जनता टाइम्स

१२ श्रावण २०८०, शुक्रबार १९:०१

प्रचण्डबारे ओलीको टिप्पणी : एमालेको रकममा खाए-पिए, तर हिसाब किताब बुझाएनन


भक्तपुर, साउन १२ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रसँग पार्टी एकता हुनै नसकेको बताउनु भएको छ ।

नेकपा एमाले जनसंगठन संमन्वय संयत्रको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पार्टी एकता प्रचण्डको चाहना नै नरहेको बताउनु भयो । ‘माओवादीसँग एकता भनिए पनि एकता हुँदै भएन’ अध्यक्ष ओलीले भन्नुभयो, ‘हामीले छुट्टै भेला गरेनौं । तर प्रचण्डले आफ्नो पार्टी जिवितै राखे । बैठक गरे ।’

अध्यक्ष ओलीले प्रचण्डले माओवादी पार्टी जिवितै राखेकोले नेकपा बिभाजन भएको तथ्य पनि सुनाउनु भयो । प्रचण्डले माओवादीको पार्टी कार्यालय समेत जिवितै राखेको ओलीको भनाइ थियो ।तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) हुँदा एमालेकै रकममा प्रचण्ड चलेको पनि ओलीले बताउनु भयो ।

‘प्रचण्डले एमालेको रकम लिए, एमालेको रकममा चले, एमालेको रकम खाए, पिए, सबै गरे तर आफ्नो हिसाब किताब बुझाएनन्, रकम बुझाएनन,’ अध्यक्ष ओलीले भन्नुभयो । पार्टी कब्जा गर्न नसके फेरि अलग हुनुपर्ने बुझेर प्रचण्डले हिसाबकिताब र पार्टी कार्यालय अलग गरेको पनि ओलीको भनाई थियो ।