काठमाडौं, असार ५ । नेपाल समाजवादी पार्टीका सहअध्यक्ष तथा वागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री गंगानारायण श्रेष्ठले आफूहरुलाई थाहा नदिइकनै समाजवादी मोर्चा घोषणा गरिएको बताउनुभएको छ ।
मंगलवार न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै सहअध्यक्ष श्रेष्ठले नेपाल समाजवादी पार्टीलाई थाहा नै नदिइकन समाजवादी मोर्चा नेपालको घोषणा भएको बताउनुभएको हो ।
मोर्चा निर्माणको लागि विगतमा आफ्नो पार्टीसँग पनि छलफल चलेको भएपनि निर्णायक बेलामा आफूहरुलाई खबर नभएको बताउनुभएको हो । उहाँले केही दिनअघि मात्रै प्रधानमन्त्री पुष्पकमल दाहाल र नेसपा अध्यक्ष डा. बाबुराम भट्टराईका बीचमा तत्काल समाजवादी मोर्चा गठन नहुने र गर्दा सल्लाहमै गर्ने सहमति भएपनि अचानक घोषणा हुनुले आश्चर्य लागेको बताउनु भयो ।
उहाँले भन्नुभयो – ‘हामीलाई थाहा नै छैन । विगतमा यो विषयमा छलफल चलेको हो । यो बीचमा हामीसँग खासै उहाँहरुले सम्पर्क गर्नुभएन । चारवटा दलहरुको बिचमा गृहकार्य चलिराखेको छ भन्नेखालको अनौपचारिक तवरबाट हामीले खबरहरु प्राप्त गरी नै राखेका थियौँ । र पछिल्लोचोटी अब मोर्चा घोषणा नै हुन्छ भन्नेखालको बजार हल्ला भइसकेपछि म आफू स्वयंले पनि डा. बाबुराम भट्टराईलाई के हो त यो हाम्रो आफ्नो कन्सर्नपनि जनताको बीचमा हामीले त राख्नुपर्छ । त्यसो हुनाले एकचोटी प्रधानमन्त्रीज्युसँग भेट्दा राम्रो होला भनेर मैले नि सुझाव गरेको थिएँ । उहाँले पनि त्यो कोसिस गरिराख्नुभएको रहेछ । प्रधानमन्त्रीसँग डा. बाबुराम भट्टराईको भेट भयो । भेट पछि सबै कुरा सार्वजनिक भएको छ । उहाँले भन्नुभएको कुरा होइन अहिले तत्काल त्यो गठन नहुने भयो । जे गरिन्छ हामी सल्लाहबाटै गरिन्छ भनेर प्रधानमन्त्रीज्यूले भन्नुभयो । त्यसकारणले यो शंका, आशंका, बजारहल्लाको पछाडी लाग्नु हुँदैन है भनेर व्यक्तिगत रुपमा म सँग पनि भन्नुभएको हो । बाहिर पनि उहाँले त्यही ढंगको सन्देश दिनुभयो । फेरि एकाएक दुई दिन पनि नबित्दाखेरी नै जुन मोर्चा घोषणा भइराखेको छ, म आफैँलाई पनि अलिकति आश्चर्य त लागेको छ । खैर जे होस् यो विषयमा अहिले धेरै टिकाटिप्पणी गर्नुभन्दा पनि उहाँहरुले समाजवादी मोर्चा बनाउनुभएको छ । राम्रो सँग चलाउनुहोस् । त्यसमा हाम्रो शुभकामना छ । बिरोध केही छैन । तर बजार हल्ला चलेको जस्तै साँच्चै कोही व्यक्ति कसैले फलानो बसे म बस्दिनँ । फलानो पार्टी रहे हाम्रो पार्टी रहँदैन भनेर यदी भनेको हो भने यो मोर्चाले सार्थकता त्यति पाउलाजस्तो मलाई लाग्दैन ।’
सहअध्यक्ष श्रेष्ठले समाजवादी मोर्चा नेपालले देशलाई समाजवादी बनाउन कामयावि हुन्छ अथवा सत्ता समिकरणमा मात्रै रुमल्लिन्छ भन्ने प्रश्न उब्जिएको बताउनु भयो । उहाँले साचो अर्थमा समाजवाद निर्माण गर्ने उद्देश्यले मोर्चा बनेको भए आफ्नो पार्टीपनि त्यसमा सहभागि हुने बताउनु भयो । सत्ता समिकरणका लागि अंक गणितिय दाउपेचमा मोर्चा बनेको हो भने मोर्चा बारे सोच्नुपर्ने बताउनु भयो । यद्यपी समाजवादी मोर्चालाई अहिले नै शंका गर्नु नहुने उहाँको भनाई छ । उहाँले सञ्चारमाध्यममा आएजस्तो उपेन्द्र यादवले डा. बाबुराम भट्टराईलाई मोर्चामा आउन नदिएको हो भने त्यस्तो साँघुरो सोचाइबाट समाजवाद निर्माण हुन नसक्ने बताउनु भयो ।
