जनता टाइम्स

१९ भाद्र २०७६, बिहीबार १८:५४

थाई एअरबाट भोलि दिउसो स्वदेश फर्कदै प्रधानमन्त्री


काठमाडौं, भदौं १९ । प्रधानमन्त्री केपी शर्मा ओली भोलि शुक्रवार स्वदेश फर्कनु हुनेभएको छ । दुई साता लामो स्वास्थ्य उपचारपछि स्वास्थ्यलाभ गरी प्रधानमन्त्री ओली शुक्रवार दिउसो स्वदेश फर्कन लाग्नुभएको हो । १२ बर्ष अघि मृगौला प्रत्यारोपन गर्नुभएका प्रधानमन्त्री ओली मृगौलाकै उपचारका लागि गत भदौं ५ गते सिंगापुर जानुभएको थियो ।

उहाँको उपचार प्लाज्मा फेरेसिर बिधिबाट सात पटक गरिएको छ । उपचार सकिएसँगै प्रधानमन्त्री ओली शुक्रवार दिउसो १२ः२५ बजे स्वदेश फर्कन लाग्नुभएको हो । प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव इन्द्र भण्डारीले जनतायाइम्सलाई दिनुभएको जानकारी अनुसार थाइ एअरको नियमित उडानबाट प्रधानमन्त्री ओली शुक्रवार १२ः२५ बजे भित्रुवन अन्तराष्ट्रिय बिमानस्थलमा अवतरण गर्नुहुनेछ ।

‘सम्माननीय प्रधानमन्त्रीज्यू शुक्रवार थाइ एअरको उडानबाट स्वदेश फर्कनु हुनेछ,’ प्रमुख स्वकीय सचिव भण्डारीले जनताटाइम्ससँग भन्नुभयो । प्रधानमन्त्री भेटन सिंगापुर जानुभएका नेकपाका महासचिव बिष्णु पौडेलले पनि सरीरमा एन्टिबडी बढेपछि नष्ट गर्नको स्वास्थ्य अवस्था राम्रो भएको जानकारी दिनुभयो । प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी लिन महासचिव पौडेल मंगलवार सिंगापुरमा जानुभएको थियो । प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था राम्रो रहेको जानकारी दिँदै महासचिव पौडेलले नेपाल फिर्ता हुने तालिकामा फेरबदल नभएको बताउनुभयो ।

‘प्रधानमन्त्रीज्यूको स्वास्थ्य अवस्था राम्रो छ । भोलि फर्किने तालिकामा फेरबदल भएको छैन,’ महासचिव पौडेलले भन्नुभयो । प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था बुझन नेकपाका उपाध्यक्ष वामदेव गौतम पनि बुधवार सिंगापुर जानुभएको छ । दुवै नेता प्रधानमन्त्री ओलीसँगै स्वदेश फर्कने कार्यक्रम रहेको छ ।  मृगौलाको समस्याका कारण ‘एन्डीबडी’ को मात्रा बढेर प्रधानमन्त्री ओली भदौ ५ गते सिंगापुर प्रस्थान गर्नुभएको थियो । सिंगापुर पुगेलगत्तै उहाँको सिंगापुरस्थित नेशनल अस्पतालमा उपचार गरिएको छ ।

प्रधानमन्त्री ओलीले साउन १८ गते सिंगापुर प्रस्थान गरी सिंगापुरको सोही हस्पिटलमा मृगौलाको परीक्षण गराई साउन २७ गते स्वदेश फर्कनुभएको थियो । गत भदौ ५ गते उपचारको लागि सिंगापुर जानुभएका प्रधानमन्त्री ओलीको ६ गतेदेखि प्लाज्मा फेरेसिस बिधिबाट उपचार सुरु भएको थियो । यो मिर्गौलाको एन्टिबडी हटाउने विधि हो । प्लाज्मा फेरेसिस सात चरणसम्म गरिन्छ ।

बुधबार सातौँ चरण पूरा भएसँगै उपचार सकिएको हो । अहिलेसम्म उहाँका रिपोर्ट ठीक छन । उहाँ स्वस्थ भएर शुक्रबार फर्किंदै हुनुहुन्छ । तर, प्लाज्मा फेरेरिसले ठीक भए–नभएको यकिन अहिल्यै हुँदैन । त्यसले काम गरे–नगरेको केही दिनपछि मात्रै थाह हुन्छ । प्रधानमन्त्री ओलीका नीजि चिकित्सक डा दिलिप शर्माका अनुसार अन्तिम रिपोर्ट आउन एम महिना लाग्नेछ ।