जनता टाइम्स

२३ असार २०८०, शनिबार १३:०८

घर भत्किँदा डोटीमा एक महिलाको मृत्यु


डोटी, २३ असार । डोटीमा घर भत्किँदा एक जनाको मृत्यु भएको छ। दिपायल सिलगढी नगरपालिका–५ गैराकी ३० वर्षीया गङ्गा मलासीको मृत्यु भएको हो । शनिबार राति चार कोठा भएको एक तले घर भत्किँदा सोही घरमा सुतेकी मलासीको च्यापिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

राति नै जिल्ला प्रहरी कार्यालय डोटीबाट प्रहरी नायव निरीक्षक आन सिंह धामीको कमाण्डमा गएको १० जनाको टोलीले उद्धारको कार्य गर्दा बिहान ५ बजे मलासीको शव निकालेको थियो ।

घटनाको आवश्यक अनुसन्धान भइरहेको र त्यसका लागि प्रहरी निरीक्षक लक्ष्मीराज जोशीको कमाण्डमा ६ जनाको टोली खटिएको छ । भत्किएको घरमा मृतक एक्लै रहेको उनका आफन्त तथा दिपायल सिलगढी नगरपालिका–६ का वडाध्यक्ष नरेश मलासीले जानकारी दिए। उनका श्रीमान् नेपाल प्रहरीमा कार्यरत छन्। उनी कैलालीबाट आउँदै गरेको मलासी बताउँछन् ।