जनता टाइम्स

७ श्रावण २०८०, आईतवार १९:१०

सरकारले एकैपटक गर्यो २६ सहसचिवको सरुवा, महानगरका प्रमुख कार्यकारीदेखि सिडिओसम्म फेरिए (सूचीसहित)


काठमाडौं, साउन ७ । सरकारले एकैपटक २६ जना सहसचिवको सरुवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आज २६ जना सहसचिवको विभिन्न स्थानीय तह, मन्त्रालय र विभागमा सरुवा गरेको हो ।

सरकारले निजामती किताबखानामा कार्यरत सहसचिव टोकराज पाण्डेयलाई अर्थ मन्त्रालयमा सरुवा गरेको छ भने संघीय मामिलाका प्रदीपराज अधिकारीलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सरुवा गरेको छ । यस्तै ललितपुर महानगरपालिकाका प्रमुख कार्यकारी अधिकृतका रुपमा कार्यरत सहसचिव गणेश अर्याललाई गृह मन्त्रालयमा सरुवा गरेको छ भने नुरहरी खतिवडा आदिवासी जनजाति आयोगको सचिवमा सरुवा हुनुभएको छ ।

यस्तै ध्रुवराज पण्डित भूमि व्यवस्था मन्त्रालय, रामकुमार महतोलाई जाजरकोटको सीडीओबाट संघीय मामिला र आस्मान तामाङ अख्तियारमा सरुवा गरिएको छ । यसैगरी तीर्थराज भट्टराई बागमती प्रदेश, ज्ञानराज सुवेदीलाई राष्ट्रिय सतर्कता केन्द्रबाट भौतिक मन्त्रालय र यमलाल भुसाल राष्ट्रिय योजनामा सरुवा गरेका छन् । यसैगरी सुनिल पौडेल भौतिक पूर्वाधार विकास मन्त्रालय लुम्बिनीमा सरुवा हुनुभएको छ ।

यसैगरी अमृत श्रेष्ठलाई बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय, रामकृष्ण पुडासैनी मधेश प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय, इन्दु घिमिरे हुलाक सेवा विभागबाट महिला वालवालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र रामकृष्ण लामिछानेलाई महिला बालबालिकामा सरुवा गरिएको छ । यस्तै रमेशकुमार सिंहको सिक्टा सिँचाइबाट भौतिक पूर्वाधार विकास मन्त्रालयमा सरुवा भएको छ भने मोहनराज चापागाई कोशी प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयबाट संघीय मामिलाको अतिरिक्त समूहमा सरुवा हुनुभएको छ ।

मन्त्रालयले श्यामकृष्ण थापालाई पोखरा महानगरपालिकाको प्रशासकीय अधिकृतमा सरुवा गरी पोखरामा कार्यरत वीरेन्द्र भारतीलाई ललितपुर महानगरपालिकामा सरुवा गरिएको छ । यस्तै नवीनराज सिंह कोशी प्रदेशको सिँचाइ मन्त्रालयबाट ऊर्जा मन्त्रालय, ऊर्जा आयोगका अरुण कुमार झा कोशी प्रदेशको खानेपानी तथा ऊर्जा मन्त्रालय, भिष्मकुमार भुसाल बागमतीको सामाजिक विकास मन्त्रालय, शंकर पण्डित सहरी विकास मन्त्रालय, निराजन घिमिरे लुम्बिनीको मुख्यमन्त्री कार्यालय र नारायणप्रसाद भट्टराई गृह मन्त्रालयमा सरुवा हुनुभएको छ ।