जनता टाइम्स

२३ जेष्ठ २०८०, मंगलवार १९:४९

नक्कली शरणार्थी प्रकरणको थुनछेक बहस : जाहेरवला पक्षका वकिलले बहस सके, अब प्रतिवादी पक्षको पालो


काठमाडौं, २३ जेठ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पीडित पक्षका तर्फबाट गरिएको बहस सकिएको छ । आठ सरकारी र ६ निजी गरी १४ जना वकिलले अभियुक्तलाई हदैसम्मको सजायको माग गर्नुभएको छ ।

निजी कानून व्यवसायीहरुमा स्वागत नेपाल, सुशील शर्मा सापकोटा, राधिका चौलागाईं, दीपकराज रेग्मी, ध्रुवलाल श्रेष्ठ र हरिप्रसाद कँडेलले पीडित पक्षका तर्फबाट बहस गर्नुभएको थियो ।

निजी वकिलहरुमध्ये हरिप्रसाद कँडेलले अभियुक्तहरुले बयानमा पोलेकाहरुलाई पनि अदालतले प्रतिवादी बनाउँदै जुडिसियल नोटिस पठाउन माग गर्नुभएको थियो ।

अभियुक्तहरुले पोलेकाहरुलाई अदालतले नै प्रतिवादी कायम गर्न सक्ने उहाँको जिकिर थियो ।

‘‘अभियुक्तहरुले आफ्नो बयानका क्रममा पोलेका व्यक्तिहरुलाई समेत प्रतिवादी बनाउने अधिकार अदालतलाई छ’, बहसका क्रममा वकिल कँडेलले भन्नुभयो, ‘त्यसैले उनीहरुको नाउँमा जुडिसियल नोटिस जारी गर्नुपर्छ ।’

प्रहरी नियन्त्रणमा रहेकाहरुले नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाकी धर्मपत्नी एवं प्रतिनिधिसभा सदस्य आरजु राणा, पक्राउ परेका पूर्वगृहमन्त्री एवं कांग्रेस नेता बालकृष्ण खाणकी श्रीमती एवं प्रतिनिधिसभा सदस्य मञ्जु खाणको नाम पोलेका छन् ।

त्यस्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख एवं पूर्वगृहसचिव प्रेम राई, पूर्वगृहमन्त्री रामबहादुर बादलकी श्रीमती नैनकला थापालगायतको समेत नाम पोलिएको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणको थुनछेक बहसअन्तर्गत मंगलबार पीडित पक्षलाई दिइएको तीन दिनको समय सकिएको छ । बुधबारबाट १८ प्रतिवादी पक्षका वकिलहरूले बहस गर्नु हुनेछ । प्रतिवादीका तर्फबाट बहस गर्न एक सयभन्दा बढीले वकालतनामा भर्नुभएको छ ।