जनता टाइम्स

२३ श्रावण २०८०, मंगलवार ०९:२७

काठमाडौंका अधिकांश क्षेत्र डुवानमा (फोटोफिचर)


काठमाडौं, साउन २३ । काठमाडौं उपत्यकामा भएको भारी वर्षाले अधिकांश क्षेत्र डुवानमा परेको छ । अधिक बर्षाले सामाखुसी क्षेत्र पनि डुबानमा परेको छ । निजी घर, विद्यालय लगायतका संरचना जलमग्न भएका छन् ।

एसईबी स्कुलमा पम्प सेटको सहायताले पानी तानेर फाल्ने क्रम जारी छ । डुबानमा परेका अन्यले पनि मोटरको सहायताले पानी तानेर फाल्ने र सामान सुरक्षित स्थानमा सार्ने गरिरहेका छन् ।

काठमाडौं उपत्यकाका रातभर भारी वर्षा भएको छ । वर्षाले नदी र खोलाहरुमा बाढी आएको छ । बाढीको सतह बढ्दो क्रममा रहेकाले आज बिहान ११ बजेसम्म सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार काठमाडौं उपत्यकाका बुढानीलकण्ठ, सुन्दरीजल, नगरकोट ती क्षेत्र आसपास भारी वर्षा मापन भएको छ । वर्षाका कारण विष्णुमती, धोबीखोला, मनोहरा लगायतमा बाढी आएको छ । त्यसैले नदी तटीय क्षेत्रहरूमा रहनेहरूलाई आज बिहान ११ बजेसम्म उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।