जनता टाइम्स

३ असार २०८०, आईतवार १५:५२

ओलीसँग भेटेपछि उत्साहित हुँदै बामदेवले भने–आगामी चुनावमा एमालेको भोट ६० लाख कटाउने गरी काम गर्ने हो


काठमाडौं, असार ३ । नेकपा एकता अभियानका संयोजक बामदेव गौतम नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगको छलफलपछि निकै उत्साहित देखिनुभएको छ ।

लामो समयपछि आज केन्द्रीय कार्यालय च्यासल पुगेर एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटबार्ता गरेपछि एमालेका पूर्वबरिष्ठ उपाध्यक्षसमेत रहनुभएका गौतम निकै उत्साहित देखिनु भएको हो । गौतमले च्यासलस्थित पार्टी कार्यालयमा अध्यक्ष ओलीसँग एक घन्टा लामो छलफल गर्नुभएको हो । छलफलपछि उहाँले आफू पहिल्यै एमालेमा सक्रिय रहन इच्छुक भए पनि समूहको व्यवस्थापन नटुंगिएकाले ढिलाइ भएको बताउनु भयो ।

‘म पहिल्यै एमालेमा आएर सक्रिय हुन खोजेको हो, तर साथीहरुको व्यवस्थापन कसरी गर्ने भन्नेमा कुरा मिलिसकेको छैन, अहिले चुनौतीको बेला छ, आगामी चुनावमा ६० लाख भोट कटाउन ेगरी काम गर्नुपर्छ,’ भेटपछि गौतमले भन्नुभयो । उहाँले आफू पार्टीमा सलाम गर्न, सलाम खाएर बस्न आउने नभइ खटेर काम गर्न आउने पनि प्रष्ट पार्नुभयो ।

भेटमा अध्यक्ष ओलीले गौतमलाई पार्टीमा सक्रिय भएर लाग्न आग्रह गर्नुभएको छ । एमालेमा ७० वर्षे उमेरहद फुकाउने निर्णय वामदेवकै व्यवस्थानका लागि भनेर पार्टी नेताहरुले भनिसकेका छन । बिधानमा रहेको ७० बर्षे प्रावधान हटेपछि गौतम एमाले फर्कने तयारीमा लाग्नुभएको थियो । सोहीअनुसार आज अध्यक्ष ओलीसँग पार्टी कार्यालयमै पुगेर भेटनु भएको हो । गौतम पत्नी तुलसा थापा गौतम निरन्तर रुपमा एमाले भातृ संगठन अनेमसंघमा सक्रिय रुपमा लागिरहनु भएको छ ।