जनता टाइम्स

२० श्रावण २०८०, शनिबार १५:२६

बेवारिसे फेला परेकी भारतीय महिला र शिुशुलाई प्रहरीले आफन्तको जिम्मा लगायो


बारा, २० साउन । पूर्वपश्चिम राजमार्ग अन्तर्गत निजगढ पूर्वको धन्सार पुल नजिकबाट बेवारिसे अवस्थामा फेला पर्नुभएको भारतीय महिला छोटीकुमारी र शिुशुलाई आफन्तको जिम्मा लगाइएको छ । जिल्ला प्रहरी कार्यालय कलैयाले भारतीय महिला छोटीकुमारी र उहाँको सवा २ महिनाको छोरालाई माइतितर्फबाट आउनुभएको दिदी रितु देवीसहित आफन्तको जिम्मा लगाएर पठाएको हो । महिला र शिशुलाई भारतको मोतिहारी पिपरागाउँस्थित माइतिघरमा पठाइएको जिल्ला प्रहरी कार्यालयका बालबालिका तथा महिला सेलका प्रहरी सहायक निरीक्षक सन्जय यादबले जानकारी दिनुभयो ।

उहाँका अनुसार श्रीमती र शिशुलाई बेवारिसे अवस्थामा निजगढको जंगलमा ल्याएर छोडने पती गुड्डु सिंहमाथि कानुनी कारबाहीको लागि जिल्ला प्रहरी कार्यालयको तर्फबाट मोतिहारीको हारना थानाको प्रहरी कार्यालयमा पत्राचार गरेको पनि जानकारी दिनुभयो । प्रहरीका अनुसार गुड्डुले छोटीकुमारीलाई डेढ वर्षअघि भगाएर दोस्रो बिबाह गर्नुभएको थियो ।

त्यसपछि दुबै जना भारतको जयपुरमा बस्दै आएकोमा बच्चा जन्मिएपछि गुड्डुले मोतिहारी घरमा लैजान्छु भनेर आमा र शिशु दुबैलाई नेपालमा ल्याएर बेहोस पारेर जंगलमा छोडेको पाइएको प्रहरी सहायक निरीक्षक यादवले जानकारी दिनुभयो । गत मंगलवार निजगढ पूर्वको धन्सार पुल नजिक सडक किनारामा बेवारिसे अवस्थामा शिशु फेला पारेको निजगढ प्रहरीले भोलिपल्ट आमालाई पनि बेवारिसे अवस्थामा नै फेला पारेपछि दुबैलाई जिल्ला प्रहरी कार्यालयमा बुझाएको र उहाँहरुलाई प्रादेशिक अस्पताल कलैयामा चिकित्सकको निगरानीमा राखिएको थियो ।