जनता टाइम्स

२३ असार २०८०, शनिबार १५:०४

लुम्बिनीमा एमालेको मिसन फिप्टीवान : सवै जिल्लामा सकियो बैठक, पालिका र वडा तहमा अघि बढ्यो बिशेष अभियान


बुटवल, असार २३ । नेकपा एमालेको लुम्बिनी प्रदेशका सवै जिल्ला कमिटीको बैठक सम्पन्न भएको छ । एमाले सचिव एवं लुम्बिनी प्रदेश इञ्चार्ज पद्माकुमारी अर्यालले जिम्मेवारी सम्हाल्नु भएपछिको एक महिना नपुग्दै लुम्बिनीका सवै जिल्ला कमिटीका बैठकहरु सम्पन्न भएका हुन ।

एक साता अगावै आयोजना गरिएको भए पनि बाढी र पहिरोका कारण स्थगित गुल्मी जिल्ला कमिटीको बैठक आज बसेको छ । सदरमुकाम तम्घासमा आजबाट गुल्मी जिल्ला कमिटीको बैठक सुरु भएलगत्तै लुम्बिनी जिल्ला कमिटी बैठक सकाउनेमा पहिलो प्रदेश बनेको छ । एमाले पोलिटब्यूरो सदस्य एवं गुल्मी जिल्ला इञ्चार्ज सूर्य थापाका अनुसार आजबाट जिल्ला कमिटी गुल्मीको ८औं बैठक सुरु भएको छ ।

बैठकमा लुम्बिनी प्रदेश इन्चार्ज सचिव पद्मा अर्याल, केन्द्रीय सदस्यहरू दिनेश पन्थी र गणेश खनाल तथा प्रदेश कमिटी अध्यक्ष राधाकृष्ण कँडेलसहितको आतिथ्यतामा पार्टी कार्यालय तम्घासमा बसिरहेको छ । इञ्चार्ज थापाले बैठकले समस्याको ठोश पहिचानसहित समाधान केन्द्रित छलफलसहित योजना बनाएर जिल्लाका सवै पालिका र वडा तहसम्म पुग्ने कार्ययोजना बनाउने छ ।

यसअघि नै सचिव अर्यालकै उपस्थितिमा रुपन्देही, कपिलबस्तु, पाल्पा, अर्घाखाँची, दाङ, बाँके, बर्दिया, प्यूठान, रुकुम, रोल्पा र नवलपरासी जिल्लाको बैठक सम्पन्न भइसकेको छ । बैठकले समस्या पहिचान र समाधानका योजना बनाएको सचिव अर्यालको भनाई छ ।

केन्द्रीय कमिटी र सचिवालय बैठकले जिम्मेवारी तोकेसँगै जेठ २९ बाट लुम्निी प्रदेशमा आउनुभएकी सचिव अर्यालले पहिलो चरणमा प्रदेश कमिटी बैठकसहित जिल्ला कमिटी बैठकसहित जनसंगठन र प्रचारसँग सम्बन्धित कामको योजना र समाधानका उपायसहित वडा तहसम्म जिम्मेवारी तोक्ने काम गर्नुभएको छ ।
बैठकले आधारभूत तहमा रहेका कार्यकर्तादेखि नेतासम्मको अवस्थाबारे जानकारीसहित हालसम्म काममा देखिएको त्रुटी पहिचान पनि गरेको सचिव अर्यालको भनाई छ ।

‘जनता र हामीबीच कँही न कँही तालमेल मिलेको देखिएन भन्ने साझा निश्कर्षका साथ अव कार्यशैली बदलेर लुम्बिनीका सवै जिल्ला र पालिकामा जनताको पहिलो रोजाई एमाले बनाउने संकल्प हामीले गरेका छौं,’ जनताटाइम्स डटकमसँग इञ्चार्ज अर्यालले भन्नुभयो । सिंगो प्रदेशमा नेकपा एमालेलाई एकल बहुमतको शक्ति बनाउने गरी काम गर्ने अठोट सवै जिल्ला कमिटीका बैठकमा आएको जानकारी पनि उहाँले दिनुभयो ।

सचिव अर्यालका अनुसार सवै जिल्लामा मिशन ग्रासरुटले औल्याएको समस्या समाधान गर्नेतिर पनि ध्यान दिइएको छ । । ‘पहिलो चरणमा एमालेका नेतादेखि कार्यकर्तासम्मको मनोवल उकासेर काममा दृढताका साथ खटिने गरी योजना बनाइएको छ, समस्याका थप पहिचान पनि भइरहेका छन,’ सचिव अर्यालले भन्नुभयो ।
उहाँले नेकपा एमाले नेतृत्वको सरकारले राष्ट्र र जनताको पक्षमा गरेको राम्रा कामसमेत तलसम्म पुर्याउन नसकेको र सामाजिक सञ्जालबाट फैलाइएको अफवाहलाई चिर्ने काम पनि हुन नसकेको भन्दै अवको पार्टी काम त्यस दिशातर्फ केन्द्रित गर्ने जानकारी दिनुभयो ।

‘गुल्मीको बैठकसँगै जिल्ला कमिटीका बैठकहरु सम्पन्न भएका छन, पालिकास्तरमा पनि आधा भन्दा बढी बैठक सकिएका छन, प्रचार र जनसंगठनको बैठक पनि सकिएको छ, अव योजना निर्माणको चरण सकिएको छ, कार्यान्वयनमा दृढताका साथ लाग्ने हो,’ सचिव अर्यालले भन्नुभयो ।

एमाले लुम्बिनी प्रदेशका प्रचार प्रमुख डिआर घिमिरेका अनुसार सचिव अर्याल कार्यक्षेत्रमै बसेर प्रदेश अध्यक्ष राधाकृष्ण कँडेलसहितको टीम लिएर हरेक जिल्ला र पालिका तहसम्म समस्या पहिचान र सामाधान केन्द्रित छलफलमा जोड दिनुभएको छ । मसिनो गरी समस्या पहिचानको अभियानलाई जोड दिइएको घिमिरेको भनाई छ ।