जनता टाइम्स

२० असार २०८०, बुधबार १३:११

ओखलढुंगा र इलामबाट बलात्कार आरोपमा दुईजना पक्राउ


काठमाडौं, २० असार । ओखलढुंगा र इलामबाट दुईजना बलात्कार आरोपमा पक्राउ परेका छन् । ओखलढुंगाको सिद्धिचरण नगरपालिका–३ अधेरी बस्ने ६५ वर्षीय फिन्चुले भन्ने रुख वीर राईलाई १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ । राईले २०७९ कात्तिक ८ गते र २०७९ मंसिर ११ गते सिद्धिचरण नगरपालिका–३ बस्ने ४४ वर्षीय फुर्तिमान भन्ने सागर राईले ती किशोरीलाई ललाई फकाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय ओखलढुंगाबाट खटिएको प्रहरीले उनीहरूमध्ये रुख वीर राईलाई पक्राउ गरेको हो ।

हाल फरार सागर राईको प्रहरीले खोजी गरिरहेको छ । इलामको रोङ गाउँपालिका–१ शान्तिपुर कटहरे बस्ने ३० वर्षीय अमृत बहादुर राईलाई १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ । राईले ती बालिकालाई बिगत ३ महिना अगाडि देखिनै जबरजस्ती करणी गर्दै आएको भन्ने उजुरीको आधारमा अस्थायी प्रहरी पोष्ट बर्फल्याङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।