काठमाडौं, असार २० । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री पुष्पकमल दाहालले दिएको विवादास्पद अभिव्यक्ति आलोचनायोग्य रहेको बताउनु भएको छ । प्रधानमन्त्रीको अभिव्यक्तिप्रति नेपाली कांग्रेसको प्रष्ट रुपमा विमति रहेको पनि महामन्त्री शर्माले बताउनु भयो ।
प्रधानमन्त्रीको अभिव्यक्तिको विषयलाई लिएर एमालेसहित विपक्षी दलहरूले आज संघीय संसदका दुवै सदन अवरुद्ध पारेपछि संसद भवनबाट बाहिरिने क्रममा महामन्त्री शर्माले प्रधानमन्त्री दाहालको अभिव्यक्ति अनुचित रहेको बताउनु भयो । ‘प्रधानमन्त्रीले हिजो जे बोल्नुभयो, म सत्तापक्षको एउटा सांसद भए पनि त्यसमा समर्थन जनाउनुपर्छ भन्ने हुँदैन । उहाँले दिएको अभिव्यक्ति आलोचनाका लागि योग्य छ । उहाँले गलत बोल्नुभएको छ । त्यसमा मेरो प्रष्ट रुपमा विमति नै छ,’ शर्माले भन्नुभयो ।
उहाँले प्रधानमन्त्रीले नेपालको संसदप्रति उत्तरदायी हुनुपर्ने र नेपालको राष्ट्रिय सम्मानलाई अभिवृद्धि गर्न सक्नुपर्ने पनि बताउनु भयो । ‘पुष्पकमल दाहाल अहिले तेस्रोपटक प्रधानमन्त्री हुनुहुन्छ । उहाँ प्रधानमन्त्री त संसद्बाटै हुनुभएको हो । तर पहिलो र तेस्रो पटक उहाँ प्रधानमन्त्री हुँदा नेकपा एमालेकै समर्थन थियो । तीनपटक मध्ये दुई पटक उहाँ एमालेकै समर्थनमा प्रधानमन्त्री हुनुभएको हो,’ शर्माले भन्नुभयो, ‘त्यसैले प्रधानमन्त्रीले पनि संसदकाप्रति राख्ने सम्मान भुल्नु हुँदैन । नेपालको संसदीय परिपाटी, संसदको गरिमालाई वृद्धि गर्ने कुरा, राष्ट्रिय सम्मानलाई अभिवृद्धि गर्ने कुरामा प्रधानमन्त्रीको ध्यान हुनुपर्छ ।’













प्रतिक्रिया दिनुहोस्