बिराटनगर, असार १८ । नेकपा एमालेले सभामुखलाई समेत आफ्नो दलको सदस्य मानेर सरकार बनाउने कुरा स्वीकार्य नहुने बताउनु भएको छ । सभामुखको नाम राखेर कोशीमा मुख्यमन्त्री दावी गर्ने प्रयाश भइरहेको भन्दै एमालेका प्रमुख सचेतक रेवतीरमण भण्डारीले यस्तो बटमलाइन सुनाउनु भएको हो ।
प्रदेश प्रमुखले आइतवार संबिधानको धारा १६८ को उपधारा २ अनुसार सरकार गठनका लागि आहवान गर्नुभएको छ । ‘प्रदेश प्रमुखलाई हामीले भेटेर भनेका छौं, सार्वजनिक ढंगबाट पनि भन्न चाहन्छौं, हामी र राप्रपा एक ठाउँमा छौं र उभिन्छौं । सरकार गठनका लागि ४७ चाहिन्छ । तर गठबन्धनमा ४६ सदस्य मात्रै छन । सभामुख बाबुराम गौतमको नाम पनि जोडेर मुख्यमन्त्री दावी गरेर लाने काम भइरहेको छ भन्ने हामीले सुनेका छौं । यो कुरा हामीलाई किमार्थ स्वीकार्य हुन्न ।’
उहाँले गठबन्धनले सरकार दावी पेश गर्दा सभामुखको हस्ताक्षर भए आफूहरुले कडा कदम चाल्ने चेतावनी पनि दिनुभयो । ‘सभामुखले २०७९ साल पुस २८ गते सभामुखको आसनमा बसेर उहाँले पूर्ववर्ती दलसँग आवद्धता त्याग गरेको घोषणा गर्नुभएको छ । सो घोषणापछि सभामुख कुनै पनि दलको सदस्य हुनुहुन्न, मान्न मिल्दैन । सभामुखलाई सदस्य गनणा गरेर सरकार बनाउने र गिराउने खेलमा सामेल गर्न मिल्दैन । उहाँले दल परित्याग गरिसक्नु भएको छ । सभामुखलाई दलको सदस्य मानेर मुख्यमन्त्री नियुक्त गरिन्छ भने त्यो हामीलाई मान्य हुँदैन,’ प्रमुख सचेतक भण्डारीले भन्नुभयो ।













प्रतिक्रिया दिनुहोस्