जनता टाइम्स

२३ श्रावण २०८०, मंगलवार १५:०८

‘सुन तस्करी प्रकरणमा गृहमन्त्रीमाथि छानविन हुनुपर्छ’


काठमाडौं, साउन २३ । नेकपा एमालेले सुन तस्करी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठमाथि छानबिन हुनुपर्ने बताएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बिहान संसद्को गतिरोध अन्त्य गर्न बसेको तीन दलका शीर्षनेताहरूको बैठकपछि एमाले सचेतक महेश बर्तौलाले गृहमन्त्रीमाथि छानविन हुुनुपर्ने बताउनु भएको हो । उहाँले सुन तस्करीबारे पहिले नै सूचना पाउँदा पनि गृहमन्त्री श्रेष्ठ मुकदर्शक भएर बसेको बताउनु भयो ।

’राजश्व अनुसन्धान विभागबाट सुन तस्करी हुँदैछ भनेर पहिले नै प्रधानमन्त्री पुष्पकमल दाहाललाई सूचना आएको थियो भनेको छ, प्रधानमन्त्रीलाई सूचना आउँदा गृहमन्त्रीलाई थाहा हुन्छ कि हुँदैन ? अर्थमन्त्रीलाई थाहा हुन्छ कि हुँदैन ? यसकारण गृहमन्त्रीमाथि छानबिन हुनुपर्छ,’ बर्ताैलाले भन्नुभयो ।

उहाँले सुन तस्करी प्रकरणमा गृहमन्त्रीबाट चित्त बुझ्दो जवाफ आएपछि मात्रै संसद चल्न दिने अन्यथा अवरोध जारी रहने जनाउ पनि दिनुभयो । सचेतक बर्ताैलाले हरेक काण्डमा सरकारका पूर्वमन्त्रीदेखि सत्ता पक्षका नेताहरूको संलग्नता हुने गरेको तथ्यले देखाएको बताउनु भयो । यही साउन ३ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार चेकजाँच भइ बाहिरिएको एक क्वीन्टल सुन राजश्व अनुसन्धान विभागले बरामद गरेको थियो ।

सुन तस्करी प्रकरणमा सरकारका मन्त्रीको संलग्नता रहेको भन्दै अनुसन्धानका लागि उच्चस्तरीय छानबिन समितिको माग गर्दै एमालेले संसद अवरुद्ध गर्दै आएको छ । तर सरकार उच्चस्तरीय छानविन गर्दा आफ्नै नेताहरु फस्ने देखेकोले मानिरहेको छैन ।