काठमाडौं, साउन ३ । काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीले आजबाट साताव्यापी ‘यात्रुसँग दुई मिनेट’ ट्राफिक चेतनामूलक कार्यक्रम सुरु गरेको छ ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) पोषराज पोखरेलले आज सुन्धारास्थित काठमाडौं मल अगाडि रहेको बस बिसौनीमा यात्रुसँग दुई मिनेट ट्राफिक चेतनामूलक कुराकानी गर्दै सन्देशमूलक सामग्री समेत वितरण गरेर कार्यक्रमको औपचारिक सुरुवात गर्नु भएको हो ।
गाडी पूर्णरुपमा नरोकिदै र बस बिसौनीमा नगई जथाभावी सवारी चढ्ने र ओर्लने, सवारी साधनको झ्याल ढोकाबाट हात तथा टाउको बाहिर निकाल्ने जस्ता कार्यले पनि सवारी दुर्घटना हुँदै आएका छन् ।
सुरक्षित सडक यात्राका लागि चालक र परिचालकलाई चेतनामूलक कार्यक्रम गर्दै आएको ट्राफिक प्रहरीले यात्रुको पनि महत्वपूर्ण जिम्मेवारी रहने भएकाले यस कार्यक्रमको सुरुवात गरेको हो ।
मादक तथा र लागूपदार्थ सेवन गरेर सवारी साधन चलाएको शंका लागेमा, सवारी साधनमा बढी भाडा लिएमा तथा दुर्व्यवहार गरेमा र सवारी साधनमा आरक्षण सिटको पालना नगरेमारनगराएमा प्रहरीको हटलाइन नम्बर १०० र ट्राफिक प्रहरीको हटलाइन नम्बर १०३ मा सम्पर्क गर्न काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका डिआइजी पोखरेलले अनुरोध गर्नु भयो ।
बस बिसौनीबाट मात्र गाडी चढौं, सवारी साधनमा हुने पकेटमारीबाट बचौं, सवारी साधनमा हुने दुर्ब्यवहार र अन्य आपराधिक कृयाकलापबाट बचौं लगायत यात्रुले पैदल हिंड्दा र बाटो काट्दा पालना गर्नु पर्ने आधारभुत जानकारीसहितको पर्चा पम्प्लेट यात्रुलाई वितरण गरिएको छ । ट्राफिक जनचेतना अभिवृद्धिका लागि विभिन्न चोकहरूमा व्यानर समेत प्रदर्शन गरिएको छ ।
यात्रुको आवत जावत बढी हुने स्थानहरू काठमाडौंका न्युरोड, शान्तीवाटिका, कालिमाटि, कलंकी, महाराजगञ्ज, चावहिल, गौशाला, कोटेश्वरलगायतका भक्तपुर र ललितपुरका विभिन्न बस बिसौनीमा आगामी १० गतेसम्म यो कार्यक्रम सञ्चालन गरिने डिआइजी पोखरेलले बताउनु भयो ।













प्रतिक्रिया दिनुहोस्