जनता टाइम्स

३ असार २०८०, आईतवार १६:४०

बजेटले गम्भीर संकटमा पर्यो नेकपा एस, माधवले भोट हाले पनि अरु सांसदले नहाल्ने उपाध्यक्ष पाण्डेको घोषणा


काठमाडौं, असार ३ । नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले यथास्थितिमा बजेट पारित गर्न नदिने अडान पुनः दोहोर्याउनु भएको छ ।
गाउँपालिका राष्ट्रिय महासंघले आज बजेटका बारेमा गरेको छलफल कार्यक्रममा बोल्दै उपाध्यक्ष पाण्डेले यस्तो बटमलाइन सुनाउनु भएको हो ।

उहाँले बजेट यथास्थितिमा पारित गर्ने भए आफ्नो पार्टी र सांसदहरू त्यसमा समर्थन गर्न नसक्ने प्रष्ट पार्नुभयो । पार्टी अध्यक्ष माधवकुमार नेपाललाई बजेट यथास्थितिमा पारित गर्न नदिने भनिसकेको भन्दै पाण्डेले अहिलेकै अवस्थामा बजेटमा आफ्नो समर्थन नरहने बताउनु भयो ।

‘यही अवस्थामा यो बजेट पास हुँदैन । मैले हाम्रो पार्टी अध्यक्ष माधवकुमार नेपाललाई पनि सँगै लगेर भनेको छु, भोट हाले तपाईं एक्लै हाल्नुस, हामी हाल्दैनौं,’ पाण्डेले भन्नुभयो । उपाध्यक्ष पाण्डेले केन्द्र सरकार राष्ट्रिय गौरवका आयोजनामा केन्द्रित भएको भए बजेटमा यस किसिमका समस्या नै नआउने बताउनु भयो ।

‘सरकारले हामीसँग पैसा छैन, पुँजीगत खर्च कम छ, साथी हो तपाईंहरु चुप लाग्नुस, राष्ट्रिय गौरवका आयोजनामा पैसा हाल्ने उत्तर दक्षिण जोड्ने केही महत्वपूर्ण आयोजनाहरूलाई पैसा हाल्ने, राष्ट्रिय खानेपानी आयोजना, पुलहरूमा पैसा हाल्ने अरुमा पैसा प्रयोग नगर्ने भनेर सुरू गरेको भए हामीले दुई दिनमा संसदमा छलफल सक्थ्यौं’, पाण्डेले भन्नुभयो ।