काठमाडौं, जेठ ३२ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल आफ्नो पार्टी स्वतन्त्र हैसियतमा चल्न नसक्ने निश्कर्षमा पुग्नुभएको छ ।
पार्टी नचल्ने निश्कर्षमा पुगेकै कारण माधवले पार्टीको अधिकांश नेताहरुको असहमतिका बावजुद नेकपा माओवादी केन्द्रको नेतृत्वमा समाजवादी मोर्चा बनाउने भन्दै सो पार्टीमा बिलय गराउने निर्णय लिनुभएको छ ।
पछिल्लो समय पार्टीका नेताहरु नेकपा एसको भविश्य सकिएको घोषणासहित धमाधम नेकपा एमालेमै फर्कन थालेपछि माधव माओवादी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई नेता मानेर पार्टी बिलय गराउने योजनासहित मोर्चातिर लाग्नुभएको हो ।
‘माधव कमरेड अव पार्टी चल्दैन, जनताले अस्वीकृत गरिसकेको अवस्था छ भनेर माओवादीमा बिलय गराउने योजनासहित समाजवादी मोर्चाको निर्णयमा पुग्नुभएको हो, मोर्चा भने पनि त्यो माओवादीमा बिलय नै हो,’ नेकपा एसकै एक पदाधिकारीले जनताटाइम्स डटकमसँग भने । उनका अनुसार आफूसँग रहेका १० जना सांसदमध्ये अधिकांश कुनै पनि बेला एमालेमा फर्कने भन्दै नेपालले छिटोसछटो मोर्चा बनाउने योजना बनाउनु भएको छ ।
प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको ग्रिन सिंग्नलसँगै माधवले मोर्चातिर आँखा लगाउनु भएको हो । माधव र प्रचण्डको योजनाअनुसार समाजवादी मोर्चा घोषणाको संघारमा पुगेको छ ।
माओवादी र नेकपा एससहित चार दल मिलाएर शुक्रबार समाजवादी मोर्चा घोषणा गर्ने तयारी रहेको छ । मोर्चामा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहित उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी र नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको पार्टी सहभागी हुन लागेको हो ।
समाजवादी मोर्चाबारे छलफल गर्न नेकपा एसले शुक्रबार बिहान पदाधिकारी र सचिवालयको बैठक डाकेको छ । प्रतिनिधिसभामा माओवादीको ३२, जसपाको १२ र नेकपा एसको १० सीट रहेको छ । माओवादीको ३२ सीटमा डा. बाबुराम भट्टराई नेतृत्वको पार्टी नेसपाका दुई सांसद रहेका छन ।













प्रतिक्रिया दिनुहोस्