जनता टाइम्स

१८ भाद्र २०७६, बुधबार १४:४३

परराष्ट्रमन्त्री ज्ञवालीले सुनाए सरकारी निश्कर्ष : काश्मीर प्रकरण भारतको आन्तरिक मामिला


काठमाडौं, भदौ १८ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जम्मू–काश्मीरमा भएको पछिल्लो कदम भारतको आन्तरिक मामिला रहेको प्रष्ट पार्नुभएको छ । हिन्द माहासागर सम्मेलनमा भाग लिन माल्दिभ्स पुग्नुभएका परराष्ट्रमन्त्री ज्ञवालीले संविधानको धारा ३७० खारेज गर्ने विषय भारतको आन्तरिक मामिला भएको प्रष्ट पार्नुभएको हो ।

भारतीय समाचार संस्था एएनआईसँगको कुराकानीमा मन्त्री ज्ञवालीले आन्तरिक मामिलामा आफूहरु नबोल्ने पनि प्रष्ट पार्नुभयो । ‘संविधान परिवर्तन भारतीय सरकारको आफ्नै अधिकार क्षेत्र हो, त्यसलै यसमा हाम्रो कुनै प्रतिक्रिया छैन,’ मन्त्री ज्ञवालीले नेपाल सरकारको धारणा प्रष्ट पार्दै भन्नुभएको छ । उहाँले नेपाल सरकार काश्मीर क्षेत्रमा बस्ने नेपालीबारे चिन्तित रहेको जानकारी भने गराउनु भयो । हामी खुसी छौं किनकी उनीहरु सुरक्षित छन, नेपालको मुख्य चासो त्यस क्षेत्रमा काम गर्ने नेपालीबारे हो, उनीहरुको सुरक्षाका बारेमा हामीले भारत सरकारसँग निकट रहेर समन्वय गरिरहेका छौं,’ परराष्ट्रमन्त्री ज्ञवालीले भन्नुभयो ।

एएनआईसँगको कुराकानीमा मन्त्री ज्ञवाललीले भारत र पाकिस्तानबीचको तनावमा कमी आउने बिश्वाससमेत ब्यक्त गर्नुभयो । ‘सार्क अध्यक्षको रुपमा हामी सबै सदस्य राष्ट्रलाई वार्तामार्फत विवाद समाधान गर्न आग्रह गर्दछौं, तनावलाई बढाउनु समाधान होइन, द्वन्द्व खराब विकल्प हो भनिराख्नु जरुरी पनि होइन, जुन सबै राष्ट्रले हटाउनुपर्छ,’ मन्त्री ज्ञवालीको भनाई थियो । उहाँले सार्क क्षेत्रमा शान्ति र स्थायित्व स्थापना गर्न भारत र पाकिस्तानले वार्ता सुरु गर्ने आसासमेत व्यक्त गर्नुभयो । ‘म आसा गर्छु, त्यहाँ आसाको किरण हुनेछ, जसले तनाव घटाउनेछ, अनि यो क्षेत्रमा शान्ति र स्थायित्व स्थापना गर्न वार्ता सरु हुनेछ,’ मन्त्री ज्ञवालीले भन्नुभएको छ ।

गत अगस्ट ५ मा प्रधानमन्त्री नेरन्द्र मोदी नेतृत्वको सरकारले संविधानको धारा ३७० खारेज गरेर जम्मूकाश्मीरले यसअघि पाएको विशेष स्वायत्तता खारेज गरिदिएपछि भारत र पाकिस्तानबीच सम्बन्ध चिसिएको छ । सो बिषयमा कडा आपत्ति जनाएको पाकिस्तानले अन्तराष्ट्रिय लबिङसमेत गरिरहेको छ । यस बिषयमा यसअघि परराष्ट्र मन्त्री ज्ञवालीले सरकारले जम्मूकाश्मीर मामिलालाई ‘नजिकैबाट नियालिरहको’ प्रतिक्रिया मात्रै दिनुभएको थियो ।