जनता टाइम्स

२८ जेष्ठ २०८०, आईतवार १९:०४

गेटामा विश्वविद्यालय बनाउने निर्णय नगरेर सरकारले सुदुरपश्चिमेलीलाई धोका दियो : सांसद तामाङ


काठमाडौं, जेठ २८ । नेकपा एमालेका सांसद तारा लामा तामाङले सरकारले ल्याएको बजेट दिशाहीन भएको आरोप लगाउनु भएको छ । प्रतिनिधिसभाको बैठकमा आइतबार बोल्दै एमाले सांसद तामाङले सरकारले ल्याएको बजेटले खस्किंदै गएको अर्थतन्त्रलाई उकास्न सहयोग नपुग्ने बताउनु भयो ।

‘सरकारले ल्याएको बजेट किसान र श्रमजीवीलाई हेर्ने र समाजवादतिर जाने खालको छैन । यो बजेटबाट केही आशा गर्न सकिदैन र यसमा समर्थन समेत जनाउन सकिदैन । यो बजेट दूई सरकारले ल्याएको जस्तो देखिएको छ,’ सांसद लामाको भनाई थियो ।

सांसद तामाङले कैलालीको गेटामा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय संचालन हुनुपर्ने धारणा राख्नुभयो । राष्ट्रपतिले बाचन गरेको र प्रधानमन्त्रीले बोलेको विषयभन्दा फरक निर्णय हुँदा सुदुरपश्चिमेलीहरु आन्दोलित हुनुपरेको भन्दै यसमा उहाँले सरकारको ध्यानमकर्षणसमेत गराउनु भयो ।

५ सय करोडको लगानीमा सुरु भएको गेटामा विश्वविद्यालय बनाउन छोडेर एक सय शैय्याको अस्पताल बनाउने षडयन्त्र भएको भन्दै उहाँले त्यसो नगर्न सरकारलाई चेतावनी दिनुभयो । सांसद तामाङले कञ्चनपुरमा वर्षोदेखि रहेको आरक्ष पीडितको समस्या समाधान गर्नेमा समेत सरकारले ध्यान नदिएको र बजेटमा कुनै विषय उल्लेख नभएको आरोप लगाउनु भयो ।