जनता टाइम्स

१७ भाद्र २०७६, मंगलवार ०६:३४

पर्यटनमन्त्री भट्टराईका यी काम, जस्ले जित्यो सवैको मन


काठमाडौं, भदौं १७ । युवा नेता योगेश भट्टराईले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय सम्हालेको एक महिना पुगेको छ । यसबीचमा उहाँले नेपाल बायुसेवा निगमलगायत मन्त्रालयसँग सम्बन्धित काम र निर्माणाधीन बिमानस्थलहरुको बारेमा जानकारी लिने र स्थलगत निरीक्षण गर्ने काम सकाउनु भएको छ । मन्त्रालयको काम र समस्या बुझेपछि उहाँको ध्यान अव सवैको अपनत्व हुने गरी कामको परिणाम देखाउनेतिर गएको छ ।

आफ्नै फोटो हटाउन निर्देशन

हिन्दू महिलाहरुको महान चाडपर्वको रुपमा लिइने हरितालिका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी सोमवार पशुपतिनाथ दर्शनका लागि पुग्नुभयो । विभागीय मन्त्रीको हिसाबले संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराई पनि त्यहाँ पुग्नुभयो राष्ट्रपतिको स्वागतका लागि । पशुपतिनाथमा विभागीय मन्त्रीको हिसाबले कार्यकक्ष बनाइएको हुन्छ । कार्यकक्षमा राष्ट्रपति भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली र स्वयं पर्यटनमन्त्री भट्टराईको फोटो राखिएको थियो । आफ्नो तस्बिर देखेपछि मन्त्री भट्टराईले तत्कालै आफ्नो तस्विर हटाउन निर्देशन दिनुभयो । पछिल्लो समय विभिन्न उच्च पदस्तहरुले कार्यक्रममा आफ्नो ठूलो फोटो टाँस्ने, पीर्कामा सलामि लिने जस्ता व्यवहार देखाइरहँदा मन्त्री भट्टराईले भने त्यसको विरोध गर्दै आउनु भएको छ ।

सबै दलको घोषणापत्र सरकारको सम्पति

मन्त्री भट्टराईले मन्त्री भए लगत्तै मन्त्रालयको कार्यक्रमहरु बारेमा छलफलका लागि सम्बन्धित सबैलाई छलफलमा बोलाउनुभयो । त्यसक्रममा उहाँले कर्मचारीहरुलाई सोध्नुभयो, ‘हाम्रा कार्यक्रमहरु के–का आधारमा बन्छ ?‘बजेट तथा नीति कार्यक्रमका आधारमा ?’ कर्मचारीबाट जवाफ आयो, ‘अनि माग र आवश्यकताको आधारमा ।’
कर्मचारीहरुको उत्तरले मन्त्री भट्टराई सन्तुष्ट हुनुभएन । तत्कालै निर्देशन दिनुभयो, ‘सरकारको नीति कार्यक्रमसँगै प्रमुख दलका घोषणापत्रमा पर्यटनको बिषयमा उल्लेख बिषय र प्रतिबद्धता पनि हेर्नुहोस । सत्तारुढ दल नेकपाको मात्रै होइन, अन्य दलहरुको बिषय र प्रतिबद्धता पनि हेर्नुहोस ।’

कर्मचारीहरुको लागि यो नयाँ घटना जस्तै थियो । यसअघि कुनै पनि मन्त्रीले अरु दलका घोषणापत्र पनि हेर्न सुझाएका थिएनन् । मन्त्री भट्टराईले थप सुझाव दिनुभयो, ‘सबै दलले अध्ययन गरेर नै योजना र प्रतिबद्धता तयार पारेका हुन्छन् । सबै दलका राम्रा योजना र सपना नै सरकारको योजना बन्नुपर्छ । सबै दलको सपना र प्रतिबद्धता सरकारको सम्पति हो । हामी सबैको सरकार हो ।’ सबै राजनीतिक दलका सकरात्मक योजनाहरुलाई कार्यान्वयनमा लैजान सकिए परिवर्तन ठोस हुने मन्त्री भट्टराईको बुझाई छ । ‘जो कोहीले देश र जनताको पक्षमा बनाइएका असल योजना र कार्यक्रम सरकारको सम्पति हो,’ मन्त्री भट्टराईको भनाई छ ।

एकले अर्कालाई निषेध र अबरोधले होइन सबैप्रतिको सम्मान, साझा संकल्प र अभियानले देश बनाउनुपर्ने बताउनु हुन्छ उहाँ । ‘राजनीतिक परिवर्तनको निम्ती जसरी एकजुट भएका थियौं । त्यसैगरी समृद्धिको लागि पनि एकजुट बन्नुपर्छ,’ मन्त्री भट्टराईले भन्नुभयो ।

बिपीको नाममा खोइ ?

