काठमाडौं, साउन १७ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले नेपाली राजनीति दुई धारमा विभाजन भएको बताउनुभएको छ । तुल्सीलाल स्मृति दिवसको अवसरमा बुधबार आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले राष्ट्रिय हितको रक्षा संवर्धन गर्ने धार र गठबन्धनको धारा गरी देश दुई धारमा विभाजन भएको बताउनु भएको हो ।
सत्ताधारीले खुट्टा टेक्न नदिएको अवस्थामा पनि उठेर आएको कम्युनिष्ट पार्टीलाई अब कसैले छुन नसक्ने ठोकुवा पनि ओलीले गर्नुभयो । अहिले पनि जनताबाट विस्थापित गर्न एमालेविरुद्ध विभिन्न खालका गलत प्रचार गर्ने काम भइरहेका भन्दै उहाँले अव जस्ताको तस्तै जवाफ दिनुपर्ने आवश्यकता औल्याउनु भयो । एमालेको आन्दोलन जनताको आन्दोलन र राष्ट्रियताताको आन्दोलन भएकोले कसैले समाप्त पार्न नसक्ने उहाँले बताउनु भयो । ‘हामी बाहेक अरूले देश चलाउनै सकेनन, अब सक्दैनन, १० टाउके भएर चलाउँदा पनि चलाउन सकेनन’, अध्यक्ष ओलीले भन्नुभयो ।

उहाँले अहिलेको सरकार खुलेयाम तस्करीको धन्दा चलाइरहेको तथ्य पनि राख्नुभयो । सियो पनि छिराउन नसक्ने विमानस्थलबाट दिनको क्विन्टल सुन सरकारले सेटिङमा छिराएको उहाँको भनाई छ । ‘यो सरकार आमालाई ल्याइदिएको एउटा सिक्री खोसेर लान्छ, आफू भने दिनको सय किलो सुन छिराउँछ,’ अध्यक्ष ओलीले भन्नुभयो ।
सुन तस्करी घटनामा सरकार आफैँ संलग्न भएको बताउँदै अध्यक्ष ओलीले त्यसको छानबिन आयोग बनाउन भन्दा आफ्नो पोल खुल्ने भएकाले सरकारले नमानेको बताउनुभयो । भन्सारबाट त्यत्रो सुन छिर्दा थाहा नपाउने सरकारले छानबिन गर्न नसक्न पनि ओलीले बताउनु भयो । यही कारण एमालेले निष्पक्ष छानबिन अयोग आवश्यक रहेको अडान राखेको उहाँले बताउनुभयो ।

सुन तस्करी प्रकरणमा सांसदले बोल्छन भनेर सरकारले संसद् समेत चल्न नदिएको पनि उहाँले बताउनु भयो । एमाले सदन चलाउनु पर्छ भन्ने पक्षमा रहेको भए पनि सरकारले सभामुखलाई दबाब दिएर सूचना टाँस गरेर प्रतिनिधि सभा बैठक स्थगित गराएको उहाँको भनाई छ । मुलुकमा हाकाहाकी तस्करी भइरहेको यस्तो अवस्थामा पनि कांग्रेस पार्टी नबोलेको ओलीको भनाई छ । उहाँले कांग्रेस सभापति शेरबहादुर देउवालाई क्विन्टलका क्विन्टल सुन तस्करी भएको थाहा छ कि छैन ? भन्दै प्रश्न पनि गर्नुभयो ।
अहिले देशको लागि बलियो राष्ट्रिय शक्ति आवश्यक रहेको उहाँले बत्ताउनुभयो । शान्ति सुव्यवस्था कायम गर्ने लोकतान्त्रिक शक्ति देशको आजकाले आवश्यकता रहेको ओलीको भनाई छ ।














प्रतिक्रिया दिनुहोस्