काठमाडौं, जेठ २४ । नेकपा एमालेकी केन्द्रीय सदस्य एवं सांसद सुनिता बरालले आर्थिक वर्ष २०८०÷०८१ को बजेट संशोधन गरेर ल्याउन सुझाव दिनुभएको छ ।
बजेटले स्रोतको गलत आँकलन गरेकाले चालु खर्च पुनरावलोकन गर्न, बजेटको सिलिङ संशोधन गर्न र पुँजीगत खर्च ननाघ्ने गरी संसदमा पुनः बजेट पेस गर्न सांसद बरालले सुझाव दिनुभएको हो ।
आगामी आर्थिक वर्षको बजेटमाथि प्रतिनिधिसभाको आजको छलफलमा सहभागी हुँदै सांसद बरालले भन्नुभयो, ’चालु खर्च पुनरावलोकन गर्न, बजेटको सिलिङ पुनरावलोकन र फेरि बजेट पेस गर्न अर्थमन्त्रीसमक्ष आग्रह गर्दछु ।’
बजेटमा आगामी आर्थिक वर्षमा ६ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य निर्धारण गरिनु खुसीको विषय भए पनि बैंक तथा वित्तीय संस्थाले हाल गरिरहेको कर्जाको अवस्था हेर्दा लक्ष्य हासिल गर्न चुनौती रहेको सांसद बरालको भनाइ थियो । उहाँले ६ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्न बैंक तथा वित्तिय संस्थाले १५ देखि १८ प्रतिशतको कर्जा विस्तार गर्नुपर्नेमा चालु आर्थिक वर्षको हालसम्मको अवधिमा जम्मा ३.५ प्रतिशतमात्र कर्जा विस्तार हुनुले सरकारले लिएको लक्ष्य पूरा नहुने बताउनु भयो ।
बरालले बजेटले शिक्षा क्षेत्रमा पर्याप्त लगानीको ढोका नखोलेको भन्दै यथेष्ट लगानीबिना शैक्षिक गुणस्तर उकास्न नसकिनेमा जोड दिनुभयो । उच्च माध्यमिक तहको शिक्षा अध्ययन गरेका युवालाई स्वदेशमै राख्ने नीति सरकारको हुनुपर्नेमा अहिलेको नीति त्यसतर्फ अग्रसर नभएको बताउनु भयो ।
उहाँले शिक्षा क्षेत्रको बजेट पनि उचित नभएको बताउनु भयो । ’शिक्षा क्षेत्रमा यथेष्ट लगानीबिना शैक्षिकस्तर उकास्न नसकिने कुरा हामी सबैलाई अवगत छ । भएको लगानीसमेत ठीक ठाउँमा भएको छ कि छैन ? प्रभावकारी अनुगमन गर्नुपर्ने प्रणाली विकास गर्न अत्यावश्यक छ,’ बरालले भन्नुभयो, ’शिक्षा मन्त्रालयमा बजेट भएर पुग्दैन विश्वविद्यालयमा लगानी बढाएर विद्यार्थीलाई स्रोतको पहुँचमा पु¥याउनेतर्फ ध्यान दिनु आवश्यक छ । राज्यले उच्च माध्यमिक तहको शिक्षा अध्ययन गरेका विद्यार्थीलाई अब देशमा अनिवार्य सर्तमा राख्ने वातावरण बनाउनुपर्छ । युवालाई देशमै राख्ने नीतिमा सरकारले ध्यान नदिएकोतर्फ ध्यानाकर्षण गराउन चाहन्छु ।’
मुलुकको आर्थिक विकासका लागि पर्यटन क्षेत्रमा लगानी बढाउनुपर्नेमा पनि सांसद बरालले जोड दिनुभयो । नेपाली मौलिकता जोगाएर एकीकृत पर्यटन विकास गर्नुपर्ने पनि उहाँको सुझाव छ । बताइन् । सरकारसँग विदेशबाट पर्यटक भित्र्याउने स्पष्ट योजना नरहेको, राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सका जहाजको प्रभावकारी सञ्चालन गर्नेबारे योजना नरहेको भन्दै उहाँले सरकारले त्यसतर्फ ध्यान दिन आग्रह गर्नुभयो ।













प्रतिक्रिया दिनुहोस्