जनता टाइम्स

१४ श्रावण २०८०, आईतवार १३:०७

सत्ता टिकाउन सरकार जस्तोसुकै घटिया काम पनि गर्न थाल्यो : प्रदीप ज्ञवाली


धनगढी, साउन १४ । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले वर्तमान सरकार सत्ता टिकाउन जस्तोसुकै घटिया काम पनि गरिरहेको भन्दै आपत्ति जनाउनु भएको छ ।

नेकपा एमाले सुदूरपश्चिम प्रदेश स्कुल विभागले आजबाट आयोजना गरेको प्रशिक्षण कार्यक्रमको उदघाटन कार्यक्रममा उपमहासचिव ज्ञवालीले सरकार सत्ताका लागि जेसुकै काम गरिरहेको बताउनु भएको हो ।

’सत्ता टिकाउन अहिलेको सरकार जस्तोसुकै घटिया काम पनि गर्न थाल्यो’, उपमहासचिव ज्ञवालीले भन्नुभयो । उहाँले ललिता निवास प्रकरणमा निर्णय गर्नेहरु गठबन्धनमै रहे पनि सरकारले उनीहरुसँग सोधपुछ गर्ने सम्मको हिम्मत पनि नगरेको बताउनु भयो ।

’ललिता निवास जग्गा प्रकरणमा निर्णय गर्नेहरु गठबन्धनमै छन, सरकारले उनीहरुलाई सोधपुछसमेत गरेन, यसलाई कसरी निष्पक्ष भन्ने ?’, ज्ञवालिको प्रश्न थियो । उहाँले अहिले मुलुकमा व्यापार घाटा डरलाग्दो अवस्थामा रहे पनि सरकार त्यसबारेमा छलफलमै जान नचाहेको बताउनु भयो । ज्ञवालीले सरकारको रवैया मुलुक डुवाउनेतिर रहेको भन्दै सवै एकजुट बनेर अघि बढनुपर्ने बताउनु भयो ।

उपमहासचिव ज्ञवालीले सरकारले आफ्नो कमजोरी ढाकछोप गर्न प्रचारात्मक काम बढी गरिरहेको भन्दै लडाकु शिविरको छानबिन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई चुनौती दिनुभयो । ‘भुटानी शरणार्थी र ललिता निवास प्रकरणमा मात्रै किन आइरहेको छ लडाकु शिविरको छानबिन गर्ने सक्ने आट छ ?’ ज्ञवालीको प्रश्न थियो । उहाँले २२ पटक सम्म सुन छाडेर २३ औँ पटकमा पक्राउ गरेको भन्दै त्यसमा पनि सरकारको मिलेमतो रहेको बताउनु भयो ।

‘२३ औँ पटकमा पक्राउ गरिएको रहेछ । २२ पटक सम्म त छुट्यो नि । ८ दिन पछि सुन निकालिसकेको गोदाममा छापा मारेर के गर्न खोजेको हो ? २२ पटक सम्म सुज तस्करी गर्नेहरूलाई खोज्नु पर्दैन ? मुख्य नाइके को को हुन, खोज्नु पर्दैन ?’ ज्ञवालीको प्रश्न थियो ।