जनता टाइम्स

१५ भाद्र २०७६, आईतवार १८:२८

बुधवार पूरा हुँदै प्रधानमन्त्री ओलीको मृगौलाको उपचार, यस्तो छ पछिल्लो स्वास्थ्य अपडेट


काठमाडौं, भदौ १५ । स्वास्थ्य उपचारका लागि सिंगापुरमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली यसै हप्ता स्वदेश फर्कने हुनुभएको छ । आगामी बुधवार मृगौलाको उपचार सकिएलगत्तै रिपोर्ट आएपछि प्रधानमन्त्री ओली स्वदेश फर्कने कार्यक्रम तय भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा. कुन्दन अर्यालले बताउनु भयो ।

चिकित्सकको भनाई उधृत गर्दै अर्यालले दिनुभएका जानकारीअनुसार प्रधानमन्त्री ओलीको स्वास्थ्य जाँच बुधबार पूरा हुनेछ । बुधवार उपचार सकिएपछि बिहीबारसम्ममा रिपोर्ट आए प्रधानमन्त्री शुक्रबार स्वदेश फिर्ता हुनुहुनेछ । रिपोर्ट आउन केही दिन ढिला भए केही समय लम्बिनेछ । प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार अर्यालका अनुसार प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उपचार निकै प्रभावकारी देखिएको छ ।

‘सम्माननीय प्रमको प्लाजा फेरेसिस प्रकृयाबाट मृगौलासम्बन्धी एन्टीबडीलाई निराकरण गर्ने उपचार जारी छ । प्रधानमन्त्रीसँगै रहनुभएका उहाँका निजी चिकित्सक डा. दिलीप शर्माका अनुसार भोलि सोमबार छैटौं र बुधबार सातौं चरणको प्रकृया सम्पन्न भएसँगै उपचार पूरा हुनेछ । प्रमको स्वास्थ्य अवस्था सामान्य छ,’ अर्यालले भन्नुभयो । प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था बुझ्न सिंगापुरै पुग्नुभएका ऊर्जामन्त्री वर्षमान पुनले पनि प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिनुभएको छ ।

१२ बर्षअघि मृगौला प्रत्यारोपन गर्नुभएका प्रधानमन्त्री ओली मृगौलाको नियमित परीक्षण र उपचारका लागि यही भदौ ५ गते सिंगापुर जानुभएको थियो । त्यसअघि साउन १८ गतेदेखि २७ गतेसम्म उपचार गराउनु भएका थियो । अव बुधवारबाट उहाँको उपचार सकिने छ ।