जनता टाइम्स

२२ जेष्ठ २०८०, सोमबार ०९:०४

प्रधानमन्त्रीलाई सभामुखको आग्रह : समयमा नै संवादबाट निकास खोजौं, सदन अवरोध भइरहन सक्दैन


काठमाडौं, जेड २२ । सभामुख देवराज घिमिरेले प्रतिनिधि सभाको अवरोध हटाउन छलफल गर्नुभएको छ । सभामुख घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग सदनको अवरोध हटाउने विषयमा छलफल गर्नुभएको हो ।

घिमिरेले बजेट पारित गर्न समयको चाप रहेको स्मरण गराउँदै विपक्षी दलसँग संवाद गर्न आग्रह गरेको सभामुखको सचिवालयले जनाएको छ। आइतबार प्रतिनिधि सभा अवरोध भएलगत्तै सभामुखले प्रधानमन्त्रीसँग टेलिफोन संवाद गर्नुभएको थियो । सभामुख घिमिरेले आइतबार साँझ नै फेरि सदनको अवरोध हटाउन सरकारकातर्फबाट पहल गर्न आग्रह गर्नुभएको छ ।

‘प्रधानमन्त्रीको भारत भ्रमणका कारण चार दिन व्यतित भइसकेको छ, अझै सदनमा अवरोध हुने हो भने बजेट पारित गर्न समय अभाव हुन्छ,’ प्रधानमन्त्रीलाई सभामुखले भन्नुभयो, ‘समयमा नै संवादबाट निकास खोजौं, अब सदन अवरोध भइरहन सक्दैन ।’

सभामुखसँगको संवादमा प्रधामन्त्री प्रचण्डले सदनमा विपक्षीले उठाएको मागबारे आफू जानकार रहेको बताउँदै आजको संसदमा आफूले प्रष्टिकरण दिने बताउनु भएको छ । ‘म एमाले अध्यक्ष केपी शर्मा ओलीसहित विपक्षी दलसँग पनि कुरा गर्छु, सरकारका तर्फबाट लचकता र पहल हुन्छ,’ सभामुखसँग प्रधानमन्त्रीको भनाई थियो ।

सभामुखले एमाले प्रमुख सचेतक पदम गिरी, रास्वपा प्रमुख सचेतक सन्तोष परियार र राप्रपा प्रमुख सचेतक ज्ञानबहादुर शाहीले विपक्षी दलहरुलाई बजेट पारित गर्ने समयसीमा बुझिदिन आग्रह गर्नुभएको छ ।