जनता टाइम्स

१९ भाद्र २०७६, बिहीबार ०८:२०

सरकारले भदौ २३ गतेबाट सहुलियत पसल सञ्चालन गर्दै, यस्ता छन् छुट


काठमाडौं, भदौ १९

सरकारले चाडबाडलाई लक्ष्य गरी भदौ २३ गतेदेखि सहुलियत पसल सञ्चालन गर्ने भएको छ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवसहित मंगलबार बसेको बैठकले भदौ २३ गतेदेखि सहुलियत पसल सुरु गर्ने निर्णय गरेको हो ।

अघिल्लो वर्ष असोज १२ गतेदेखि सहुलियत पसल सञ्चालन भएको थियो । सहुलियत पसलमा बजारमा प्रचलित मूल्यभन्दा प्रतिकिलो २ देखि ५० रुपैयाँसम्म छुट दिइने मन्त्रालयका उपसचिव उर्मिला केसीले बताउनु भयो । नुनमा बजार भाउभन्दा दुई रुपैयाँ छुट दिइनेछ । चामल मोटामा प्रतिकिलो ५ रुपैयाँ, चामल मसिनोमा प्रतिकिलो १० रुपैयाँ छुट दिइने भएको छ ।

गेडागुडीमा प्रतिकिलो १० रुपैयाँ, चिनीमा प्रतिकिलो ५ रुपैयाँ छुट दिइने भएको छ । यसैगरी खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले बिक्री गर्ने खसीबोका र च्यांग्रामा किलोको १० रुपैयाँ छुट दिने जनाइएको छ । चाडबाडको मुखमा व्यवसायीले मनोमानी मूल्य लिँदै आएका छन् । त्यसलाई हस्तक्षेप गर्न पनि छुट दिन लागेको जनाएको छ ।

दुग्ध विकास संस्थानले प्रतिलिटर घिउमा ५० रुपैयाँ छुट दिने संस्थानका योजना तथा बजार व्यवस्थापन विभाग प्रमुख सञ्जीव झाले बताउनु भयो । हाल घिउको मूल्य ९ सय रुपैयाँ पर्छ । स्टक अफर रहेकाले प्रतिकिलो ८ सय ५० रुपैयाँमा बिक्री भइरहेको छ । उक्त मूल्य छठसम्म कायम हुनेछ । यस्तै पनिरमा पनि प्रतिकिलो १० रुपैयाँ छुट दिइने संस्थानले जनाएको छ । साल्ट ट्रेडिङका अनुसार साल्टले उपत्यकामा ९ स्थान, उपत्यका बाहिर २४ स्थानमा पसल सञ्चालन गर्नेछ । तीनवटा घुम्ती मोबाइल सेवा पनि सञ्चालन गरिनेछ ।