जनता टाइम्स

१८ भाद्र २०७६, बुधबार १५:२५

प्रचण्डको घोषणा : हामी एक्सनमै जान चाहेका छौं


चितवन, भदौ १८ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डले देश विकासमा आफूहरु द्रुत गतिमा अघि बढ्न चाहेको प्रष्ट पार्नुभएको छ । चितवनमा आज आयोजित ‘भरतपुर विमानस्थल विकास एवं सुधार’ विषयक अन्तक्रियामा बोल्दै अध्यक्ष प्रचण्डले आफूहरु एक्सनमा जान चाहेको प्रष्ट पार्नुभएको हो ।

‘हामीले जे गरेका छौं, चाहे त्यो रिङ रोडको कुरा होस, चाहे नारायणीमा जहाज चलाउने कुरा होस, चाहे राष्ट्रिय निकुन्जभित्रका संरचनाको कुरो होस, चाहे केरुङदेखि ठोरीसम्मको बाटो विस्तारको कुरा होस, चाहे रेलवे ल्याउने कुरा होस, सबै काम विकासका नै छन,’ कार्यक्रममा अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘म फेरि पनि भन्छु हामी एक्सनमा जान चाहेका छौं।’

जनताले छिटोभन्दा छिटो देशले विकासको गति लेओस् भन्ने चाहेको पनि उहाँले बताउनु भयो । ‘यदि देशले विकासको गति लिएन भने जनतामा बेचैनी बढ्ने खतरा देखिएको छ,’ प्रचण्डको भनाई थियो । ‘भरतपुर विमानस्थल विकास एवं सुधार’ विषयक उक्त अन्तक्रिया कार्यक्रममा प्रचण्डसहित पर्यटनमन्त्री योगेश भट्टराई, प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेल, भरतपुर नगरपालिकाकी मेयर रेणु दाहाललगायतका सहभागी हुनुहुन्थ्यो ।