काठमाडौं, भदौ १९ । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य उपचार पूरा भएको छ । सिंगापुरस्थित नेसनल युनिभर्सिटी अस्पतालमा १४ दिनको नियमित स्वास्थ्य उपचार बुधबार पूरा भएको प्रधानमन्त्रीका निजी चिकित्सक डा. दिलीप शर्माले जानकारी दिनुभयो ।
उपचार सकिएसँगै प्रधानमन्त्री ओली भोलि शुक्रबार थाई एयरवेजको नियमित उडानबाट दिउँसो साढे १२ बजे स्वदेश फर्किने कार्यक्रम तय भएको छ । गत भदौ ५ गते उपचारको लागि सिंगापुर जानुभएका प्रधानमन्त्री ओलीको ६ गतेदेखि प्लाज्मा फेरेसिस बिधिबाट उपचार सुरु भएको थियो । यो मिर्गौलाको एन्टिबडी हटाउने विधि हो । प्लाज्मा फेरेसिस सात चरणसम्म गरिन्छ ।
बुधबार सातौँ चरण पूरा भएसँगै उपचार सकिएको प्रधानमन्त्रीका निजी चिकित्सक शर्माले बताउनु भयो । प्रधानमन्त्रीको उपचार सकिएसँगै निजि चिकित्सक शर्मा बुधवार नै स्वदेश फर्कनुभएको छ । शर्माका अनुसार सातौँ चरणको प्लाज्मा फेरेसिस सकिएको छ । अहिलेसम्म उहाँका रिपोर्ट ठीक छन् । उहाँ स्वस्थ भएर शुक्रबार फर्किंदै हुनुहुन्छ । तर, प्लाज्मा फेरेरिसले ठीक भए–नभएको यकिन अहिल्यै हुँदैन । त्यसले काम गरे–नगरेको केही दिनपछि मात्रै थाहा हुन्छ ।
यसअघि साउन १८ गते सिंगापुर जानुभएका प्रधानमन्त्री ओलीले सोही अस्पतालमा स्वास्थ्य परीक्षण गराएर साउन २७ गते स्वदेश फर्कुनुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्