ललितपुर, जेठ २६ । ललितपुर महानगरपालिकाले ३० स्थानमा निशुल्क पार्किङको ब्यवस्था गरेको छ । महानगरका अनुसार १८ फिटभन्दा बढी चौडाइ भएका सडकखण्डमा सडककै एक लाइन पार्किङ गर्न दिइएको छ ।
साँघुरो ठाउँ र नो पार्किङ क्षेत्रमा पार्किङ गर्नेलाई भने जरिवाना तिराउने गरिएको हाछेथूले बताए । ‘साँघुरा सडक, नो पार्किङ लेखिएका ठाउँ, जहाँजहाँ जाम हुन सक्छ, दुर्घटना हुन सक्छ, त्यस्ता ठाउँमा पार्क गरिएको छ भने पाँच सय रुपैयाँ जरिवाना तिराउँछौँ । जथाभावी पार्किङ गर्नुहुन्न भन्ने भावना जगाउन जरिवानाको व्यवस्था गरेका हौँ,’ महानगर प्रहरी प्रमुख सीताराम हाछेथूले भन्नुभयो ।
ललितपुरको मंगलबजार, हःजा, हौगल, टंगाल, नःटोल, पाटनढोका गेटअगाडि र पछाडि, सुन्धारा, पाटन भीमसेन मन्दिरअगाडि, पुल्चोक दमकलअगाडि, जावलाखेल प्रहरी कार्यालयअगाडि, महानगरपालिकाअगाडि, भनिमण्डल, एकान्नकुना खरीबोट, मानभवन, कुमारीपाटी, पाटन अस्पतालअगाडि, कर्मचारी सञ्चय कोषअगाडि पार्किङ गर्न सकिन्छ ।
यसैगरी, महालक्ष्मीस्थानअगाडि, जिल्ला अदालतअगाडि, लगनखेल बसपार्कपूर्व, लगनखेल बसपार्क उत्तरतर्फ, बटुक भैरव, कुपण्डोल, कनिबहाल, एकान्तकुना, सेन्ट मेरिज स्कुल पूर्वतर्फ, करिडोर युएन पार्कनजिकै, सानेपा करिडोरको पार्किङमा निःशुल्क राख्न सकिन्छ ।
यस्तै बल्खु करिडोर, पाटन अस्पताल, भाटभटेनी र सुमेरु अस्पताल, निदान अस्पताल, अल्का अस्पतालको पार्किङमा निःशुल्क राख्न सकिन्छ । चक्रपथबाहिर भने पार्किङको समस्या नभएको महानगरले जनाएको छ ।














प्रतिक्रिया दिनुहोस्