जनता टाइम्स

७ श्रावण २०८०, आईतवार १२:०८

एमालेबिरुद्धको घेरावन्दीले जनताको विकास र समृद्धिको आकांक्षामा कुठाराघात भएको छ : शंकर पोखरेल


रामेछाप, साउन ७ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाली जनताको विकास आकांक्षालाई नेतृत्व गर्ने पार्टी नेकपा एमाले मात्रै भएको बताउनु भएको छ । एमाले केन्द्रीय कमिटीको आयोजना तथा जिल्ला कमिटी रामेछापको व्यवस्थापनमा आज पुष्पलालको जन्मथलो रामेछापको भँगेरीमा आयोजित श्रद्धाञ्जली कार्यक्रममा बोल्दै महासचिव पोखरेलले यस्तो बताउनु भएको हो ।

उहाँले एमाले नेतृत्वको सरकारले गरेको कामबाट यो पार्टी जनताको आकांक्षाको नेतृत्व गर्ने पार्टी हो भन्ने कुरा प्रमाणित भइसकेको बताउनु भयो । ‘जनताको विकास र समृद्धिको नेतृत्व गरिरहेको नेकपा एमालेलाई घेराबन्दी गर्ने र नेतृत्वमाथि आक्रमण गर्ने जुन प्रकारको दूषित प्रचार भइरहेको छ, त्यसको असर नेपाली जनताको विकास र समृद्धिको आकांक्षामा कुठाराघात भएको छ’, महासचिव पोखरेलले भन्नुभयो ।

उहाँले राष्ट्रको, स्वतन्त्रता, स्वाभिमान र हितका साथै जनताको विकास र समृद्धिको सपना पूरा गर्ने अडान राजनीतिक दलमा हुनुपर्ने बताउनुभयो । राष्ट्रको, स्वतन्त्रता, स्वाभिमान र हित विपरीत केही राजनीतिक दल आत्मसमर्पण गरेर अघि बढिरहेको भन्दै उहाँले भन्नुभयो, ‘उनीहरू कहिले विदेशीका लागि कन्फरटेवल सरकार बनाउने कुरा गर्छन्, कहिले विदेशीका सामु नेपालको हितलाई तिलाञ्जलि दिने खालको काम गर्छन, नेपालको स्वतन्त्रता, स्वाभिमान र राष्ट्रिय हितको पक्षमा भूमिका खेल्न सक्ने पार्टी कुनै छ भने त्यो नेकपा एमाले पार्टी हो भन्ने कुरालाई हामीले बुझ्नु पर्दछ ।’

महासचिव पोखरेलले पुष्पलाल श्रेष्ठले जुन मान्यताको आधारमा कम्युनिष्ट पार्टीको नेतृत्व गर्नुभयो त्यसको ऐतिहासिक विरासतको नेतृत्व गर्ने पार्टी एमाले नै भएको उहाँले बताउनुभयो । एमाले सरकारमा रहेको बेला पुष्पलालको जन्मथलो भँगेरीलाई व्यवस्थित गुरु योजनाका साथ अघि बढाएको भए पनि अहिले सरकारले त्यसलाई गतिका साथ काम नगरेको भन्दै उहाँले आलोचना गर्नुभयो । पुष्पलाल, गङ्गालाल लगायत कम्युनिष्ट पार्टीका संस्थापकहरूको सालिक बनी सकेका भए पनि त्यसलाई ल्याएर राख्ने काममा सरकारले चासो नदिएको महासचिव पोखरेलको भनाई छ ।

संघ र प्रदेश सरकार आफूलाई कम्युनिष्ट भन्नेले नै सञ्चालन गरेका भए पनि कम्युनिष्ट पार्टीका संस्थापकको नाममा भँगेरीमा बनिरहेको पुष्पलाल स्मृति उद्यानको कामले गति नपाउनु दुःखद भएको उहाँले बताउनु भयो । उहाँले गुरु योजनाको कामलाई अघि बढाउन सरकारको ध्यानाकर्षण गराउनुभयो । ‘राष्ट्रका विभूतिहरू राष्ट्रका सम्पत्ति हुन्, सम्पदा हुन्, कुनै पार्टी विशेषको रूपमा हेर्नुहुँदैन’, पोखरेलले भन्नुभयो ।

अहिले नेपाली समाज अस्थिरताको अवस्थामा गुज्रिएको भन्दै उहाँले सामाजिक मूल्य मान्यता विगठन नेपाली समाजको चुनौतीको रूपमा रहेको प्रष्ट पार्नुभयो । नेपाली समाज चरम संकटमा रहेको उहाँले बताउनुभयो । यस्तो अवस्थाको निकास नेकपा एमालेले मात्र दिन सक्ने उहाँले भनाई छ ।

