जनता टाइम्स

२६ जेष्ठ २०८०, शुक्रबार १५:०८

‘नक्कली भुटानी शरणार्थी प्रकरणमा टोपबहादुर दोषी भए प्रमुख दोषी प्रचण्ड भन्ने प्रमाणित हुन्छ’


काठमाडौं, जेठ २६ । नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रकरणमा सरकारी वकिलले अभियुक्त बनाएका सांसद तथा नेकपा एमालेका निलम्बित सचिव टोपबहादुर रायमाझीलाई पुर्पक्ष गर्नुपर्ने कुनै आधार नभएको उहाँका पक्षका वकिलहरुले दाबी गरेका छन् ।

शुक्रबार जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा रायमाझीको पक्षाबाट बहस गर्दै पूर्वमहान्यायाधिवक्ता रमेश बडालले नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका भुटानी मानवअधिकारवादी नेता टेकनाथ रिजालको बयानको आधारमा रायमाझीलाई कसुरदार बनाउन निमिल्ने तर्क गर्नुभयो ।

यदि रिजालको बयानलाई आधार मानेर रायमाझीलाई दोषी बनाउने हो भने प्रमुख दोषी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड हुने बडालको जिकिर छ । बहशका क्रममा बडालले भन्नुभयो, ‘यदि त्यही आधारमा मेरो पक्षलाई दोषी बनाउने हो भने प्रमुख दोषी वर्तमान प्रधानमन्त्री प्रचण्ड देखिनु हुन्छ ।’ बडालले प्रधानमन्त्री प्रचण्डको प्रसङ्ग निकालेपछि न्यायाधीश न्यौपानेले हाँस्दै भन्नुभयो, ‘त्यतातिर नजाऔं ।’

न्यायाधीस न्यौपानेको ‘त्यतातिर नजाऔं’ भनेपछि बडालले तर्क गर्नुभयो, ‘श्रीमान्, त्यतातिर जानन मिल्ने भएपछि त मेरो पक्षलाई दोषी बनाउन नै मिल्दैन नि ।’ रिजालले सरकारी वकिललाई दिएको बयानमा पूर्वमन्त्री टोपबहादुर रायमाझीले नक्कली शरणार्थी बनाउने गिरोहसहित आफूलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग उहाँको निवासमै लगेर भेट गराएको बताउनु भएको छ । सो भेटघाटमा प्रचण्डले टोपबहादुरमार्फत सबै काम हुने बताएको र त्यसपछि काम पनि खुरुखुरु भएको तथा आफ्नो रोकिएको सुविधा पनि सुचारु भएको रिजालको बयान थियो ।

रिजालले इजलासमा भन्नुभएको थियो, ‘टोपबहादुर रायमाझीको घरमा शरणार्थीको विषयमा कुराकानी हुँदा कुरा क्लिएर नभएपछि प्रचण्डसँग भेट गराइदिन भनी प्रचण्ड निवासमा लगेका थिए । प्रचण्ड निवासमा म, टोपबहादुर रायमाझी, सानु भण्डारी र केशवप्रसाद दुलाल गएका थियौँ । मैले प्रचण्डसँग भुटानी शरणार्थीको व्यवस्थापन सम्बन्धमा कुराकानी गर्न आएको भनी कुरा गर्दा प्रचण्डले म आज एकदमै व्यस्त छु, टोपबहादुर रायमाझीसँग सबै कुरा गर्नुहोला, सम्बोधन हुनसक्ने भए निजले समाधान गर्नुहुन्छ भनी भन्नुभयो ।’

यही तथ्यका आधारमा बडालले टेकनाथले पोलेकै भरमा टोपबहादुरलाई दोषी ठहर्याउने हो भने प्रमुख दोषी प्रचण्ड हुने जिकिर गर्नुभएको हो ।
बडालले तर रिजालको बयानलाई आधार बनाउन नमिल्ने बताउनु भयो । बडाल रिजालद्वारा लिखित दुईवटा पुस्तक पनि बोकेर आउनु भएको थियो । ती पुस्तकमा रिजालले भुटानको जेलमा चरम यातनाका कारण आफ्नो मानसिक अवस्था ठीक नरहेको र आफ्नो दिमागलाई अरुले नै नियन्त्रण गरेको उल्लेख गरेका छन ।

त्यही कारण रिजालले बयानलाई तथ्य मान्न नहुने बडालको जिकिर थियो । यदि त्यहीबयानलाई तथ्य मान्ने हो भने प्रमुख दोषी प्रचण्ड हुने उनको दाबी छ । बडालले प्रहरीको प्रतिवेदनमा राजनीतिक गन्ध आएको समेत दाबी गर्नुभयो । उहाँले यो प्रकरणको अनुसन्धान गर्ने प्रहरीको पनि दिमाग कन्ट्रोल गरिएको दाबी गर्नुभयो । ‘प्रहरी आफैंले तयार गरेर डायरी दिएको हो । केशव दुलालको बयान शंकास्पद छ’, उहाँले भन्नुभयो, ‘एउटा पोलिटिकल आइडोलोजी भएकाहरुलाई (एमालेका) मात्रै पोलिएको छ । त्यहाँबाट पनि यो बदनियतपूर्ण हो भन्ने थाहा हुन्छ ।’

प्रहरीले केशव दुलालसँग लिएको थप बयानमा ‘थप केही भन्नुछ ?’ भन्ने प्रश्न थपेर एमाले नेतासँग जोडिएका नेताहरुलाई बदनियतपूर्ण तरिकाले पोलेको उहाँको जिकिर छ ।