जनता टाइम्स

१८ श्रावण २०८०, बिहीबार १७:५६

सुन तस्करीमा जोडिएका आफ्ना नेतालाई उन्मुक्ति दिएर अनुसन्धानलाई अन्यत्रै मोड्ने काममा सरकार लाग्यो : प्रदीप ज्ञवाली


बुटवल, साउन १८ । नेकपा एमालेका उपमहासचिव प्रदिप ज्ञवालीले विभिन्न भ्रष्टाचारका काण्डहरुमा वर्तमान सरकारले आफ्ना नेताहरुलाई जोगाउने प्रपञ्च गरिहेको तथ्य खोल्नुभएको छ ।

एमालेका तात्कालिन संगठन बिभाग प्रमुख स्व. जीवराज आश्रितको ८० औं जन्मजयन्तीको अवसरमा आज बुटवलमा आयोजित विचार गोष्ठीमा बोल्दै उपमहासचिव ज्ञवालीले यस्तो बताउनु भएको हो । उहाँले पछिल्लो समय चर्चामा रहेको सुनकाण्डमा आफ्ना नेताहरुको नाम जोडिएर आएपछि सरकार उनीहरुलाई बचाउने प्रयासमा लागेको पनि बताउनु भयो ।

सुन तस्करीका घटनामा नाम जोडिएका नेताहरुलाई उन्मुक्ति दिएर अनुसन्धानलाई अन्यत्रै मोड्ने काम पनि भइरहेको ज्ञवालीले बताउनु भयो । सरकार आफ्ना नेता जोगाउने खेलमा लागेकै कारण एमालेले भ्रष्टाचार छानविनका लागि उच्चस्तरीय आयोग गठनको माग अघि बढाएको ज्ञवालीले बताउनु भयो । ‘सरकार आफैको हात सफा छैन । यसले न अनुहारको कालो पुछ्न सक्छ, न ऐनाको कालो पुछ्न सक्छ,’ भ्रष्टाचार सम्बन्धि मुद्दामा सरकारले गरिरहेको छानविनप्रति शंका व्यक्त गर्दै नेता ज्ञवालीले भन्नुभयो ।

ज्ञवालीले मुलुकको आर्थिक अवस्थाप्रति सरकार गम्भिर नभएको टिप्पणी गर्नुभयो । बर्तमान सरकारको रवैयाका कारण मुलुकले इतिहासकै कमजोर आर्थिक अवस्थाको सामना गर्नुपर्ने पनि उहाँले बताउनु भयो ।

‘इतिहासमै पहिलो पटक राजश्व संकलन गरेर कर्मचारीलाई तलब पुर्याउन समेत नसक्ने अवस्था सिर्जना भएको छ । निर्माण व्यवसायीहरुले काम पूरा गरेर पनि ८० अर्ब बढी भुक्तानी पाउन सकेका छैनन,’ ज्ञवालीले थप्नुभयो, ‘प्रत्येक दिन आर्थिक संकटका कारण व्यवसायीले आत्महत्या गर्नुपरेको छ । तर सरकार र मन्त्रीहरु भने केही नभएको जस्तो गरेर बसिरहेका छन ।’

प्रत्येक दिन व्यवसायीक प्रतिष्ठान तथा सटरहरु खाली हुँदै गएको उल्लेख गर्दै उहाँलेसरकारले सीमिति व्यपारीलाई मात्रै पोस्ने काम गरेको तथ्य राख्नुभयो । करको दरमा स्वार्थ अनुसार परिमार्जन गर्ने गरेका उदाहरणहरु प्रस्तुत गर्दै नेता ज्ञवालीले वर्तमान सरकारले सीमित व्यापारीलाई काखी च्यापेर अरुलाई पाखा लगाउने काम गरेको ठोकुवा गर्नुभयो ।

पूर्वपरराष्ट्रमन्त्री समेत रहनुभएका ज्ञवालीले सरकारले परराष्ट्र नीतिको पनि धज्जी उठाएको बताउनु भयो । नेपालको असंग्न राष्ट्रको नीतिलाई कुल्चेर एक पक्षलाई मात्रै काखी च्याप्ने सरकारको प्रवृत्तिले मुलुकमा सुरक्षा चुनौती समेत थपिएको उहाँको भनाई छ ।

‘हाम्रो राष्ट्रियतामाथि कालो बादल मडारिएको छ, सरकार भने आफ्नो सत्ता टिकाउनका लागि असंलग्न राष्ट्रको नीतिलाई तोड्दै गएको छ,’ ज्ञवालीले भन्नुभयो । दक्षिण एसियमा शक्ति राष्ट्रहरुको उदय हुँदै जानु र युरोपियन मुलुक तथा सर्व शक्तिमान मानिएको अमेरीकको प्रभाव कम हुँदै जाँदा शक्ति संघर्षले त्यसको नकारात्मक प्रभाव नेपालमा पनि पर्ने उहाँको भनाई छ ।

कार्यक्रममा डा. मुरारी पराजुलीले प्रस्तुत गरेको ‘प्रगतिशिल संस्कृतिको निर्माणमा जिवराज आश्रितको दृष्टिकोण’ विषयक अवधारणापत्रमा आफ्नो सुझाव राख्दै ज्ञवालीले पार्टीभित्र अराजकता देखिएको भन्दै चिन्ता व्यक्त गर्नुभयो ।