उहाँले अहिले जनमत विभाजित भएर नेपालमा बलियो राजनीतिक शक्ति बन्न नसकेको बताउनुभयो । जति धेरै राजनीतिक दल त्यति धेरै राजनीतिक अस्थिरता अहिले भोगिएको यथार्थ भएको उहाँले प्रष्ट पार्नुभयो । आउने निर्वाचनमा नेकपा एमालेलाई बलियो राजनीतिक शक्तिको रूपमा स्थापित गर्नु आवश्यक रहेको उहाँले बताउनुभयो । त्यस अर्थमा सम्पूर्ण देशभक्तलाई एमालेको झण्डा मुनि गोलबद्ध हुन र एमालेको एक बहुमतको सरकार बनाउन उहाँले आह्वान गर्नुभयो ।

महासचिव पोखरेलले पुष्पलालले परिकल्पना गरेको समाज निर्माणको अभियानमा नेकपा एमाले रहेको बताउनुभयो । पुष्पलाल र एमालेको परिकल्पना पूरा गर्न नेकपा एमालेका बहुमतको सरकार आवश्यक रहेको उहाँको भनाइ छ । महासचिव पोखरेलका अनुसार पुष्पलालले अवलम्बन गर्नुभएको संयुक्त जनआन्दोलनको नीति कार्यान्वयनमा आएकै कारण २०४६ सालको परिवर्तन सम्भव भएको थियो ।

उहाँले सिद्धान्त, संगठन र संघर्ष समाज परिवर्तनको लागि आवश्यक तत्व रहेको भन्दै अराजकतामाथि विजय प्राप्त गर्न व्यवस्थित संगठन प्रणाली विकास गर्न जरुरी रहेको बताउनु भयो । पार्टीभित्रको अवसरवाद अन्त्यको लागि सैद्धान्तिक रूपमा बलिया पार्टी बनाउन आवश्यक रहेको धारणा पनि महासचिव पोखरेलको थियो ।
राजनीतिक परिवर्तनमा नेपालमा ठुला उपलब्धि भएको बताउँदै उहाँ अब आर्थिक, सामाजिक परिवर्तनको संघर्ष आवश्यक रहेको बताउनुभयो । ‘समृद्ध नेपाल, सुखी नेपाली नेपाली जनताको राष्ट्रिय आकाङ्क्षा हो’, उहाँले भन्नुभयो ।

अब चुनावको माध्यमबाट आर्थिक सामाजिक परिवर्तन गर्नु पर्ने बताउँदै उहाँले हरेक चुनाव आर्थिक सामाजिक परिवर्तनको आधार बन्नु पर्नेमा उहाँले जोड दिनुभयो । राजनीतिक रूपान्तरणको लागि अब बलिया शक्ति आवश्यक रहेको र सामाजिक सञ्जालबाट लोकप्रिय बनेका दलले समाज परिवर्तनको नेतृत्व गर्न नसक्ने उहाँको भनाई छ ।

राजनीतिक दल कहिल्यै पनि पुराना नहुने बताउँदै पोखरेलले दलहरूले आफ्नो नेतृत्व र नीति निरन्तर परिवर्तन गरिरहने बताउनुभयो । नेकपा एमाले यो बिचको अवधिमा ६ वटा नेतृत्व परिवर्तन गरेर नेतृत्व परिवर्तनको गतिशीलताको आधार तयार गरिसकेको उहाँले बताउनुभयो । पोखरेलले पुष्पलालले देख्नु भएको सपना पूरा गर्न लाग्ने प्रतिज्ञा गर्नुभयो ।

कार्यक्रममा सहभागीलाई स्वागत गर्दै नेकपा एमाले रामेछापका अध्यक्ष आनन्द श्रेष्ठले पुष्पलाले गर्नुभएको मार्गनिर्देशनमा निरन्तर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

श्रद्धाञ्जली कार्यक्रममा एमाले बागमति प्रदेश इञ्चार्ज गुरु बराल, स्थायी कमिटी सदस्यहरु लालबाबु पण्डित, कर्ण थापा, पोलिब्युरो सदस्य कमल चौलागाईँ, सुजिता शाक्य, शान्ता चौधरी, लीला भण्डारी, केन्द्रीय सदस्य कैलाश ढुङ्गेल, गणेश पहाडी, माधव ढुङ्गेल, गीता कार्की लगायतका नेताहरू, एमाले वाग्मती प्रदेश कमिटी अध्यक्ष लगायतका प्रदेश कमिटीका पदाधिकारी, सदस्य लगायतका नेताहरू, जिल्ला कमिटीका पदाधिकारी तथा सदस्यहरू, जनवर्गीय संगठनका नेताहरू सहभागि हुनुहुन्थ्यो ।

सो क्रममा महासचिव पोखरेलले पुष्पलाल स्मृति उद्यानमा स्याउ तथा एभोकार्डोको बिरुवा पनि रोप्नु भएको थियो । तत्कालीन रामेछाप गाविसबाट निर्वाचित एमालेका जनप्रतिनिधिलाई कार्यक्रममा सम्मानित समेत गरिएको थियो ।