काठमाडौं, साउन १५ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले बलियो राष्ट्रिय शक्ति निर्माणबिना मुलुक बलियो नहुने निश्कर्ष सुनाउनु भएको छ । नेकपा एमाले केन्द्रीय प्रचार तथा प्रकाशन बिभागको बैठकलाई आज सम्बोधन गर्दै महासचिव पोखरेलले यस्तो निश्कर्ष सुनाउनु भएको हो ।
‘दूरदर्सी नेतृत्व, बलियो दल र राजनीतिक नेतृत्व नभए देश बन्दैन, पछाडि पर्छ,’ महासचिव पोखरेलले भन्नुभयो, ‘धेरै दल होइन, बपलयो दल बनाउन जरुरी छ, बलियो दल नबनाई राज्य बलियो हुँदैन ।’ बिगत ६ दशकसम्म दलहरुले नै जनतालाई राज्यप्रति बिद्रोही मनोबिज्ञान बनाएको भन्दै महासचिव पोखरेलले अहिले पनि जनताको त्यो मनोबिज्ञान यथावत रहेकोले बदल्न जरुरी रहेको बताउनु भयो ।
‘बिगत ६ दशकसम्म सधैभरी जनतालाई राज्यको बिरुद्धमा उतार्ने काम भयो, जनतामा राज्यप्रतिको बिद्रोही ममनोबिज्ञान रह्यो । अव जनतालाई राज्यको निर्माताका रुपमा बदल्न जरुरी छ । त्यो बिद्रोही मनोबिज्ञानमा बदलाव जरुरी छ, यसैतर्फ हामी सवैको ध्यान जानुपर्छ,’ महासचिव पोखरेलको भनाई थियो । उहाँले बिद्रोही मनोबिज्ञानबाट राष्ट्र निर्माताको मनोबिज्ञानमा बदलाव ल्याउन सवै पक्ष लाग्नुपर्ने निश्कर्ष पनि सुनाउनु भयो । महासचिव पोखरेलले राजनीतिक अस्थिरताबाट मुलुकलाई कसरी स्थायित्व बनाउने भन्नेतर्फ पनि सवै ध्यान दिन सवैलाई सुझाव दिनुभयो ।
‘देशको समृद्धि बलियो राष्ट्रिय शक्तिसँग जोडिएको छ । तर ठीक उल्टो भइरहेको छ । यसलाई रोक्न सकेमात्रै मुलुक बनाउन सकिन्छ, जनतामा रहेको भ्रमलाई चिरेर यो काम गर्न जरुरी छ,’ महासचिव पोखरेलले भन्नुभयो । उहाँले मुलुकमा अहिले ३ वटा प्रमुख चुनौती रहेको भन्दै ती चुनौतीलाई सामना गरेर बिजय प्राप्त गर्नुपर्ने बताउनु भयो । अस्थिरता र अराजकता, सामाजिक अराजकता, साँस्कृतिक मूल्यहरुमाथिको आक्रमण, धर्मान्तर, धार्मिक अतिवाद, साँस्कृतिक मूल्य मान्यतामाथिको आक्रमण जस्ता बिषय चुनौतीका रुपमा ब्याख्या गर्नुभयो ।
‘अराजकता सामाजिक अराजकतामा रुपान्तरित भएको छ, यसलाई बदल्नु पर्नेछ । साँस्कृतिक मूल्यहरुमाथि आक्रमण सुरु भएको छ । साँस्कृतिक बिरसत जोगाउनु पर्ने छ,’ चुनौती उल्लेख गर्दै महासचिव पोखरेलले भन्नुभयो, ‘बैधानिक अर्थतन्त्रलाई कमजोर कमजोर बनाउने र अबैधानिक अर्थतन्त्रलाई बलियो बनाउने काम अर्काे चुनौती हो । अहिलेको गठन्धन यही काममा लागेको छ, त्यसैले मुलुक आर्थिक संकटमा परेको हो ।’
महासचिव पोखरेलले भ्रमपूर्ण समाचारको तत्काल प्रतिवाद गर्ने र सही सूचना जनतामा पुर्याउने कामलाई पनि प्राथमिकताका साथ राखेर अघि बढन जरुरी रहेको बताउनु भयो । महासचिव पोखरेलले एमालेबिरुद्ध भइरहेको दुश्प्रचार र घेरावन्दीलाई सही ढंगबाट प्रतिवाद गर्दै जनतामा सही सूचना पुग्ने अवस्था सिर्जना गर्न सक्दा मिसन चौरासीमा एमालेको बहुमतलाई कसैले राक्न नसक्ने ठोकुवा गर्नुभयो ।
‘प्रचारको काममा ब्यवस्थित रुपमा गए मिसन ८४ मा बहुमत संभव छ, हामी एकल बहुमत ल्याउन सक्छौं,’ महासचिव पोखरेलको भनाई थियो । बिभागका प्रमुख राजेन्द्र गौतमको अध्यक्षतामा बसेको बैठकमा महासचिव पोखरेलले केन्द्रीय प्रचार बिभागमा मनोनीत भएका नयाँ सदस्यहरुलाई सपथ गराउनु भएको थियो ।














प्रतिक्रिया दिनुहोस्