जनता टाइम्स

२५ जेष्ठ २०८०, बिहीबार १४:२८

नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक देसाई दक्षिण अफ्रिका प्रस्थान


काठमाडौं, २५ जेठ । नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक मोन्टी देसाई दक्षिण अफ्रिका प्रस्थान गर्नुभएको छ । उहाँ एकदिवसीय विश्वकप छनोटका लागि बिहीबार त्यसतर्फ प्रस्थान गर्नुभएको हो । जुन १८ देखि जुलाई ९ सम्म जिम्बाब्वेमा हुने विश्वकप छनोटको तयारी लागि नेपाली टिमले दक्षिण अफ्रिका पुगिसकेको छ ।

१६ जेठमा नेपाली टिम पुगेको थियो भने २२ जेठमा सन्दीप लामिछाने गएका थिए । भिसा प्रक्रियाका कारण मुख्य प्रशिक्षक देसाई आज त्यसतर्फ प्रस्थान गर्नुभएको हो ।

नेपालले दक्षिण अफ्रिकामा नेदरल्यान्ड्स र स्कटल्यान्डसँग दुईवटा तयारी खेल खेल्नेछ । आजै नेपालले स्कटल्यान्डसँग र जुन १० मा नेदरल्यान्ड्ससँग खेल्नेछ । दक्षिण अफ्रिकामा १० दिनको तयारीपछि नेपाली टिम विश्वकप छनोटका लागि जिम्बाब्वे प्रस्थान गर्ने नेपाल क्रिकेट संघ क्यानले जनाएको छ ।