काठमाडौं, साउन २ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी रूपान्तरण अभियानको प्रतिवेदन बुझ्न ठाडै अस्वीकार गर्नुभएको छ । युवा नेताहरुले अघि बढाएको रुपान्तरण अभियानको प्रतिवेदन बुझ्न सभापति देउवाले अस्वीकार गर्नुभएको हो ।
आजदेखि सुरु हुन लागेको केन्द्रीय समितिको बैठकअघि सभापतिले प्रतिवेदन बुझ्न नमानेपछि केन्द्रीय कार्यालयमा बुझाउने नेताहरुले बताएका छन । सभापतिलाई रूपान्तरण अभियानको प्रतिवेदन बुझाउनका लागि आफूहरूले समय माग्दा नदिएको र अस्वीकार गरेको नेता गुरुराज घिमिरेले जानकारी दिनुभयो ।
‘हामीले सभापतिलाई प्रतिवेदन बुझाउनको लागि आज समय माग गरेका थियौँ । तर, उहाँले दिनुभएन । उहाँले समय नदिएपछि पार्टी कार्यालयमा मुख्यसचिवमार्फत दर्ता गराउँदै छौँ,’ घिमिरेले भन्नुभयो । घिमिरेसहितका युवा नेताहरुले यथास्थितिमा पार्टी चल्न नसक्ने भन्दै देशव्यापी रूपान्तरण अभियान चलाउनु भएको थियो । आज एक वर्षपछि बस्न लागेको केन्द्रीय समितिको बैठकमा छलफल गराउने उद्देश्यले आफूहरूले प्रतिवेदन बुझाउन लागेको तर सभापतिले अस्वीकार गरेको घिमिरेको भनाई छ ।
कांग्रेस केन्द्रीय सदस्य मधु आचार्य, पूर्वकेन्द्रीय सदस्य गुरुराज घिमिरेलगायत युवा नेताहरूले कांग्रेस रूपान्तरण अभियान चलाउनु भएको थियो ।
अभियानले यथास्थितिमा चलिरहे पार्टीले आगामी कुनै पनि चुनौतीको सामना गर्न नसक्ने निष्कर्ष निकालेको छ ।












प्रतिक्रिया दिनुहोस्