जनता टाइम्स

१८ असार २०८०, सोमबार १७:३४

लुम्बिनीमा एमाले फैलाउने यस्ता छन पद्माका योजना


रुपन्देही, असार १८ । नेकपा एमालेकी सचिव एवं लुम्बिनी प्रदेश इञ्चार्ज पद्माकुमारी अर्याल तीन सातादेखि कार्यक्षत्र लुम्बिनी प्रदेशका बिभिन्न जिल्लामा पुगेर एमालेलाई पार्टी निर्माण अभियान चलाउनु भएको छ ।

केन्द्रीय कमिटी र सचिवालय बैठकले जिम्मेवारी तोकेसँगै जेठ २९ बाट लुम्निी प्रदेशमा आउनुभएकी सचिव अर्यालले पहिलो चरणमा प्रदेश कमिटी बैठकसहित जिल्ला कमिटी बैठकसहित जनसंगठन र प्रचारसँग सम्बन्धित कामको योजना बनाउन चरणवद्ध रुपमा छलफल गरिरहनु भएको छ ।

यसक्रममा लुम्बिनी प्रदेश समितिसहित बैठक सम्पन्न भइसकेको छ भने गुल्मीबाहेक ११ वटै जिल्ला कमिटीको बैठक सम्पन्न भएको छ । यसबीचमा सचिव अर्याल रुपन्देहीसहित कपिलबस्तु, पाल्पा, अर्घाखाँची, दाङ, बाँके, बर्दिया, प्यूठान, रुकुम, रोल्पा र नवलपरासी जिल्लामा पुगेर जिल्ला कमिटी बैठक सम्पन्न गरी समस्या पहिचान र समाधानका योजना बनाउनु भएको हो । बैठकले आधारभूत तहमा रहेका कार्यकर्तादेखि नेतासम्मको अवस्थाबारे जानकारीसहित हालसम्म काममा देखिएको त्रुटी पहिल्याउने काम गरेको छ ।

‘जनता र हामीबीच कँही न कँही तालमेल मिलेको देखिएन भन्ने साझा निश्कर्षका साथ अव कार्यशैली बदलेर लुम्बिनीका सवै जिल्ला र पालिकामा नेकपा एमालेलाई एकल बहुमतको शक्ति बनाउने गरी काम गर्ने अठोट सवै जिल्ला कमिटीका बैठकमा आएको छ,’ जनताटाइम्स डटकमसँग सचिव अर्यालले भन्नुभयो । उहाँले यसबीचमा नेता तहमै समस्या रहेको तथ्य पनि पाइएको बताउनु भयो ।

‘नेता नै काममा हेलचेक्र्याईं गर्नै, जनतामा कहिल्यै नजाने माथिमाथि नेताको घर धाएर नेता बनिरहने प्रबृत्ति पनि पाइयो, सवैजसो जिल्ला कमिटी बैठकमा यो कुरा उठेको छ, अव त्यसरी प्रदेश, जिल्ला र पालिकामा नेता बनिरहन सकिदैन भन्ने सन्देश स्थापित गरिएको छ,’ अर्यालको भनाई छ ।

सचिव अर्यालले मिशन ग्रासरुटले औल्याएको समस्या समाधान गर्नेतिर पनि ध्यान दिइएको बताउनु भयो । ‘समस्याहरु छन, कार्यशैलीगतदेखि अन्य समस्या पनि छन तर समाधान गर्न नसकिने खालको छैन, हामी पहिलो चरणमा एमालेका नेतादेखि कार्यकर्तासम्मको मनोवल उकासेर काममा दृढताका साथ खटिने गरी योजना बनाइरहेका छौं, समस्याका थप पहिचान पनि भइरहेका छन,’ अर्यालले भन्नुभयो ।

उहाँले नेकपा एमाले नेतृत्वको सरकारले राष्ट्र र जनताको पक्षमा गरेको राम्रा कामसमेत तलसम्म पुर्याउन नसकेको र सामाजिक सञ्जालबाट फैलाइएको अफवाहलाई चिर्ने काम पनि हुन नसकेको भन्दै अवको पार्टी काम त्यस दिशातर्फ केन्द्रित गर्ने जानकारी पनि दिनुभयो ।

एमाले लुम्बिनी प्रदेशका प्रचार प्रमुख डिआर घिमिरेका अनुसार सचिव अर्याल कार्यक्षेत्रमै बसेर प्रदेश अध्यक्ष राधाकृष्ण कँडेलसहितको टीम लिएर हरेक जिल्ला र पालिका तहसम्म समस्या पहिचान र सामाधानको खोजीमा लाग्नुभएको छ । घिमिरेका अनुसार भारी बर्षा र पहिरोका कारण गुल्मी जिल्ल कमिटीको बैठक स्थगित भएको छ । लुम्बिनी प्रदेशमा प्रचारको संयोजन गर्ने जिम्मेवारीसमेत पाउनु भएका गुल्मी जिल्ला इञ्चार्ज एमाले पोलिटब्यूरो सदस्य सूर्य थापा बैठकका लागि जिल्ला पुग्नु अगावै बाढी र पहिरोका कारण सवै उपस्थित हुन नसक्ने अवस्था आएकोले गुल्मीको बैठक स्थगित भएको प्रमुख घिमिरेले बताउनु भयो ।

त्यसो त लुम्बिनीमा पनि पार्टी केन्द्रले प्राथमिकता दिएजसरी नै जनसंगठन परिचालन र प्रचार योजना निर्माणको कामलाई जोड दिइएको छ । शनिवार मात्रै प्रदेश कार्यालयमा सचिव अर्यालको उपस्थितिमा जनसंगठन समन्वय संयन्त्रको बैठक सम्पन्न भएको छ । संयन्त्रका प्रमुख स्थायी कमिटी सदस्य भानुभक्त ढकालसमेत उपस्थित बैठकले प्रदेशभर जनसंगठन परिचालन र सामाजिक मुद्धामा अगुवाई गर्ने बिषयमा बिभिन्न योजना बनाइएको छ ।

सोही दिन सचिव अर्याल, स्थायी कमिटी सदस्य एवं केन्द्रीय प्रचार तथा प्रकाशन बिभाग प्रमुख राजेन्द्र गौतम र प्रदेशका प्रचार संयोजकका रुपमा जिम्मेवारी तोकिएका पोलिटब्यूरो सदस्य सूर्य थापासमेत उपस्थित बैठकले लुम्बिनीका सवै वडा तहसम्म प्रचार संयन्त्र बनाउने निर्णय गरको छ ।

बदलिएको प्रविधि र बिकसित सूचना प्रविधिका साधनलाई सदुपयोग गरी हरेक नागरिकसम्म पुग्ने गरी अघि बढने योजना पनि बैठकले बनाएको छ । सचिव अर्यालले लुम्बिनीमा एमाले बलियो रहेको तर कतिपय अन्तरबिरोधका कारण निर्वाचनमा परिणाम बिपक्षीको पोल्टामा परेको तथ्यबारे जानकारी भइसकेको भन्दै अव बिशेष योजनाका साथ काम अघि बढाइने बताउनु भयो ।