उहाँले भन्नुभयो – ‘हामीले दुई वर्ष अगाडी नै नेपालमा एउटा समाजवादी मोर्चा आवश्यक छ भनेर त्यसको आवश्यकता र औचित्य माथि सार्वजनिक रुपमा नै हामीले बहश प्रारम्भ गरेका थियौँ । त्यो बहस यहाँसम्म आइपुग्दाखेरी अहिले समाजवादी मोर्चा जसरी निर्माण भएको छ, त्यो बहशले सार्थकता पायो या त्यो बहस कतै डिरेल भयो भन्ने ढंगको दुईवटा प्रश्नहरु अगाडी आएको देखिन्छ । हिजो जुन समाजवादी मोर्चा घोषणा भएको छ, त्यो समाजवादी मोर्चा हाम्रो नेपालको संविधानको प्रस्तावनामा नेपाल समाजवादउन्मुख रहने भन्ने जुन लेखिएको छ । नेपाललाई समाजवादी बनाउनको निम्ति त्यो मोर्चा कामयावि हुन्छ कि या अहिलेकै सत्ता समिकरणमा त्यो मोर्चा रुमल्लिन्छ, यो हामीले अलिकति प्रतिक्षा गर्नुछ । अलिकति धैर्यता गरेर हेर्नुछ । त्यो हेरिसकेपछि हामी के गर्छौं ? निर्णय गर्छौं । साँच्चै समाजवाद निर्माण गर्ने उद्देश्यले बनेको छ भने उहाँहरुले नबोलाए पनि हामी सहभागि हुन तयार छौँ । अरु पनि तयार हुन्छन् । तर उही सत्ता समिकरणका लागि मात्रै हो भने, यसलाई अंक गणितिय हिसावले मात्रै हेरिएको या त्यो ढंगले दाउपेच गर्न खोजिएको हो भने त हेरौँ । अहिले नै फेरी धेरै शंका नगरौँ । यदि उपेन्द्रजीले नै बाबुरामजीलाई ल्याउन हुँदैन । या जनता समाजवादी पार्टीले नेपाल समाजवादी पार्टीलाई यो मोर्चामा ल्याउनु हुँदैन भनेको रहेछ भने, र नल्याइएको हो रहेछ भने त्यो त कसरी समाजवादी मोर्चा हुन्छ ? त्यति साँघुरो सोचाइबाट एउटा बृहत्तर, उदात्त ढंगको समाजवाद कसरी निर्माण हुन्छ ? यो प्रश्न त उठ्छ ।’
सहअध्यक्ष श्रेष्ठले नेपाल समाजवादी पार्टी मोर्चामा सहभागि नहुनुले माओवादी केन्द्रसँगको एकता प्रक्रियामा असर नपार्ने बताउनु भयो । उहाँले राजनीतिक एजेण्डा, मुद्दा, विचारका आधारमा दुई पार्टीको बीचमा एकता हुने उल्लेख गर्नुभयो । समाजवादी मोर्चामा सँगै नभएका कारण प्रधानमन्त्री दाहाल र बाबुरामको सम्बन्ध नबिग्रिएको उहाँको भनाई छ ।
उहाँले भन्नुभयो – ‘त्यसले खासै असर गर्दैन । मुख्यकुरा व्यक्तिको सम्बन्ध होइन । मुख्यकुरा विचारको कुरा हो नि । नेपाल समाजवादी पार्टीले बोकेको विचार, सिद्धान्त र राजनीतिक मुद्दा र माओवादी केन्द्रले बोकेको विचार, सिद्धान्त र राजनीतिक मुद्दाका बीचमा एउटा साम्यता भएको कारणले गर्दाखेरी दुईवटा पार्टीको बीचमा एकताको कुरा चलेको हो । प्रचण्डले बाबुरामको मुख हेरेर या बाबुरामले प्रचण्डको मुख हेरेर एकता प्रक्रियाको कुरा त चलेको होइन नि । त्यसमा विचारकै कुरा छ, राजनीतिक एजेण्डाकै कुरा छ । त्यसकारण यि दुईवटा पार्टीको बीचमा राजनीतिक एजेण्डा, मुद्दा, बिचारको बिचमा सापेक्षिक रुपमा जुन समानता छ त्यो समानताको कारणले एकता गरौँ भन्ने हो । त्यसले गर्दा नेताहरुको सम्बन्धले यत्रो वैचारिक कुरालाई नै, राजनीतिक मुद्दालाई नै यसले तलमाथि पार्छ जस्तो मलाई लाग्दैन ।’
उहाँले नेकपा(माओवादी केन्द्र)सँग नेसपाको एकता प्रक्रिया अगाडी बढिसकेको पनि बताउनु भयो । नेसपाले एकताको आधारपत्र माओवादी केन्द्रलाई बुझाइसकेको र माओवादी केन्द्रको औपचारिक जवाफ कुरेको उहाँले बताउनु भयो ।













प्रतिक्रिया दिनुहोस्