जनता टाइम्स

१४ भाद्र २०७६, शनिबार १७:४२

प्रधानमन्त्री ओलीको स्वास्थ्यमा देखियो निकै सुधार : यस्तो छ पछिल्लो अपडेट र स्वदेश फिर्ताको तालिका


काठमाडौं, भदौ १४ । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य परीक्षण निकै सुधारउन्मुख देखिएको छ । गत भदौ ६ गतेदेखि सिंगापुरमा मृगौलाको उपचारमा रहनुभएका प्रधानमन्त्री ओलीको अहिलेसम्मको उपचार बिधि निकै फलदायी बनेको हो ।

भदौ ५ गते सिंगापुर जानुभएका प्रधानमन्त्री ओलीको भदौं ६ गतेबाटै प्लाज्मा फेरेसिस बिधिबाट मृगौलाको उपचार सुरु गरिएको थियो । प्रधानमन्त्री ओलीको आजसम्म पाँच पटक प्लाज्मा फेरेसिस प्रक्रियाबाट गरिएको छ । प्रधानमन्त्री ओलीको स्वास्थ्यमा उल्लेख्य सुधार देखिएपछि उहाँसँगै सिंगापुर जानुभएकी निजी चिकित्सक डा. दिब्या शाह स्वदेश फर्किसक्नु भएको छ ।

यसैबीच ऊर्जामन्त्री वर्षमान पुन आज सिंगापुरस्थित उपचाररत अस्पतालमै पुगेर प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ । मन्त्री पुनका अनुसार उपचाररत प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने अहिलेसम्मको उपचारबाट उल्लेख्य सुधार भएको छ । आज सिंगापुर पुगेर स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएका मन्त्री पुनले प्रधानमन्त्री ओली सोमबार र बुधवारको जाँचपछि नेपाल फर्कने जानकारी दिनुभयो । उहाँको सोमवार र बुधवार प्लाज्मा फेरेसिर बिधिबाट उपचार हुनेछ ।

सात पटक प्लाज्मा फेरेसिस गर्नुपर्ने जानकारी यसअघि नै चिकित्सकहरुले गराइसकेका छन । ‘आज सिगापुरमा प्रधानमन्त्रीज्यूको स्वास्थ्य उपचारको जानकारी लिने मौका मिल्यो,’ मन्त्री पुनले भन्नुभयो, ‘स्वास्थ्य अवस्था सामान्य रहेको छ, सोमबार र बुधवारको जाँच पश्चात नेपाल फर्कने खबरले असाध्य खुशी लाग्यो । थप स्वास्थ्य लाभको कामना ।’ गत भदौं ५ गते सिंगापुर जानुभएका प्रधानमन्त्री ओलीको त्यहाँस्थित नेसनल युनिभर्सिटी अस्पतालमा उपचार भइरहेको छ ।