यस्तै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पुष्पलालको नाममा स्थापना गरेको ‘पुष्पलाल राष्ट्रिय पुरस्कार’को बिषयमा छलफल थियो । मन्त्री भट्टराईले कर्मचारीसँग सोध्नुभयो, ‘बिपीको नाममा चै पुरस्कार छैन ?’ यो प्रश्नले कर्मचारीहरु झनै छक्क परे । कांग्रेसका नेताहरु मन्त्री हुँदा समेत नसोधिएको प्रश्न मन्त्री भट्टराईले सोध्नुभएको थियो । पुष्पलालको नाममा मात्रै पुरस्कार भएको सुनेपछि मन्त्री भट्टराईले भन्नुभया, ‘हामीले हाम्रो इतिहास सबै गौरवहरुलाई सम्मान गर्नुपर्छ । सबैको साझा योगदानले आज हामी यहाँ छौं ।’ मन्त्री भट्टराईको यो भनाईले सबै कर्मचारीहरु प्रभावित भए ।

सचिवालयमा भावनात्मक एकताको सन्देश

अहिले नेकपाको नेतृत्वमा सरकार छ । नेकपा अर्थात् तत्कालिन नेकपा (एमाले) र नेकपा माओवादी केन्द्र मिलेर बनेको एकीकृत पार्टी । तर, सबै मन्त्रालय एकीकृत पार्टीको जस्तो छैन । पूर्वमाओवादी नेता मन्त्री भएको मन्त्रालयको सचिवालयमा पूर्वमाओवादीका कार्यकर्ता मात्रै छन् । एकाधबाहेक पूर्वएमाले मन्त्री भएको मन्त्रालयको सचिवालयमा पूर्व एमालेका कार्यकर्ता मात्रै राखिएका छन् । तर, मन्त्री भट्टराईले भावनात्मक एकता हुने गरी सचिवालयमा पूर्व एमाले र माओवादीबाट सहयोगी टीम राख्नुभएको छ ।

मन्त्री भट्टराईले सचिवालयमा तत्कालिन एमाले निकट ताप्लेजुङ्ग– काठमाडौं सम्पर्क मञ्चका अध्यक्ष सन्तोष मादेन र तत्कालिन माओवादी निकट जनसम्पर्क समितिका अध्यक्ष डण्डु शेर्पा राख्नुभएको छ । पार्टी एकताको भावनात्मक सन्देश दिने गरी उहाँले सचिवालय बनाउनु भएको हो ।

सबैको इतिहास सम्मान

एमाले र माओवादीबीच एकता भएपनि भावनात्मक एकता अझै भइनसकेको देखिन्छ । नेता तथा कार्यकर्ताहरुले एक अर्काका विगतलाई कोट्याएर आरोप प्रत्यारोप पनि हुने गरेको छ । तर, भट्टराई मन्त्री भए लगत्तै तत्कालिन एमालेको कार्यालय रहेको बल्खु र तत्कालिन माओवादीको कार्यालय पेरिसडाँडा पुग्नुभयो । पेरिसडाँडा पुगेर उहाँले जनयुद्धका सहिदहरुलाई सम्झिनुभयो ।

कर्मचारीलाई सकारात्मक सोचको तालिम

नेपालको एकमात्रै अन्तराष्ट्रिय विमानस्थल त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा कार्यरत कर्मचारीहरुको व्यवाहार र शैलीलाई बारम्बार आलोचना हुने गरेको छ । कर्मचारीहरूको ‘सकारात्मक सोच’ बिकासका लागि मन्त्री भट्टराईले प्रशिक्षण नै सुरु गराउनु भएको छ ।

मन्त्री भट्टराईले सेवाग्राहीहरूले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका कर्मचारीहरूको व्यवहारप्रति नकारात्मक टिप्पणी गर्ने गरेकाले सरकारले त्यसमा सुधार ल्याउन सो प्रशिक्षण कार्यक्रम आयोजना गरिएको बताउनु भयो । ६ दिनसम्म चल्ने सो प्रशिक्षण कार्यक्रमले त्यहाँ कार्यरत कर्मचारीहरूको काम गर्ने शैलीमा पनि सुधार आउने विश्वास उहाँको छ । प्रशिक्षण कार्यक्रममा सो विमानस्थलका कर्मचारी र त्यहाँ खटिएका सुरक्षाकर्मीहरू सहभागी छन् ।

गल्ती गर्ने ‘न आफ्नो, न बिरानो’

