जनता टाइम्स

२४ जेष्ठ २०८०, बुधबार १७:३४

७० बर्षे प्रावधान हटेसँगै बामदेव गौतमको प्रतिक्रिया : मेरो सदस्यता एमालेमै छ, बोलाए फर्कन्छु


काठमाडौं, जेठ २४ । नेकपा एमालेका पूर्वबरिष्ठ उपाध्यक्ष बामदेव गौतम एमालेमै फर्कन तयार हुनुभएको छ । एमालेले बिधानबाट ७० बर्षे उमेर हद हटाएसँगै गौतम एमाले फर्कन तयार रहेको बताउनु भएको हो ।

नेकपाको बिभाजन र अदालतले नेकपा एमाले र माओवादी केन्द्र अलग अलग गरेको केही समयपछि एमाले छाडेर एकता महाअभियानका संयोजक बन्नुभएका गौतमले उमेर हद हटेसँगै पार्टीमा फर्कने सन्केत गर्नुभएको हो ।

आज बसेको राष्ट्रिय सभा बैठकपछि पत्रकारहरूसँग कुराकानी गर्दै गौतमले एमालेको निर्णयलाई स्वागत गर्दै अध्यक्ष केपी ओलीले बोलाए पार्टीमै फर्कने बताउनु भयो । ‘७० वर्षे उमेरहद पूरै हट्यो र मलाई बोलाए भने म पुनः एमाले फर्किन्छु,’ गौतमले भन्नुभयो । उहाँले यसअघि आफ्नै निवासमा आउनुभएका अध्यक्ष ओलीलाई ‘७० बर्षे उमेर हद हटाउनोस, म फर्कन्छु’ भन्नुभएको थियो ।

आफूलाई रोक्नकै लागि ७० वर्षे उमेर हद ल्याइएको भन्दै गौतम एमालेको बरिष्ठ उपाध्यक्षबाट राजीनामा दिएर हिडनु भएको थियो । ‘मैले त्यतिबेला नराखौँ भनेर भनेँ । साथीहरू मान्नुभएन, त्यसपछि मैले ममात्रै होइन, तपाईंहरू पनि एकदिन ७० वर्ष पुग्नुहुन्छ भनेर भनेको थिएँ । अहिले त्यो अवस्था आइपुग्यो,” गौतमले भन्नुभयो ।

गौतमले आफूलाई एमालेको असाध्यै माया रहेको पनि बताउनु भयो । ‘केपी कमरेडहरू जेलमा रहँदा मैले नै बनाएको पार्टी हो यो । अहिले पनि मलाई यसको माया छ । मेरो सदस्यता त्यहीँ छ,’ गौतमले भन्नुभयो, एमाले मेरै पार्टीजस्तो लाग्छ ।’