जनता टाइम्स

१९ जेष्ठ २०८०, शुक्रबार ०९:३९

पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष र जिल्ला अध्यक्षसहित दाङका १९० जनाको सदस्यता खारेजीको सिफारिस


दाङ, जेठ १९ । नेपाल पत्रकार महासंघ दाङ शाखाले महासंघका केन्द्रीय उपाध्यक्ष उदय जीएम र शाखा अध्यक्ष दुर्गालाल केसीसहित १९० जनाको साधारण सदस्यता खारेजीको सिफारिस गरेको छ । महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेलको गृहजिल्ला दाङले महासंघले तोकेको मापदण्डलाई जस्ताको तस्तैलागू गर्दै यस्तो सिफारिश गरेको हो ।

महासंघको शुक्रबार बसेको बैठकले ‘शुद्वीकरण अभियान’ अन्तर्गत नवीकरण मापदण्डभित्र नपर्ने र क्रियाशील नरहेकाको सदस्यता खारेज गर्ने निर्णय गरेको शाखा अध्यक्ष केसीले जानकारी दिनुभयो ।

‘केन्द्रीय उपाध्यक्ष जीएम हाल पत्रकारिता पेसामा निष्क्रिय भएकाले उहाँको सदस्यता खारेजीको सिफारिस गरिएको अध्यक्ष केसीले बताउनु भयो । सदस्यता खारेजीको सिफारिसमा अध्यक्ष केसी स्वयं पर्नुभएको छ । महासंघले बनाएको मापदण्डमा नपर्ने भएकाले आफ्नो सदस्यता पनि खारेजीको सिफारिस गरिएको उहाँको भनाई छ ।

‘शुद्वीकरणको मापदण्डमा नपर्ने भएकाले मेरैसमेत सदस्यता खारेजीको सिफारिस गरिएको छ’, अध्यक्ष केसीले भन्नुभयो, हासंघलाई फुलटाइम पत्रकारिता गर्नेको संस्था बनाउन यस्तो निर्णय गरेका हौं । सदस्यता खारेजीको सिफारिसमा महासंघ दाङ शाखाका सचिव आरके शीतल, कोषाध्यक्ष शरद रेग्मी, सदस्यहरू गिरिराज नेपाली, सन्तोष केसी र उदय बिसी पनि पर्नुभएको छ ।

त्यसैगरी प्रेस सेन्टरका केन्द्रीय उपाध्यक्ष अजयदीप शर्मा, सञ्चारमन्त्त्रीका प्रेस सल्लाहकार नरेन्द्र केसी, संसद सचिवायलका प्रेस विज्ञ डील्ली मल्ल, प्रेस चौतारीका केन्द्रीय सदस्य एवं संस्कृत विश्व विद्यालयका उपकुलपति यादवप्रसाद लामिछानेका स्वकीय सचिव टीका बस्नेत, लुम्बिनी प्रदेशका मुख्यमन्त्रीडील्ली चौधरीका प्रेस संयोजक गोपाल शर्मा भट्टराई, नेपाल प्रेस युनियनका उपमहासचिव सुलोचना पोखरेलसहित १९० जनाको सदस्यता खारेजीको सिफारिस प्रदेश समितिमा गरिएको छ ।