धनगढी, असार २५ । सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेस बाहेकका तीन दलले यथास्थितिमा बजेट पारित गर्न नसक्ने निर्णय गरेका छन ।
नागरिक उन्मुक्ति पार्टीको संसदीय दलको कार्यालयमा आज बसेको नाउपा, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका संसदीय दलको संयुक्त बैठकले यथास्थितिमा बजेटलाई समर्थन गर्न नसक्ने निर्णय गरेको हो ।
नागरिक उन्मुक्ति पार्टी संसदीय दलका नेता घनश्याम चौधरीले प्रदेश सरकारले बजेट संशोधन नगरेमा यथास्थितिमा पारित गर्न नसकिने निर्णय गरेको बताउनु भयो । मुख्यमन्त्री र अर्थमन्त्रीले आफूहरुसँग भएको छलफल र सुझावलाई बेवास्ता गरेएको, प्रदेशसभा सदस्य र जनताको भावना, प्रदेशको आवश्यकता तथा औचित्य विपरीत बजेट आएको तीन दलको निष्कर्ष छ ।
‘बजेटमा विषयगत सन्तुलन नभएको र राजनीतिक नेतृत्व मुकदर्शक भएको अनुभूति भएको छ । तसर्थ समयमै बजेट सन्तुलित बनाउन जनता र जनप्रतिनिधिको भावना समेटेर समग्र विकास र समृद्धिको यात्रामा अगाडि बढाउन संशोधन प्रक्रिया अगाडि बढाउन प्रदेश सरकारलाई आग्रह गर्दछौं’ तीन दलले भनेका छन, ‘बजेट संशोधन र समझदारी नभएको यथाअवस्थामा बजेटलाई समर्थन गर्न नसकिने निर्णय गरियो ।’
बैठकमा नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता खगराज भट्ट, प्रमुख सचेतक मानबहादुर धामी, नाउपा संसदीय दलका नेता चौधरी, प्रमुख सचेतक कैलाश चौधरी र नेकपा एकीकृत समाजवादीका संसदीय दलका नेता दीर्घबहादुर सोडारी र प्रमुख सचेतक प्रकाश रावल सहभागी हुनुहुन्थ्यो ।













प्रतिक्रिया दिनुहोस्