मन्त्री भट्टराईले गलत काम गर्ने जो कोहीलाई कारबाही गर्ने प्रष्ट नीति लिनुभएको छ । उहाँले सगरमाथाकोे बेस क्याम्प नपुगी सगरमाथा आरोहण प्रमाणित गर्ने सम्पर्क अधिकृत (लियोजन अफिसर)लाई कारबाही गर्ने बताउनु भएको थियो । यही क्रममा पयर्टन विभागले सगरमाथाकोे बेस क्याम्प नपुगी सगरमाथा आरोहण प्रमाणित गर्ने १५ जना सम्पर्क अधिकृत (लियोजन अफिसर) सँग स्पष्टीकरण सोधेको छ ।

विभागले १५ दिनभित्र स्पष्टीकरण बुझाउन प्रत्येक कर्मचारीलाई छुट्टाछुट्टै पत्र पठाएको हो । आरोहीसँग सगरमाथा आरोहणमा जाने सम्पर्क अधिकृतले आफू बेस क्याम्पमै नपुगी आरोहीलाई सगरमाथाको चुचुरामा पुगेको प्रमाणित गरेको समाचार आएको थियो । मन्त्री भट्टराईको निर्देशनपछि सुन तस्करीमा मुछिएका किशोरकुमार खत्रीलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको उपप्रबन्धकबाट हटाइएको छ । आइतबार मात्र विमानस्थलको एक कार्यक्रममा दाग लागेका कर्मचारीहरुलाई विमानस्थलमा नराख्न निर्देशन दिनुभएको थियो । लगतै नागरिक उड्डयन प्राधिकरणले खत्रीलाई विमानस्थलबाट फिर्ता बोलाएर झापा सरुवा गरेको छ ।

खत्री २२ वैशाख २०७४ मा तस्करी गरेर ल्याउँदै गरेको ४० तोला सुनसहित पक्राउ परेका थिए । त्यसबेला एयर ट्राफिक कन्ट्रोलर कर्मचारी रहेका उनले कतार एयरवेजको उडानबाट आएको मनिगा रिमालको सुन रिसिभ गरेका थिए । एक्सरे मेसिनमा चेकजाँचका क्रममा सुन भेटिएपछि भन्सार कार्यालयले उनलाई पक्राउ गरेको थियो । तर छानविनका क्रममा सुन तस्करीमा संलग्न नभएको भन्दै छाड्यो । त्यसपछि उनी झापाको चन्द्रगढीमा कार्यरत थिए । पछिल्लो समय काजमा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल आएका थिए । तर मन्त्री भट्टराईले यस्ता विवादास्पद कर्मचारीलाई नराख्न निर्देशन दिएपछि फेरि चन्द्रगढी पठाइएको हो ।

बिपक्षी दलका नेतालाई कामबारे जानकारी

मन्त्री भट्टराईले गत शनिवार (भदौ १४, २०७६ ) मा बिपक्षी दलका नेता एवं कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेर आफ्नो मन्त्रालयले गरीरहेको कामबारे जानकारी दिनुभयो । पूर्वप्रधानमन्त्री समेत रहुनभएका देउवाको बुढानिलकण्ठस्थित निवाशमै पुगेर मन्त्री भट्टराईले आफूले सम्हालीरहेका मन्त्रालयको काम र भावी योजनाका बारेमा जानकारी गराएपछि सवैको ध्यान त्यतैतिर गयो । प्रतिपक्षी दलका नेतालाई मन्त्रीले भेटेर आफ्नो मन्त्रालयको बारेमा जानकारी दिएको र सुझाव लिएको यो सम्भवतः पहिलो घटना थियो । मन्त्री भट्टराईको यो कदमलाई धेरैले नयाँ र असल राजनीतिक संस्कारको रुपमा प्रशंसा गरे । स्वयं देउवाले भट्टराईको योजनालाई साथ दिने घोषणा गरेर सवैबाट यस्तो संस्कारको थालनी हुनुपर्ने बताउनु भयो । व्यवाहारिक रुपमा नै सबैको स्वामित्व र अपनत्व कायम गरेर परिर्वतन गर्ने मन्त्री भट्टराईका योजनालाई मुर्त रुप दिन ती कामहरु भएका थिए ।

‘सामन्ती’ संस्कृति बिरुद्ध आक्रमक

मन्त्री भट्टराईले सपथ पदभार ग्रहण गरे लगत्तै मन्त्रालयमा ‘आइस्यो, गइस्यो’ जस्ता सामन्त्री शब्द नबोल्न निर्देशन दिनुभयो । अहिले पनि बिभिन्न मन्त्रालयमा ‘आइस्यो, गइस्योे’ भन्ने भाषा प्रयोग हुने गरेको छ । मुलत यस्तो भाषा दरबारमा प्रयोग हुने गरेको थियो । मन्त्री भट्टराईको पहिलो निर्देशन नै यही रहेकोले यो भाषा अहिले मन्त्रालयमा बन्द भएको छ ।