जनता टाइम्स

१६ भाद्र २०७६, सोमबार १३:३६

कांग्रेस बैठकमा रवि लामिछाने छाएपछि…


काठमाडौं, भदौ १६ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति बैठकसञ्चारकर्मी रवि लामिछाने केन्द्रित बनेको छ । हिजो बसेको कांग्रेस बैठकमा तय गरिएको एजेण्डालाई नै माथ गर्ने गरी रवि लामिछानेको प्रसंगले चर्चा पाएको हो ।

सहभागी एक नेताका अनुसार बैठकमा झण्डै पचास प्रतिशत समय रविकै चर्चाले लियो । काँग्रेस केन्द्रीय कार्यसमितिको आइतबारको बैठकमा रवि लामिछाने प्रकरणका विभिन्न पक्षमा नेताहरुले आआफ्ना धारणा राखेर समय खर्च गरेको ती नेताले जनताटाइम्सलाई बताए । बैठकमा गगन थापासहितका केही नेताहरुले प्रतिपक्ष दलको भूमिका निर्वाह गर्न नसकेका कारण लामिछाने प्रकरणमा हजारौं नागरिक सडकमा उत्रिएको धारणा राखे । केहीले भने कांग्रेसकै कार्यकर्तासमेत रवि लामिछानेको प्रदर्शनमा सहभागि भएको भन्दै नीति प्रष्ट हुनुपर्ने बताए ।

बैठकमा केहीले पूर्वराजावादीहरुको संलग्नतामा धेरै जनता प्रदर्शनमा उत्रिएको धारणा राखे । केही केन्द्रीय सदस्यले भने सरकारले राम्रो काम नगर्दा जनतामा देखिएको निराशाको रुपमा लामिछाने प्रकरणलाई बुझ्नु पर्ने जिकिर गरे । बैठकमा धारणा राख्नेहरु गगन थापा, महेश आचार्य, मिनेन्द्र रिजाल, प्रदीप गिरी, मीनबहादुर विश्वकर्मा, चन्द्र भण्डारी, अर्जुन जोशी, रमेश रिजाल, बालकृष्ण पाण्डेयलगायतका नेताहरु सवैले आफ्नो धारणा राख्ने क्रममा रवि लामिछानेको प्रसंग जोडेका थिए ।

बैठकमा युवा नेता गगन थापाले नेपाली काँग्रेसले प्रतिपक्षको भूमिका निर्वाह गर्न नसक्दा जनताहरु लामिछानेका पछि लागेको आफ्नो निश्कर्ष सुनाउनु भएको थियो । रवि लामिछाने प्रकरणमा जनता देखिनु सरकारको बिरुद्धमा मात्र नभएर जनता प्रतिपक्षसँग पनि असन्तुष्ट रहेको थापाको भनाई थियो ।

अर्का केन्द्रीय सदस्य महेश आचार्यले जनताको मुद्दामा केन्द्रित हुन नसक्दा लामिछानेको पक्षमा जनता लागेको बताउनु भयो । आचार्यले रवि प्रकरणबाट पाठ सिकेर जनताको मुद्दामा केन्द्रित हुनुपर्ने आफ्नो निश्कर्ष पनि सुनाउनु भयो ।
यस्तै प्रदीप गिरीले नेतृत्वको स्वार्थले जनतामा निराशा छाएको भन्दै रवि प्रकरणलाई जोडनुभएको थियो । त्यसो त बैठकमा आफ्नो धारणा राख्ने सवैजसो नेताले रविको प्रसंग जोडेका थिए ।