतिमा पुगेपछि त्यसको कार्यान्वयनलाई पनि हामीले सुनिश्चित गरेर लैजानुपर्छ । जुन एजेण्डा हामी अगाडि बढाउँदै छौँ, ती एजेण्डाको कार्यान्वयन हुनेछ । विशेष गरी पञ्चेश्वरदेखि केही महत्वपूर्ण परियोजनाका सन्दर्भमा यसको निर्माणको प्रक्रियामा ढिलाइ भयो भन्नेकुरा छ । पञ्चेश्वर बहुउद्देश्य आयोजनाको डिपिआरलाई पनि अघि बढाउने हामी प्रयत्न गरिरहेका छौँ । बनेको खण्डमा एशियाकै दोस्रो ठूलो थ्रि गर्जेजपछिको ठूलो प्रोजेक्ट भएको हुनाले यसमा ह्युज लगानीको पनि केही ठूलो आवश्यक्ता हुन्छ । त्यो लगानीका लागि पनि अलिकति समय लाग्छ । केही सानोतिनो टेक्निकल चिजहरु हाम्रो बीचमा छ, त्यसलाई पनि समाधान गरेर लैजाने बाटोमा छौँ, अन्य ठाउँमा पनि हाम्रा रोकिएका कुराहरुलाई निरन्तरता दिने पक्षमा छौँ । एयर ट्रान्जिटको कुरा, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमान सेवाका इस्युहरु भारतसँग छन्, ती कुरामा पनि छलफल गरेर हामी टुंगोमा पुग्ने प्रयत्नमा छौँ ।’
मन्त्री साउदले प्रधानमन्त्रीको भारत भ्रमणमा भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रुपमा चलायमान बनाउन भारतसँगका केही असमझदमारीलाई हटाउने बारेमा पनि छलफल हुने बताउनु भयो । प्रधानमन्त्री दाहालको भारत भ्रमणमा परराष्ट्रमन्त्री नारायणप्रसाद साउद, अर्थमन्त्री डा.प्रकाशशरण महत, उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेत,भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाल जानुहुने भएको छ । भारत भ्रमणका क्रममा प्रधानमन्त्री दाहालले भारतीय राष्ट्रपति द्रौपदी मुर्मू, उपराष्ट्रपति जगदीप धनखड र प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गर्ने कार्यक्रम छ ।
१४. विपद् प्रतिकार्यमा सूदूरपश्चिमका युवाहरु सक्रिय
जलवायु परिवर्तनको असरका कारण निम्तने विपद्जन्य घटनाको प्रतिकार्यका लागि स्थानीय स्तरमा युवाहरु सक्रिय हुन थालेका छन् । मुलुक संघीय संरचनामा गएपछि विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापनको सम्पूर्ण जिम्मेवारी स्थानीय सरकारमा हस्तान्तरण गरिएको छ ।
स्थानीय सरकारले पर्याप्त साधन स्रोतको अभावमा प्रभावकारी काम गर्न नसकिरहेका बेला स्थानीय युवाहरु विपद्जन्य घटनाको प्रतिकार्यका लागि सक्रिय हुन थालेका हुन् । विपद्जन्य घटनाको अत्याधिक जोखिमको रुपमा परिचित हुँदै आएको कञ्चनपुर जिल्लाको दोधारा चाँदनी नगरपालिकाका युवाहरु विपद् जोखिम न्युनिकरण र व्यवस्थापनमा सक्रिय हुन थालेका हुन् । स्थानीय सामाजिक परिचालक सुनिल सेठ्ठी समुदायको बाढी उत्थानशिलताको लागि पूर्वसूचना, खोज तथा उद्धार सम्बन्धी तालिम दिने गरेको बताउँछन् ।
‘समुदायको बाढी उत्थानशिलताको क्षमताको मापन अनुसार काम गर्ने गर्दछौँ । समुदायको बाढी उत्थानशिलताको लागि पूर्वसूचना, खोज तथा उद्धारको तालिम दिने गरिएको छ । डडेलधुरामा पानीको मापन हुने गर्दछ । अनि त्यहाँका र यहाँका समुदायसँग जोडेर तथ्यगत सूचनाहरु प्रवाह गर्ने गरिन्छ । जीविकोपार्जनको क्षेत्रमा पनि सामुदायिक विपद् व्यवस्थापन समितिहरु निर्माण गरेर बाख्रा पालन शुरु गरिएको छ । जनचेतना वृद्धि गर्ने सवालमा पनि काम भएका छन् । स्थानीयहरुले आफ्ना गुनासाहरुलाई स्थानीयसरकारसँग राख्ने र सम्बोधनका लागि पहल गर्ने सम्मका कामहरु भएका छन् । ’
