जनता टाइम्स

१८ श्रावण २०८०, बिहीबार ०८:४८

‘माथिको आदेश’ मा सुन तस्कर दावाको नेपाली नागरिकता बनाइएको खुलासा


काठमाडौं, साउन १८ । वडाअध्यक्षको सिफारिसबिनै बनाइएको तिब्बतीयन मुलका बेल्जियम नागरिक दावा छिरिङको नागरिकता ‘माथिको आदेशमा’ बनाएको खुलासा भएको छ ।

जिल्ला प्रशासन कार्यालय काभ्रेमा अनुसूचीसमेत फेला नपरेपछि शुरू भएको प्रारम्भिक अनुसन्धानले सुन तस्करमा संलग्न भनिएका दावा छिरिङ भन्ने निमा तामाङको नागरिकता ‘माथिकै आदेशमा’ बनाएको खुलासा भएको हो । निमालाई नागरिकता दिँदा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) र नेपाली कांग्रेसको संयुक्त सरकार थियो । सरकारको नेतृत्व नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गर्नुभएको थियो ।

काभ्रेपलाञ्चोक जिल्लामा तात्कालीन समयमा देउवानिकट शिवप्रसाद सिंखडा नै प्रमुख जिल्ला अधिकारी हुनुहुन्थ्यो । कांग्रेसमा सक्रिय रहनुभएका सिंखडाले तत्कालीन प्रधानमन्त्रीको सचिवालयबाट ठाडो आदेश दिएपछि कर्मचारीहरूलाई निमाको नागरिकता बनाउन निर्देशन दिएको स्रोतले बताएको छ । ‘कागजातभन्दा पनि प्रक्रिया पूरा भएको जस्तो लाग्छ, मेरो नाम राखेर दिएको नागरिकताप्रति म आफैंलाई शंका छ,’ निमाको नागरिकतामा हस्ताक्षर गरेका अधिकृत झपेन्द्रराज खरेलले भन्नुभएको छ । खरेलले अभिलेखमा आफ्नो नाम भए पनि आफूले हस्ताक्षर नगरेको बताउनु भएको छ ।

खरेल अहिले मेलम्ची नगरपालिकामा कार्यरत हुनुहुन्छ । निमाको नागरिकतामा हस्ताक्षर गरेका अधिकृत झपेन्द्रराज खरेलले नेपाल समाचारपत्रमा कार्यरत पत्रकार मोतिराम तिमल्सिनासँगको कुराकानीमा भन्नुभएको छ, ‘धेरैअघिको कुरा भएकाले सम्झन कठिन छ । तर, अभिलेखमा मेरो हस्ताक्षर भए पनि नागरिकतामा गरिएको हस्ताक्षरमा शंका छ ।’

जिल्ला प्रशासन कार्यालयमा सोही दिनको अभिलेखमा खरेलले ११ वटा नागरिकतामा मात्रै हस्ताक्षर गरेको देखिन्छ । ४१ वटा नागरिकता वितरण भएकोमा बाँकी नागरिकतामा सिताराम थापाद्वारा हस्ताक्षर गरिएको छ । ३० जनाको अनुसूची फेला पर्दा उनै निमाको मात्रै प्रशासन कार्यालयमा अनुसूची फेला परेको छैन ।
निमालगायतका ३ सय ५० भन्दा धेरै व्यक्तिको नागरिकता अभिलेखमा राखेर अनुसूची गायव बनाइएको जिल्ला प्रशासन कार्यालयकै एक कर्मचारीले बताएका छन । नमोबुद्ध नगरपालिका वडानम्बर ११ ठेगाना राखेका निमाले बाबु पेमा तामाङ बनाएका छन ।

नागरिकतामा सनाखत गर्ने बेला उभ्याइएका पेमा को थिए ? विदेशी निमाले नागरिकता लिँदा पेस गरेका कागजात किन गायब बनाइयो ? वा कागजात नै लिइएन ? जिल्ला प्रशासन कार्यालयको रेकर्डमा नागरिकता लिँदा अनुसूची पनि नभएको उल्लेख छ । पेमाको नागरिकताको फोटोकपी र निमाको जन्मदर्ता पेस गरिएको उल्लेख छ । सर्वसाधारणले नागरिकता बनाउँदा शैक्षिक योग्यताको प्रमाणपत्रका साथै अन्य कागजात अनिवार्य उपलब्ध गराउनुपर्ने व्यवस्था छ । तर, निमाका हकमा कुनै प्रक्रिया पूरा गरेको देखिँदैन ।

दावा भनिने निमाले वि.सं. २०७४ पुस २० गते काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका ११ बाट वंशजको नागरिकता निकालेका थिए । नागरिकता लिएको एक महिनामै उनले वि.सं. २०७४ माघ ११ गते नेपाली राहदानी निकालेका थिए । नेपाली नागरिकता र राहदानीमा उनको जन्म मिति २०४१ वैशाख १५ गते उल्लेख छ । अहिले उनी नेपाली र बेल्जियम दुवै मुलुकको राहदानी प्रयोग गर्छन ।

बेल्जियमको राहदानीमा भने उनको जन्म मिति २०४० चैत ३ गते राखिएको छ भने ठेगाना लिथाङ उल्लेख गरिएको छ । लिथाङ तिब्बतमा पर्छ । नेपाली राहदानीको म्याद १ मार्च २०२८ सम्म र बेल्जियम राहदानीकोे म्याद ३ जनवरी २०३० सम्म छ । निमा तामाङको नागरिकता नम्बर ३०–१–७४–११८६८ रहेको छ ।

तस्करको जालोले ‘सेटिङ’का आधारमा अन्य व्यक्तिको पनि नागरिकता बनाएको अनुसन्धानले देखाएको छ । तर, गृह मन्त्रालयले अहिलेसम्म यस विषयमा अनुसन्धान गरेको छैन । स्रोतका अनुसार निमालाई नागरिकता दिन काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट एकै दिन अधिकृत भुपेन्द्र पाण्डेय र सुब्बा रामचन्द्र अर्याललाई काभ्रे सरुवा गरिएको थियो ।

वि.सं.२०७३ कार्तिक २२ गते हाजिर भएका पाण्डेयको कार्यकालमा ३ सय ५० वटा नागरिकता अनुसूचीबिना नै जारी भए । उनलाई तत्कालीन गृहमन्त्री विमलेन्द्र निधीले काठमाडौंबाट काभ्रे पठाउनुभएको थियो । भुपेन्द्रले आफू मात्रै फसिने भन्दै तत्कालीन अधिकृतहरूलाई हस्ताक्षर गराउँदै आउनुभएको थियो । तत्कालीन गृहमन्त्री निधीले काभ्रे पठाएका अधिकृतहरूले ३ देखि ५ लाखसम्म लिएर नागरिकता बिक्री गरेका थिए ।

नागरिकतामा चलखेल गरेको सूचना पाएसँगै वि.सं. २०७४ जेष्ठ मसान्तभित्रै भुपेन्द्रलाई सरुवा गरिएको थियो । यसरी अहिले आएर फेरि सो घटना सार्वजनिक हुँदा पनि गृह मन्त्रालयले मौनता साँध्नुलाई रहस्यमय रूपमा हेरिएको छ ।