जनता टाइम्स

१९ भाद्र २०७६, बिहीबार १५:२७

संविधान विरोधी तत्वसँग प्रतिवाद गर्ने प्रचण्डको घोषणा


काठमाडौं, भदौ १९ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधान विरोधी तत्वहरुसँग प्रतिवाद गर्ने अभियानमा नेकपा लागेको घोषणा गर्नुभएको छ । केही समययता संघीय लोकतान्त्रिक गणतन्त्रकै बिरुद्ध अभियान चल्न थालेपछि अध्यक्ष प्रचण्डले ब्यवस्थाको रक्षा र संबिधानको कार्यान्वयनका लागि प्रतिवादको रणनीतिमा नेकपा रहेको प्रष्ट पार्नुभएको हो ।

आजबाट काठमाडौंमा सुरु भएको दलित सम्बन्धि राष्ट्रिय सम्मेलनलाई उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले संविधान विरोधी तत्वहरुसँग प्रतिवादको निश्कर्षमा नेकपा पुगेको भन्दै त्यसमा साथ दिन सबै समुदायलाई अपिल गर्नुभयो । अध्यक्ष प्रचण्डले दलित समुदायले प्राप्त गरेको अधिकारलाई संस्थागत गर्दै थप अधिकारका लागि सङ्घर्ष गर्नुपर्ने धारणा पनि राख्नुभयो ।

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष प्रचण्डले नेपालको हरेक परिवर्तनमा दलित समुदायको अतुलनीय योगदान रहेको चर्चा गर्नुभयो । ‘हामीले गरेको सङ्घर्षमा दलितहरूले सबैभन्दा बढी योगदान दिएका थिए, आन्दोलन नै उत्प्रेरित गर्ने खालको थियो,’ प्रचण्डले भन्नुभयो । उहाँले दुई दिनसम्म सञ्चालन हुने सम्मेलनमार्फत अधिकारका लागि एकीकृत सङ्घर्षको थालनी हुने विश्वास व्यक्त गर्नुभयो ।