काठमाडौं, असार १३ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकार लगभग शतप्रतिशतको समर्थनबाट झरेर सामान्य बहुमतमा खुम्चिन पुगेको छ ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको मागअनुसार प्रतिनिधिसभामा आज पहिलो पटक भएको मत बिभाजनले यो तथ्य खोलेको हो । एमालेको माग अनुसार प्रतिनिधिसभामा आज विनियोजन विधेयक (बजेट)माथि मत विभाजनबाट पारित गर्दा सामान्य बहुमत मात्रै देखिएको हो । गत २०७९ पुस १० गते नेकपा एमालेसहितका दलहरुको समर्थनमा बनेको प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारले पुस २६ गते पहिलो पटक विश्वासको मत लिएको थियो ।
बिश्वासको मत लिँदा २ सय ७५ सदस्यीय प्रतिनिधिसभा उपस्थित २७० जनामध्ये विश्वासको मतको पक्षमा २ सय ६८ मत परेको थियो भने विपक्षमा २ मत परेको थियो । प्रधानमन्त्री दाहालको सरकारलाई नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमोर्चाका २ सांसदहरुले विपक्षमा मत दिएका थिए । त्यस समयमा २ सय ७० मत खसेको थियो ।
प्रधानमन्त्री दाहालले चैत ६ गते प्रतिनिधिसभाबाट दोस्रो पटक विश्वासको मत लिँदा १ सय ७२ मा खुम्चिएको थियो । एमाले र राप्रपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि विश्वासको मत लिँदा त्यो संख्या घटेर १ सय ७२ पुगेको हो । सो दिन विपक्षमा ८९ मत परेको थियो भने नेमकिपा तटस्थ बसेको थियो ।
फागुन २५ गते भएको राष्ट्रपति निर्वाचनमा पूर्व सहमतिअनुसार आफ्नो उम्मेदवारलाई मत नदिएको भन्दै एमालेले समर्थन फिर्ता लिएको थियो भने राप्रपाले पनि पुस १० गते भएको सहमति कार्यान्वयन भएको भन्दै बाहिरिएको थियो ।
प्रधानमन्त्री दाहाललाई कांग्रेस,माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी,जनमत पार्टी,राष्ट्रिय जनमोर्चा लगायतले यसपटक विश्वासको मत दिएका थिए । प्रतिनिधि सभामा प्रत्यक्ष र समानुपातिक गरी २७५ सांसद रहेकामा २६२ जना सांसद उपस्थित रहेका थिए ।

प्रतिनिधिसभाको आजको बैठकमा भएको विनियोजन विधेयक पारित गर्ने क्रममा एमालेका सचेतक महेश बर्तौलाले बजेटमाथि मत विभाजन मागेपछि सोहीअनुसार निर्णय भएको हो । आजको बैठकमा २५५ जना उपस्थित रहेकोमा बजेटको पक्षमा १ सय ४७ र विपक्षमा १ सय ८ मत परेको छ । सत्तारुढ नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चा र स्वतन्त्र सांसदले पक्षमा मतदान गरेका थिए भने त्यसैगरी विपक्षमा एमाले, रास्वपा, राप्रपा, नेमकिपासहितका विपक्षमा मतदान गरेका थिए ।
प्रतिनिधिसभामा पहिलो पटक मत विभाजनमार्फत बजेट अनुमोदन गरेको हो । बजेट अनुमोदनपछि प्रतिनिधिसभाबाट बाहिरिएका प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारमाथि संसदको विश्वास घटेको बताउनु भयो । ओलीले ९९ प्रतिशत समर्थन रहेको सरकारको समर्थन घटेर ५३ प्रतिशत बनेको तथ्य राख्नुभयो ।
’सरकारमाथिको विश्वासमा पहिले ९९.९९ प्रतिशत थियो । अहिले घट्यो, ५३ प्रतिशतमा घट्यो । के भन्दा के हुनुपर्यो ?’ ओलीले प्रश्न गर्नुभयो । प्रधानमन्त्री दाहालकै कारण यो अवस्था आएको हो । दाहालले हरेकलाई धोका दिने र छक्याउने नीति लिएको कारण सरकार सामान्य बहुमतको अवस्थामा पुगेको हो । अव १० मत कम भएको अवस्थामा सरकार नै ढल्ने अवस्था रहेको छ ।













प्रतिक्रिया दिनुहोस्