जनता टाइम्स

१८ श्रावण २०८०, बिहीबार १०:३१

८५ प्रतिशत विकास खर्च र एउटाबाहेक सबै दलको सहभागितामा प्रदेशको नामकरण गर्न सफल भइयो : हिक्मत कार्की


बिराटनगर, साउन १८। कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री तथा एमाले संसदीय दलका नेता हिक्मत कार्कीले आफू नेतृत्वको सरकारले छोटो अवधिमा वित्तीय तथा भौतिक विकासको प्रगतिमा उल्लेख्य काम गर्न सफल भएको बताउनु भएको छ ।

निवर्तमान मुख्यमन्त्री कार्कीले आज प्रेस विज्ञप्ति जारी गर्दै पुँजीगत खर्चतर्फ करिब ८५ प्रतिशतको प्रगति हासिल भएको भन्दै यस्तो बताउनु भएको हो । कार्कीले प्रदेश सभामा उपस्थित एउटा बाहेक सबै दलहरूको समर्थनमा प्रदेशको नामकरण गर्न सकिएको तथ्य पनि खोल्नुभएको छ ।

छोटो अवधिमा ८५ प्रतिशत विकास खर्चको प्रगति गर्न सफल भइयो, सबै दलको सहभागितामा प्रदेशको नामकरण भयो, कार्कीले भन्नुभएको छ । कार्कीले प्रदेश संरचनाबारे जनतामा रहेको नकारात्मक भ्रम चिर्नका लागि प्रदेशका मन्त्रालय १३ बाट घटाएर आफूले ९ मा सीमित गरेकोले जनतामा सकारात्मक सन्देश प्रवाह भएको बताउनु भएको छ ।

नेता कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङले संविधान मिचेकोमा भने दुःख व्यक्त गर्दै मुख्यमन्त्री उद्धव थापाको नेतृत्वमा पछिल्लो पटक बनेको सरकारलाई बधाई दिनुभएको छ ।