जनता टाइम्स

२४ श्रावण २०८०, बुधबार १४:०६

सुन तस्करीको उच्चस्तरीय छानविन एमालेको बटमलाइन, आज पनि चल्न सकेन संसद बैठक


काठमाडौं, साउन २४ । प्रमुख प्रतिपक्षी नेकपा एमालेले बिमानस्थलबाट भएको सुन तस्करीको उच्चस्तरीय छानविन समिति गठनबिना सदन चल्न नसक्ने प्रष्ट बटमलाइन सुनाएको छ । एमालेले सो बटमलाइन सुनाउँदै आज पनि प्रतिनिधिसभाको बैठक अवरुद्ध गरेको हो ।

क्विन्टल सुन तस्करीको छानबिन गर्नका लागि उच्च स्तरीय समिति गठनको माग गर्दै एमालेले संसद् बैठक अवरुद्ध गरेको हो । एमालेको अवरोधपछि प्रतिनिधिसभा बैठक स्थगित भएको छ । प्रतिनिधिसभाको बैठक एमालेले साउन १० यता लगातार अवरुद्ध गर्दै आएको छ । साउन २ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट क्विन्टलभन्दा बढी सुन राजश्व अनुसन्धान विभागले बरामद गरेको थियो ।

त्यसको छानबिन सुरुमा राजश्व अनुसन्धान विभाग गरेको थियो भने पछि नेपाल प्रहरीको राष्ट्रिय अनुसन्धान ब्यूरो (सीआईबी)ले गरिरहेको छ । एमालेले उक्त सुन तस्करीको छानबिन गर्नका लागि उच्चस्तरीय समिति गठन गर्न संसद् अवरोध गरेर दबाब दिइरहेको छ । सरकारी संरक्षणमै सो तस्करी भएको भन्दै एमालेले उच्चस्तरीय छानविन समितिको माग गरेको हो ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा सुन तस्करीको छानबिन राज्यका नियमित संयन्त्रहरूले गर्नुपर्ने र उनीहरूलाई विश्वास गर्न उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले संसदमा आग्रह गर्नुभएको थियो । सीआईबीले छानबिन गरी मुद्दा अगाडि बढाएपछि त्यसमा चित्त नबुझेमा थप अनुसन्धान तथा छानबिनका लागि सरकार तयार रहेको उहाँको भनाइ थियो ।

आजको बैठकमा एमालेका सांसद सूर्य थापाले तस्करीको संरक्षण गर्ने गरी गृहमन्त्रीको जवाफ आएको बताउनु भयो । त्यसपछि एमाले सांसदहरू वेल घेर्न पुगेका हुन । बेल घेराउपछि पनि सभामुख देवराज घिमिरेले संसद्को कार्यसूची अगाडि बढाउनका लागि सहयोग गर्न आग्रह गर्नुभयो । तर एमालेको अवरोध कायमै रहेपछि सभामुखले प्रतिनिधिसभा बैठक साउन २६ सम्मका लागि बैठक स्थगित गर्नुभएको छ ।