जनता टाइम्स

१३ श्रावण २०८०, शनिबार १२:४६

माधव नेपालबाट पार्टी चल्दै नचल्ने निश्कर्षमा कसरी पुगिन रामकुमारी झाँक्री ? यी हुन मुख्य आधार


काठमाडौं, साउन १३ । नेकपा एकीकृत समाजवादीका सचिव रामकुमारी झाँक्रीले पार्टी अध्यक्ष माधवकुमार नेपाल र पार्टीप्रतिको चरम बितृष्णा ओकल्नुभएको छ । सेटोपाटीका पत्रकार अक्षर काकासँगको कुराकानीमा सचिव झाँक्रीले एमाले बिभाजन गलत रहेकोमा पश्चाताप मात्र गर्नुभएको छैन, पार्टी अध्यक्ष माधव नेपालभित्र मौलाएको डरलाग्दो रोगको उजागर गर्दै अव अगाडि जानै नसक्ने तथ्यलाई सार्वजनिक गर्नुभएको छ ।

‘कस्तो पार्टी बनाएँ ? आफैं अटाइनँ, म पार्टी गठनको सुरूआती ४२ दिन मात्रै मूल प्रवाहमा थिएँ, त्यसपछि मै नअटाउने पार्टी बन्यो,’ सचिव झाँक्रीको यो खुलासाले नेकपा एकीकृत समाजवादी नेतृत्वको चाहना र कुण्ठामा चुपचाप लालमोहर लगाउनेहरु मात्रै रहन सक्छन भन्ने प्रष्ट सन्देश दिएको छ । नेकपा एमाले बिभाजन गर्दा माधवको हात समातेर निर्वाचन आयोग पुर्याउने झाँक्रीमै यो प्रकारको चरम बितृष्णा कसरी पैदा भयो त ? यस्को मुल कारण झाँक्रीले अध्यक्ष माधवलाई नै किटान गर्नुभएको छ ।

उहाँले भन्नुभएको छ, ‘पार्टी संरचना चरम केन्द्रिकृत बनाइयो, हामीलाई थाहै नदिइ पार्टी संरचना एमालेको आठौं महाधिवेशनभन्दा अगाडि फर्काइएको रहेछ,’ झाँक्रीले भन्नुभएको छ, ‘ पार्टीले पत्तै नपाइ सातौं महाधिवेशनताकाको संरचना, केन्द्रीयताभित्रको पनि निरंकुशताको बाटो समातिसकेको रहेछ ।’

१० बुँदेमा माधव नेपालले नै धोका दिए, माधव नेपाल सहमत भएपछि मात्रै हस्ताक्षरको चाँजोपाँजो मिलाइएको रहेछ, मैले यो तथ्य पछि मात्रै थाहा पाएँ

एमालेको आठौं महाधिवेशनअघि महासचिव नै सर्वेसर्वा हुने ब्यवस्था थियो । तात्कालिन बरिष्ठ नेता तथा हालका एमाले अध्यक्ष केपी शर्मा ओलीले सातौं महाधिवेशनमा बहुपदीय संरचनाको प्रस्ताव गर्दा माधव नेपालले आफू सर्वेसर्वा महासचिव हुने कुरामा बाधक बनेको भन्दै अस्वीकार गर्नुभएको थियो । आठौं माधिधवेशनले यो प्रस्तावलाई सर्वसम्मत स्वीकार गरेको थियो । जुन अहिले अभ्याशमा छ । नेकपा एकीकृत समाजवादीले पनि एमालेकै बिधानअनुसारको संरचना बनाएको छ ।

झाँक्रीले माधवको अर्काे बेइमानीको पनि पोल खोल्नुभएको छ, ‘१० बुँदेमा माधव नेपालले नै धोका दिए’ भन्ने निश्कर्ष सुनाएर । ’कार्यदलले तयार पारेको १० बुँदे सम्झौताको अन्तिम मस्यौदा पनि माधव नेपालको सहमतिमै भएको रहेछ। यहाँसम्म कि मस्यौदा तयार पार्ने, माधव नेपाललाई देखाउने, असहमत भएको वाक्यांश, शब्द हटाएर पुनः मस्यौदा तयार पार्ने गरिएको रहेछ । अन्तिममा माधव नेपाल सहमत भएपछि मात्रै हस्ताक्षरको चाँजोपाँजो मिलाइएको रहेछ,’ झाँक्रीले अक्षर काकासँगको कुराकानीमा भन्नुभएको छ, ’मैले यो तथ्य पछि मात्रै थाहा पाएँ ।’

भ्रष्टाचारको ग्रासरूट संरचना नै उपभोक्ता समिति रहेछ। त्यो थाहा पाएपछि त्यसलाई मैले बन्द गरेँ । तर त्यो किन बन्द गर्ने ?, चुनाव आएको छ, कार्यकर्ता संरक्षण गर्ने बाटो पनि हुन्छ, चुनावको मुखैमा छौं जस्ता विचार प्रकट हुन थाले

सचिव झाँक्रीले माधव नेपाल भ्रष्टाचारबिरोधी होइनन, भ्रष्टाचारको संरक्षणमै रहन्छन भन्ने तथ्य पनि प्रमाणसहित ओकल्नु भएको छ । भ्रष्टाचार रोक्ने काम गर्दा नगर्न नेतृत्वबाटै दवाव आयो भनेर उहाँले माधवको मुखुण्डो उदांगो बनाउनु भएको हो । झाँक्रीका अनुसार ‘उपभोक्ता समितिमार्फत हुने खरिद कार्य र भ्रष्टाचार बढाउने कामको बाटो बन्द गरी उपभोक्ता समितिमार्फत हुने सबै खरिद कार्य रोक्ने निर्णय गरेपछि माधवले त्यो काम नगर्न दवाव दिनुभएको थियो ।

‘भ्रष्टाचारको ग्रासरूट संरचना नै उपभोक्ता समिति रहेछ। त्यो थाहा पाएपछि त्यसलाई मैले बन्द गरेँ । तर त्यो किन बन्द गर्ने ?, चुनाव आएको छ, कार्यकर्ता संरक्षण गर्ने बाटो पनि हुन्छ, चुनावको मुखैमा छौं जस्ता विचार प्रकट हुन थाले,’ नेतृत्व तहबाट आएको दबाब सम्झिँदै झाँक्रीले भन्नुभएको छ । यी सवै घटनाक्रम बयान गरेर रामकुमारी माधवबाट पार्टी चल्दै नचल्ने निश्कर्ष पनि सुनाउनु भएको छ । सचिव झाँक्रीले बिचारलाई समेत माधवले आफ्नो स्वार्थअनुकुल ब्याख्या गरेको तथ्य राखेर यो पार्टी चल्दैन भन्ने निश्कर्षमा पुगेको तथ्य ओकल्नुभएको छ ।