क. पुष्पलालको सपना साकार पार्न लोकतन्त्रको यही परिभाषालाई व्यवहारमा अनुवाद गर्दै आमजनताको जीवनस्तर माथि उठाउने कार्यक्रमहरु अगाडि बढाउनु हाम्रो कर्तव्य हो । र, पुष्पलालका नीतिहरुको सान्दर्भिकता पनि यिनै कुरामहरुमा छन् ।
इश्वर पोखरेल
आज साउन ७ गते, अर्थात् नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव क. पुष्पलालको ४५औं ‘स्मृति दिवस’ ! विश्व प्रसिद्ध ‘कम्युनिष्ट घोषणापत्र’का प्रथम नेपाली अनुवादक, नेपाली कम्युनिष्ट आन्दोलनका संस्थापक नेता, वाम–लोकतान्त्रिक संयुक्त आन्दोलनका वैचारिक प्रणेता क. पुष्पलालप्रति यस अवसरमा हार्दिक श्रद्धासुमन अर्पण गर्दछु ।
क. पुष्पलालको अगुवाईमा नेपाल कम्युनिष्ट पार्टी स्थापना हुनु अगाडि पनि नेपालमा कम्युनिष्ट नेता र कार्यकर्ताहरु थिए । तर, कम्युनिष्ट आन्दोलनको व्यवस्थित, राजनीतिक र सांगठनिक संरचना थिएन । क. पुष्पलालकै अगुवाइमा नेपाली समाजको तत्कालिन अवस्थाको गहिरो विश्लेषणका साथ नेपाली समाज र राजनीतिलाई मार्गनिर्देशन गर्ने विचारद्वारा निर्देशित संगठन– नेपाल कम्युनिष्ट पार्टीको स्थापना भयो । सामन्तवादको अन्त्य र गणतन्त्रको स्थापनालाई राजनीतिक उद्देश्य बनाई स्थापना गरिएको नेपाल कम्युनिष्ट पार्टीले क. पुष्पलालकै अगुवाइमा पार्टीलाई सामाजिक न्याय, समानता र देशभक्तिपूर्ण आन्दोलनको पर्यायका रुपमा अघि बढाउने काम भयो ।
क. पुष्पलालले विचार, दर्शन र सामाजिक मूल्य मान्यताको तहबाट एउटा नयाँ वास्तविक र सम्पूर्ण रुपमा परिवर्तनकारी र वैज्ञानिक विचार प्रारम्भ गरी त्यस विचारलाई व्यवहारमा प्रयोग गर्न संगठन चाहिन्छ भन्ने सैद्धान्तिक आधारमा उहाँले संगठन निर्माण गर्नुभयो । यो नेपालको वाम–लोकतान्त्रिक आन्दोलनमा पुष्पलालको साँच्चिकै श्रेष्ठ योगदान हो ।
देशलाई समृद्ध र बलियो बनाउने साधन सही विचार बोकेको राजनीतिक पार्टी हो । पार्टीलाई बलियो बनाउँदै देशलाई समृद्ध र नागरिकलाई सुखी बनाउन हामी क. पुष्पलालले मार्गनिर्देश गर्नुभएको बाटोमा अघि बढ्नु आवश्यक छ । हामीले सांगठानिक शक्तिको बलमा राज्य सञ्चालनको नेतृत्व गरेका बेला ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षालाई आत्मसात गर्दै जनताको जीवनमा परिवर्तन ल्याउन नेपाललाई सुशासनयुक्त, आधुनिक, समृद्ध र सुविधासम्पन्न देश बनाउने काम अघि बढायौं । नेकपा (एमाले)को सरकारले थालनी गरेका दूरगामी महत्वका काम जनताको साझा राष्ट्रिय उपलब्धिका रुपमा रहेका छन् ।
नेकपा (एमाले) देशभक्तिपूर्ण, लोकतान्त्रिक, परिवर्तनकारी, विकासमुखी र नेपालको सर्वोपरी राष्ट्रिय आकांक्षालाई प्रतिनिधित्व गर्दै जनताबीच सक्रिय छ । नेकपा (एमाले)ले लोकतन्त्रलाई राजनीतिक अधिकारको संकुचित परिभाषाबाट माथि उठाउँदै जनताका सम्पूर्ण आवश्यकता परिपूर्तिको जीवनमूल्य समेटिएको ‘परिपूर्ण लोकतन्त्र’का रुपमा अघि सारेको छ । क. पुष्पलालको सपना साकार पार्न लोकतन्त्रको यही परिभाषालाई व्यवहारमा अनुवाद गर्दै आमजनताको जीवनस्तर माथि उठाउने कार्यक्रमहरु अगाडि बढाउनु हाम्रो कर्तव्य हो । र, पुष्पलालका नीतिहरुको सान्दर्भिकता पनि यिनै कुरामहरुमा छन् ।
क. पुष्पलालको वैचारिक मार्गदर्शनमा मुलुकलाई अग्रसर गराउने संकल्प गर्दै ४५ औं स्मृति दिवसमा उहाँप्रति पुनः श्रद्धासुमन अर्पण गर्दछौं ।
(पोखरेल नेकपा एमालेका कार्यबहाक अध्यक्ष हुनुहुन्छ)













प्रतिक्रिया दिनुहोस्