वर्षेनी बाढी र डुबानको चपेटामा परेर बिस्थापित हुनेको संख्या बढ्दै गर्दा युवाहरु विपद् प्रतिकार्यमा जुटेका हुन् । उनीहरुले स्थानीय तहमा विपद् जोखिम न्युनिकरणमा काम गर्दै आएका संघसंस्थाको सहयोगमा जनप्रतिनिधिहरुलाई पनि जबरजस्त सहभागी गराएर विभिन्न किसिमका युवा सञ्जालहरु गठन गरेका छन् । वर्षेनी डुबान र बाढीको चपेटामा परेर दैनीकी नै कष्टकर हुने स्थानीयको जीविकोपार्जनलाई सहज बनाउन युवा समूहमार्फत सहयोग गर्ने गरिएको छ । युवा समूहले नागरिकको अधिकार र स्थानीय सरकारको जिम्मेवारीबारे पनि समुदायमा प्रशिक्षण दिने गरेको छ । यस्ता कृयाकलापले समुदायमा नागरिक सचेतना बढाएको छ । युवाहरुकै सक्रियतामा वर्षेनी बाढी र डुबानको चपेटामा पर्ने गरेको वडा नम्बर १० को अति प्रभावित स्थानमा उखुखेती शुरु गरेका छन् ।
नगरपालिका प्रमुख किशोरकुमार लिम्बू विपद्का बेला सरकारी सयन्त्रले मात्रै सबै काम गर्न नसक्ने भएकाले नगरस्तीय युवाहरुको सञ्जाल तत्काल प्रयोग गर्न सक्नेगरि तयारी अवस्थामा रहने गरेको बताउनु भयो । उहाँले भन्नुभयो ‘१० वटा वडा रहेको नगरपालिकाभित्र युवाहरुको १३ वटा सामुदायिक विपद् व्यवस्थापन युनिट छन् । १ सय सदस्यीय नगरस्तरीय युवा समिति छ । यी समूहमार्फत युवाहरुले समुदायमा समय सापेक्ष आइपर्न सक्ने विपद्जन्य प्रकृति र त्यसबाट जोगिने उपाय सिकाउने गर्छन् । युवा सञ्जाल गठन र परिचालनमा निड्स नेपालले सहयोग गर्दै आएको छ । ’
उत्थानशिल युवा सञ्जालकी सदस्य लक्ष्मी भट्ट नगरपालिका भित्र कुनैपनि विपद्को घटना भयो भने सबै युवाहरु एकजुट भएर सम्बोधनमा लाग्ने गरेको बताउनु हुन्छ । ‘विपद् जोखिम न्युनिकरण र विपद् उत्थानशिलताको विषयमा महिनाको २ दिन समूहका युवाहरु र स्थानीयबीच विस्तृत छलफल हुन्छ । नगरपालिका भित्रका कुनैपनि स्थानमा विपद् आयो भने यो सञ्जाल तत्काल सक्रिय हुन्छ । सामाजिक सञ्जालमा ग्रुप बनाएका छौ । विपद्बारे जानकारी प्राप्त हुने बित्तिकै नजिकका युवाहरु उद्धारमा सक्रिय हुने गर्दछन् । ’
युवाहरुले प्रविधिको प्रयोगमा पनि सबैलाई सक्रिय बनाएका छन् । सामाजिक सञ्जालमा विपद्बारे जानकारी गराईन्छ । सञ्जालमा आएको सुचनाको आधारमा समुदाय जागरुक हुन्छ भने उद्धारका लागि परिचालकहरु पनि क्षणभरमा नै जम्मा हुन्छन् । प्रविधिको प्रयोग गरेर गरिने सूचना प्रवाह अन्त्यन्तै प्रभावकारी भएको भट्टको अनुभव छ । विपद् जोखिम न्युनिकरण र विपद् उत्थानशिलतासँगै सीमा क्षेत्रमा देखिएका समस्या र सार्वजनिक सरोकारका विषयमा स्थानीय सरकारलाई जिम्मेवार र जवाफदेही गराउन शुरु भएको युवा सञ्चालको खबरदारीलाई अनुकरणीय अभ्यासको रुपमा लिन सकिन्छ ।













प्रतिक्रिया दिनुहोस्