जनता टाइम्स

२३ जेष्ठ २०८०, मंगलवार १९:०३

ए डिभिजन लिगको च्याम्पियन बन्यो चर्च ब्वाइज


काठमाडौं, २३ जेठ । थ्री स्टार क्लबसँग मंगलबार दशरथ रंगशालामा गोलरहित बराबरी खेलेपनि नवप्रवेशी चर्च व्वाइज यूनाइटेड क्लब सहिद स्मारक ए डिभिजन लिग २०७९/८० को च्याम्पियन बनेको छ । शीर्ष डिभिजनमा बढुवा भएको पहिलो सिजनमै लिग च्याम्पियन हुने चर्च ब्वाइज दोस्रो क्लब हो ।

यसअघि, २०४३ सालमा मनाङ मर्स्याङदी क्लबले उपाधि जितेको थियो । मनाङ २०४० सालदेखि लगातार डी, सी र बी डिभिजन हुँदै २०४३ सालमा ए डिभिजन च्याम्पियन बनेको थियो । मनाङको सोहि कीर्तिमान बराबरी गर्दै चर्चब्वाइज ए डिभिजन च्याम्पियन बन्यो । चर्च ब्वाइज ए डिभिजन लिग जित्ने १६औं क्लब बन्यो ।

जारी लिगको अर्को दाबेदार साविक विजेता मछिन्द्र फुटबल क्लब २४औं चरणमा नेपाल पुलिस क्लबसँग २(१ गोलको नतिजामा पराजित भएसँगै चर्चब्वाइज उपाधि संघारमा पुगेको थियो । चर्च ब्वाइजलाई उपाधि जित्न अन्तिम दुई खेलमा एक अंक आवश्यक थियो ।

च्याम्पियन चर्चब्वइजको २५ खेलमा ४५ अंक छ । जुन दोस्रो स्थानको मछिन्द्रभन्दा ६ अंक बढी हो । मछिन्द्रले जारि लिगमा २ खेल खेल्न बाँकी छ । दुवै खेलमा जित निकाले र अन्तिम खेलमा चर्चब्वाइज हारे मछिन्द्र र चर्चब्वाइजको अंक बराबरी हुनेछ । तर, हेड टु हेडका आधारमा चर्चव्वाइजनै च्याम्पियन हुनेछ ।

२०६६ सालमा स्थापना भएको चर्चब्वाइज ७७ सालमा सी डिभिजन छनोटको च्याम्पियन बनेको थियो । त्यसपछि २०७८ मा सी डिभिजनको च्याम्पियन हुँदै बी मा बढुवा भएको चर्चब्वाइजले ७९ सालमा बी डिभिजन च्याम्पियन हुँदै शीर्ष डिभिजनमा छनोट भएको थियो । र, २०८० मा ए डिभिजन लिगको नयाँ च्याम्पियन बन्यो ।